शुक्रबार, वैशाख १४, २०८१

८ वर्ष अगाडीको त्यो घटना: जसले छताछुल्ल पार्यो ‘सुन्दरी प्रतियोगिता’को नाममा हुने यौनहिंसा !

प्रहरी भन्छ-‘पीडितलाई सम्पर्कमा ल्याउने प्रयास गरिरहेका छौं’

मेरोन्यूज २०७९ जेठ ५ गते १८:२१

०७१ सालमा रस्मिका (नाम परिवर्तन) १६ वर्षकी थिइन् । १२ कक्षाको परीक्षा सकिएपछि ‘ब्युटि प्याजेन्ट’ मा सहभागी भइन् । उनले अडिसन दिइन् । तर, अडिसनबाट उनी छनोटमा पर्न सकिनन् । छनोटमा नपरे पनि त्यहाँ भएका तस्बिरहरू बाहिर आएपछि कुनै व्यक्तिबाट उनलाई म्यासेज आयो – ‘तिमी आउ फोटोसूट गरौं, अनि मोडल बनाउँछौं ।’
त्यो म्यासेज आएपछि उनी निकै उत्साहित बनिन् । ‘ब्युटि प्याजेन्ट’ मा पराजित भएको पनि उनले विर्सिइन् । उक्त म्यासेज पठाउने व्यक्ति थिए एक फोटो पत्रकार ।

रस्मिकाको मोबाईलमा म्यासेज पठाउने फोटो पत्रकार र एक कन्सल्टेन्सी सञ्चालकले तस्बिर खिचेपछि उनलाई पाँच हजार पैसा दिए । फोटो खिचेपछि उनीहरूले भने कि हामीले ‘ब्युटी प्याजेन्ट’ आयोजना गर्दैछौं । फोटो पत्रकार र कन्सल्टेन्सी सञ्चालकको त्यो कुरा सुन्नासाथ रस्मिकाले ‘ब्युटी प्याजेन्ट’मा सहभागी हुने समर्थन जनाईन् । रस्मिकाले त्यो भन्दा पहिले पनि ‘ब्युटी प्याजेन्ट’मा भाग लिइसकेकी थिएँ । त्यसैले उनि राजी भईन् ।

ब्युटी प्याजेन्ट सकियो र उनि विनर भईन् । विनर भइसकेपछि उनलाई ‘सक्सेस पार्टी’ दिने भनियो र सोही अनुरुप रस्मिका तयार भइन् । एभरेष्ट होटलमा पार्टी आयोजना गरेको भनियो । उनी त्यहाँ गइन् । जबकि त्यहाँ कोही पनि थिएनन् । रस्मिकाले प्रश्न गरिन्, – खै त अरू मानिसहरू ?

उनलाई बोलाएका व्यक्तिले भने, ‘तिमी चाँडै आयौ । अरू विस्तारै आउँछन् । राति ६/७ बजेतिरबाट पार्टी सुरू हुन्छ । तिमी बस्दै गर ।’

उनि बस्न थालेको केही समयपछि वेटर आएर लेमन जुस दिए । ति वेटरले भने–‘यो वेलकम ट्रिट हो ।’ त्यसपछि उनले त्यो खाईन् । खाएको झण्डै १० मिनेटपछि उनी आफुलाई अनकन्सियस महसुस गर्न थालिन् । त्यसपछि उनले ति कन्सल्टेन्सी सञ्चालकलाई भनिन्– ‘मलाई गाह्रो भयो, म घर जान चाहन्छु ।’

ति कन्सल्टेन्सी सञ्चालकले उनलाई उल्टै गाली गरे, ‘तिमी विनर भएर यस्तो गर्ने ? तिम्रोबारे अरूले के सोच्लान् ?’ ति कन्सल्टेन्सी सञ्चालकले भने, ‘यस्तै हुन्छ, केटीहरूलाई गाह्रो भयो भने रेष्ट गर्नलाई भनेर रूम लिएर राखेको छु, तिमी त्यहाँ गएर एकछिन रेष्ट गर । सबैजना आएपछि म तिमीलाई बोलाउँछु’ । त्यसपछि उनी रूममा रेष्ट गर्न गइन् ।

कोठामा रेष्ट गर्दा उनि पुरै होसमा थिइनन्। जति बेला होसमा आयो त्यतिबेला लाग्यो कोहीले उनका शरिरका अंग चलाइरहेका छन् । उनीमाथि कोही प्रयोग भइरहेको छ । जब उनी होसमा आइन् । त्यो बेला उनी पुरै नाङ्गै थिइन् । उनीसँगै त्यो एब्युजर पनि उनीसँगै पुरै नाङ्गै सुतिरहेको थियो । पुरै ओछ्यानभर रगत थियो । त्यसपछि उनी छाँगाबाट खसेझैँ भइन् । एकदमै ठूलो स्वरमा कराइन् । तर उनको स्वर सुन्ने कोही भएनन् ।

