शुक्रबार, चैत १६, २०८०

मेयरमा स्वतन्त्र उम्मेदवारको जित सुनिश्चित

मेरोन्यूज २०७९ जेठ ७ गते १८:०८

धनगढी । सुदूरपश्चिमकै एक मात्र उपमहानगर धनगढीमा स्वतन्त्र उम्मेदवारले जित सुनिश्चित गरेका छन् । धनगढीमा खसेको ६३ हजार ७१५ मतमध्ये शनिबार दिउँसोसम्म ५१ हजार ६५ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार गोपाल हमालले २२ हजार ५४१ मत ल्याएका छन् ।

उनी दलका उम्मेदवारभन्दा १० हजार मतले अगाडि छन् । धनगढीमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले ११ हजार ५४४ मत पाएका छन् । एमालेका उम्मेदवार रणबहादुर चन्दले ६ हजार ४२३ मत मात्रै पाएका छन् ।

अब धनगढीमा करिब साढे १२ हजार मत गन्न बाँकी छ । साढे १२ हजार मत गन्दा कुनै पनि उम्मेदवारको पक्षमा एक लौटी जाने सम्भावना छैन । त्यसैले धनगढीमा स्वतन्त्र उम्मेदवार विजयी हुने सुनिश्चित भएको हो ।

धनगढीका १९ वडामध्ये १, २, ३, ४, ५, ६, ७, ८, १४, १५, १६, १७, १८, १९ को मत गणना सम्पन्न भइसकेको छ । मत गणना सम्पन्न भएकामध्ये १, २, ३, ४, ५, १४, १५, १७, १९ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

यसैगरी वडा नम्बर ७, ८ र १८ मा एमालेका उम्मेदवार विजयी हुँदा वडा नम्बर ६ र १६ मा माओवादी केन्द्रका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् । धनगढी १३ को मत गणना अन्तिम चरणमा छ भने वडा नम्बर ९, १०, ११, १२ को मत गणना जारी छ ।

Advertisement

यसअघिको स्थानीय निर्वाचनमा हमालले धनगढीको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यतिबेला उनी कांग्रेसका उम्मेदवार नृप बहादुर वडसँग २७ सय मतले पराजित भएका थिए । यसपटक उनै वडलाई हमालले पराजित गर्ने भएका छन् ।

प्रतिक्रिया