शनिबार, वैशाख १५, २०८१

महोत्तरीमा माओवादीले गुमायो यी पालिकाका प्रमुख पद

मेरोन्यूज २०७९ जेठ ७ गते २०:५७

काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रले महोत्तरीमा आफ्नो विरासत गुमाएको छ । तत्कालीन जनमोर्चा र माओवादी केन्द्र एकीकरण भएपछि विशेषगरी बर्दिबास, रामगोपालपुर, गौशाला र सम्सीमा वर्चस्व कायम राख्दै आएको माओवादी केन्द्रले यस निर्वाचनबाट आफ्नो साख गुमाएको छ ।

कतिपयले निर्वाचित जनप्रतिनिधिको दम्भ र जनताको प्रतिनिधि बन्न नसक्दा पराजित बन्नु परेको विश्लेषण गरेका छन् । तर, माओवादी केन्द्रले भने पार्टीभित्रैको आन्तरिक कलह र अन्तर्घातले पराजय बेहोर्नु परेको बताउँदै आएको छ ।

माओवादी केन्द्र महोत्तरीका इञ्चार्ज राजु खड्का पार्टीले आफ्नै कारणले पराजय बेहोरेको स्वीकारे । उनी भन्छन्, ‘हामीले हामीभित्रै मिलाउन सकेनौँ, जसको परिणाम आज भोग्दै छौँ, तर यसबाट केही सिकेका छौँ ।’

यतिबेला माओवादी केन्द्र पराजित हुँदा सबैभन्दा बढी एमाले र नेपाली कांग्रेसलाई लाभ भएको छ । लामो समयसम्म राज गर्दै आएको माओवादी केन्द्रको किल्ला भत्काउनु नै विपक्षी दलहरूले प्रमुख उपलब्धी रहेको छ ।

माओवादीका शीर्ष नेता गिरिराजमणि पोखरेलको वडामै माओवादी पराजित भएको छ । ‘माओवादीले पाल्दै आएको अहमतालाई पनि परास्त गरेका छौँ,’ नेकपा एमालेका स्थानीय नेता दिलीप थापाले भने ।

अहिलेको मत परिणामअनुसार माओवादीले जित्दै आएको रामगोपालपुर, बर्दिबास, सम्सी र गौशालामा माओवादी केन्द्रले गुमाइसकेको छ ।

अन्तिम समयमा संस्थापन पक्षले आफ्नो वर्चस्व जमाउन खोजेपछि कतिपयले पूर्व जनमोर्चाका नेताहरूले नै निर्वाचनलाई कमजोर बनाएको आरोप प्रत्यारोप चल्न थालेको छ । जनमोर्चा धारका समूहहरू अझै नेता पोखरेललाई स्थापित बनाउन चाहन्छन् । तर, अर्को पक्ष पोखरेललाई अब स्वीकार गर्न नसकिने बताउँदै आएको छ ।

एकातिर माओवादी केन्द्रले बोकेको लामो विरासत र अघिल्लो निर्वाचनमा जितेका पालिकाको साख बचाउन नसक्नुमा पोखरेलको नै हात रहेको पाटीभित्रैबाट शंका हुन थालेको छ ।

प्रतिक्रिया