त्यसपछि ति कन्सल्टेन्सी सञ्चालकले रेस्मिकाको ब्यागमा २० हजार रुपैया पैसा हालिदिए र भने, ‘तिम्रो ब्यागमा २० हजार हालिदिएको छु । घटनाबारे कोहीलाई पनि केही भन्यो भने तिम्रो नाङ्गो फोटो र भिडियो मेरो मोबाइलमा छ, सार्वजनिक गरिदिन्छु, मेरो साथी चर्चित फोटोग्राफर छ ।’

सांकेतिक तस्बिर

त्यति भनिसकेपछि उनको बोली रोकियो । निकै तनावपूर्ण अवस्थामा उनी त्यहाँबाट घरतिर लागिन् । त्यसपछि उनले ब्याल्कमेलिङ गरेर पटक पटक बलात्कार गरिरह्यो । कति पटक त उनले आत्महत्या गर्नेबारे पनि सोचिन् । तर, सकिनन् ।

एक जना खड्का थरका उनका केटा साथीले उनलाई निकै सहयोग गरे । केटा साथी र उनी एब्युजरको कन्सल्टेन्सीमा गए । त्यहाँका सबै कर्मचारीलाई राखेर, कन्सल्टेन्सी सञ्चालक र फोटो पत्रकार दुवैलाई त्यहाँ राखे । उनीसँगै विजेता बनेकी अर्की युवती पनि उनीसँगै थिइन् ।

‘मैले त्यो बेला सबै कुराहरू भनेँ । मलाई गरेको फोन रेकर्ड, मलाई गरेको म्यासेज सबै देखाइदिएँ । मेरो ब्वाईफ्रेण्डले त्यो मान्छेलाई धेरै पिट्यो,’ रस्मिकाले भिडियोमा भनेकी छिन् ।

समय बित्दै गयो । घटनापछिका यतिका समय निकै कष्टपूर्ण र मानसिक तनावबाटै बित्यो । घटनाबारे उनले धेरैलाई भनिन् । तर, कतैबाट पनि सहयोग मिलेन । झन उल्टै ‘तिमी नै त्यस्ति हौं’ भन्ने जवाफ मिल्थ्यो । यतिसम्म कि आफुमाथि बलात्कार गर्नेकी श्रीमतीलाई पनि भनिन् । उनको श्रीमतीले रूखो जवाफ फर्काइन् । ‘हैन जम्मै केटीहरू मेरै बुढोको पछि किन लाग्छन् ?’

—————-
सुन्दा यो घटना कुनै रचित कथा वा चलचित्रको पटकथा जस्तो लाग्छ तर यो कुनै कथा वा बनिबनाउ घटना होईन । यो यथार्थ घटना हो जुन पछिल्लो समय सामाजिक सञ्जालमा निकै चर्चाको विषय बनेको छ । यो घटना एउटा महिलाले सार्वजनिक गरेको घटना हो । घटनामा २००२ कि मिस नेपाल माल्भिका सुभ्भाको नाम जोडिएको हुनाले समेत यो घटना निकै उत्कर्षमा पुगेको छ ।

बुधबार ‘सुसी खान जाने हो’ टिकटक एकाउटबाट एक युवतीले आफु बलात्कारको सिकार भएको जानकारी दिइन् । २-२ मिनेटका २० वटा भिडियोमा उनले कहिले रु कसरी रु बलात्कृत भइन् त्योबारे जानकारी दिएकी छन् । आफू बलात्कृत भएकोबारे उनले पूर्व मिस नेपाल माल्भिका सुब्बालाई समेत जानकारी दिएको बताएकी छन् । तर, उनले उल्टै भनिदिएछन्, ‘ग्ल्यामरस क्षेत्रमा यो त नर्मल हो ।’

२०७१ सालमा आयोजना गरिएको मिस ग्लोबल नामक ब्यूटी प्याजेन्टका क्रममा ति युवतीमाथि बलात्कार भएको थियो । उनले आफूलाई बलात्कार गर्ने र सहयोग गर्नेहरूको थर मात्र खुलाएकी छिन् । जसमा एक जना फोटो पत्रकार र कन्सल्टेन्सी सञ्चालक रहेको बताएकी छिन् ।

उनी ६/७ वर्षको हुँदा फिल्ममा अभिनय गरेकी थिइन् । त्यही बेलादेखि उनको सपना थियो- ठूलो भएपछि मोडल हुन्छु, कलाकार हुन्छु । तर, उनको सपना त्यही घटनाले तुहाइदियो । उक्त घटनापछि उनी डिप्रेशनको सिकार बनिन् । अहिलेसम्म पनि उनी उपचार गराइरहेकी छिन् । उनलाई आफुमाथि भएको बलात्कारबारे बोल्न यतिका वर्ष लाग्यो । धेरैले उनीमाथि नै प्रश्न उठाइरहेका छन् । अहिले पनि केटी नै त्यस्ति हो भन्दै उनीमाथि प्रश्न समाजले उठाईरहेको छ ।

‘त्यो समय मलाई यस्तो भयो भने के गर्ने ? कहाँ गएर उजुरी गर्ने ? थाहा थिएन । अहिले पो थाहा पाएँ । अनि घटना सार्वजनिक गरेकी हुँ,’ रस्मिकाले भिडियोमा भनेकी छिन्, ‘कुनै पनि केटीहरू आफ्नो आमालाई नलगी कहिँ पनि नजानु । यो मेरो अनुरोध मात्र होइन्, बिन्ती पनि हो ।’

माल्भिका सुब्बाले मागिन् माफी

पीडितले हालै घटनाबारे भिडियो बयान सार्वजनिक गरेपछि सुब्बाले उनलाई म्यासेज गर्दै त्यतिबेला आफू नाबालिग करणी, बालयौन दुर्व्यवहार र सहमतिको सम्बन्धबारेका कानुनबारे पूर्ण जानकार नभएको बताएकी छन् । उनले हालै एक सन्देश सार्वजनिक गर्दै हिंसाका यस्ता घटनामा मौन बस्नु कुनैबेला झनै हानिकारक हुने आफूले सिकेको बताउँदै भनेकी छन्, ‘अब म मौन बस्ने छैन, उनी र उनी जस्तै अन्य अरु धेरै पीडितका लागि म लड्नेछु ।’ सुब्बाले आफूले पीडितलाई सहयोग गर्न नपाएकोप्रति माफी पनि मागेकी छन् र आफू अझै पनि धेरै कुरा सिकिरहेको बताएकी छन् ।

पीडितले आफूमाथि भएको हिंसाबारे बोलेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरु पनि उनका पक्षमा खुलिरहेका छन् । पूर्वमिस नेपाल श्रृंखला खतिवडाले उनीमाथि भएको हिंसाबारे सुन्दा आफू अत्यन्तै दुःखी भएको बताएकी छन् । उनले भनेकी छन्, ‘यदि मिल्थ्यो भने म त्यो समयमा पछाडि जान चाहन्थे र तपाईंलाई बताउँथे कि आफूमाथि भएको हिंसाबारे बोल्नु कहिल्यै पनि गल्ती होइन ।’

दुर्व्यवहार गर्ने व्यक्तिबारे आवाज उठाउन सक्ने परिस्थितिको समाज बनाउन नसकेकोमा पनि समाजको एक सदस्यका रुपमा आफू एकदमै दुःखी रहेको उनले भनेकी छन् । साथै, उनले अबको लडाइँमा पीडित एक्लै नभएको र आफूहरु साथमै रहेको उल्लेख गरेकी छन् ।

प्रहरी भन्छ-‘पीडितलाई सम्पर्कमा ल्याउने प्रयास गरिरहेका छौं’

बलात्कारको घटना सार्वजनिक भएपछि यो विषयमा प्रहरीले चासो देखाएको छ । घटनाबारे जानकार रहे पनि पीडित युवती प्रहरीको सम्पर्कमा आउन सकेकी छैनन् । नेपाल प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले घटनाबारे जानकार रहेको, तर पीडित सम्पर्कमा नआएको बताए ।

‘हामी पीडितलाई सम्पर्कमा ल्याउने प्रयास गरिरहेका छौं । उहाँ सम्पर्कमा आएपछि मात्रै अनुसन्धानका अन्य पाटा अघि बढ्छन्,’ एसएसपी केसीले भने ।

घटना सार्वजनिक भएपछि यतिबेला सामाजिक सञ्जालमा चर्चा चलिरहेको छ । मिस नेपाल २०१८ श्रृखंला खतिवडा, नायिका पूजा शर्मा लगायतका सेलिब्रेटीहरू उनको पक्षमा उभिएका छन् । उनीहरूले घटनाको सत्यतथ्य छानविन गर्न समेत माग गरिरहेका छन् ।

प्रतिक्रिया