बिहीबार, वैशाख १३, २०८१

कांग्रेस-एमाले मिलेर खोसे अर्थमन्त्रीको नगर, मुसिकोटमा १३ मतले माओवादीको हार

मेरोन्यूज २०७९ जेठ ६ गते ७:५४

रुकुम पश्चिम । गत स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले रुकुम पश्चिममा क्लिन स्वीप गरेको थियो । अन्य पार्टीले कुनै पनि पालिकाको नेतृत्व जित्न सकेका थिएनन । माओवादी केन्द्रका नेता जर्नादन शर्माको गृहजिल्ला रुकुम पश्चिममा उनको जर्वजस्त प्रभाव थियो । तर यसपटक माओवादीलाई हराउन कांग्रेस र एमालेले स्थानीय स्तरमा तालमेल गरेका थिए ।

अर्थमन्त्री जर्नादन शर्माको गृह नगर मुसिकोट नगरपालिकामा पनि कांग्रेस र एमालेले गठबन्धन गरेका थिए । कांग्रेस र एमालेले गठबन्धन गरेपछि प्रेसरमा परेको माओवादीले पनि एकीकृत समाजवादीसँग गठबन्धन गरेको थियो । तर मुसिकोट नगरपालिकाको यसपटक माओवादी पराजित हुन पुगेको छ । १३ मतले पछि परेपछि माओवादीले उक्त नगरपालिकाको नेतृत्व गुमाएको छ ।

मेयरमा नेपाली कांग्रेसका महेन्द्र केसी निर्वाचित भएका छन् । कांग्रेसका केसीले एमालेको साथमा माओवादीका बसन्तकुमार शर्मालाई १३ मतान्तरले पराजित गरेका हुन् । उनले ६९१४ मत ल्याए भने माओवादीका शर्माले ६९०१ मत पाएका छन् ।

यस्तै, उपमेयरमा भने माओवादीको सहयोगमा एकीकृत समाजवादीका विमलकुमार पुनमगर विजयी भएका छन् । उनले ६१४० मत ल्याएर विजयी हुँदा एमालेका थलबहादुर ओलीले ५९८५ मत ल्याए ।

अर्थमन्त्री शर्माको वडामा पनि कांग्रेस विजयी भयो। वडा नं. ५ मा नेपाली कांग्रेसका समिरजंग मल्लेले वडाध्यक्ष जिते। २०७४ सालमा यो वडामा नेकपा माओवादी केन्द्रका सुशील गौतमले जितेका थिए। फेरि पनि उनै गौतम वडाध्यक्षमा भिडे पनि मल्लसँग पराजित भएका छन्।

प्रतिक्रिया