बुधबार, वैशाख १२, २०८१

सामाजिक सञ्जालमा भाइरल बलात्कारको घटनाबारे गृहले भन्यो : दोषीलाई कारबाही हुन्छ

मेरोन्यूज २०७९ जेठ ७ गते १५:३८

काठमाडौँ । पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल भएको जबरजस्ती करणीसम्बन्धी घटनामा अनुसन्धान थाल्ने गृह मन्त्रालयले जनाएको छ ।

आठ वर्षअघि सौन्दर्य प्रतियोगितामा सहभागी हुँदा काठमाडौँको एक कन्सल्टेन्सी सञ्चालकले किशोरी बलात्कार गरेको घटना बाहिर आएसँगै मन्त्रालयले दोषीलाई कारबाही गर्ने प्रतिबद्ध जनाएको हो ।

‘विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रकाशित महिला हिंसासम्बन्धी सामाग्रीको सम्बन्धमा प्रतिनिधिसभा बैठकमा माननीय सांसदहरुले उठाउनु भएको विषय र सम्माननीय सभामुख ज्यूले उक्त विषयमा रुलिङ गर्नु भएको, साथै नागरिक समाजबाट कारबाहीका लागि प्रदर्शन र दबाबका सम्बन्धमा नेपाल सरकार, गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ शनिबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले भनेको छ, ‘यस्ता विषयमा शीघ्र छानविन गरी सत्य तथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारबाही गर्न नेपाल सरकार सधै प्रतिबद्ध रहेको छ ।’

घटनाबारे अनुसन्धान गर्न वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बसन्त कुँवरको संयोजकत्वमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायव उपरीक्षक कोपिला चुडाल, प्रहरी नायव उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्कासमेत रहेको छानविन समिति गठन भइसकेको छ । समितिले काम अगाडि बढाइसकेको गृह मन्त्रालयले जनाएको छ ।

मिस ग्लोबल इन्टरनेसनल २०१४ मा सहभागी एक प्रतियोगीले मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेले आफूलाई बलात्कार गरेको सार्वजनिक गरेकी थिइन् । त्यसबेला उनी १६ वर्षकी मात्रै थिइन् ।

भिडियो सार्वजनिक भएसँगै प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले रूलिङ गर्दै छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारलाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया