बिहीबार, वैशाख १३, २०८१

मधेसमा माओवादी झन-झन कमजोर

एमालेलाई राहात, कांग्रेसलाई फाइदा, जसपा स्थीर, लोसपा कमजोर

शितल शर्मा २०७९ जेठ ५ गते १७:१८

धनुषा । राष्ट्रिय राजनीतिमा एमाले अहिले माओवादी केन्द्रको ‘भिलेन’ हो । तर त्यही भिलेनले अहिले मधेसमा माओवादीलाई खुम्चाईदिएको छ । अर्थात, विगतमा माओवादीले जितेका पालिकाहरु यसपटक एमालेले जित्दैं माओवादीलाई झन कमजोर बनाईदिएको हो ।

एमालेलाई देशब्यापी खुम्चाउने उदेश्यसहित कांग्रेस, माओवादी, जसपासहितका ५ दलले गठबन्धन निर्माण गरेका थिए । देशभरका ६ महानगर, ११ उपमहानगर र अन्य पालिकाहरुमा भने स्थानीय आवशयकताका आधारमा कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेका थिए ।

तलमेल नभएका स्थानमा भने सत्तासिन यी दलहरुले पनि मित्रबत प्रतिस्पर्धा गरेका थिए ।

तर मधेसमा धेरै जसो पालिकामा गठबन्धनमा भन्दा पनि मित्रवत प्रतिस्पर्धामा उत्रेका सत्ता गठबन्धन दलभित्र कांग्रेसलाई लाभ मिलेको छ । एमालेले पनि अन्यत्र कमजोर बनिरहादा मधेसमा भने आफनो स्थान विगतको तुलनामा केही सुढृढ गरेको तथ्यांकहरुले देखाएका छन् ।

चुनावी परिणाम विश्लेषण गर्दा, मधेसमा माओवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई विगतको भन्दा क्षति पुगेको छ ।

मधेसका जहाँ-जहाँ माओवादी अध्यक्ष प्रचण्ड चुनावी अभियानमा पुगे, त्यहाँ उनले तराई-मधेसमा नागरिकता जल्दोबल्दो समस्याको रुपमा रहेको र यो समस्या समाधान गर्न नसक्दा लाजमर्दो भएको भन्दै अव एमालेले सदन अवरोध जारी राखेपनि नागरिकता विधेयक पास गर्ने बताएर जनमत बटुल्ने प्रयास गरेका थिए ।

मधेसमा देखिएको नागरिकताको समस्यालाई प्रचण्डले यसपटक चुनावी कार्ड बनाउन खोजेका थिए । जसरी पहिले उनले मधेससँग आफनो लभ परेको कुरा गर्थे । ‘मधेसी जनतासँग मेरो लभ कायमै छ, बरु मेरो लभरलाई भिलेनले लैजाला भन्ने डर छ’ प्रचण्डले मधेस पुगेपछि पहिला-पहिला भन्थे ।

तर प्रचण्ड र माओवादीका निम्ति यो पटक मधेसको चुनावी परिणाम त्यक्ति सुखद हुन पाएन । विगतमा मधेसमा आफनो भन्दा कमजोर रहेको एमालेले सुधार ल्याईरहँदा एमाले भन्दा तल्लो तहमा माओवादी झर्न पुगेको छ यसपटक ।

अझ माओवादीले विगतमा जितेका स्थानीय तह यो पटक एमालेले खोसेको छ । प्रचण्डको ४/५ वर्ष अगाडीको मधेसमा माओवादीको लभ लाई तोडन भिलनेका रुपमा एमाले देखा परेको छ ।

तुलना : विगत र अहिले
मधेस प्रदेशका ८ जिल्लामा गरी कुल १ सय ३६ स्थानीय पालिका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेस मधेसमा सबैभन्दा ठूलो दल बनेको थियो । कांग्रेसले प्रमुख/अध्यक्षमा ४० र उपप्रमुखरउपाध्यक्षमा ३५ सिट ०७४ मा जितेको थियो ।

त्यतिबेलाको संघीय समाजवादी पार्टी (हाल जसपा) दोस्रो ठूलो दल बनेको थियो । उसले प्रमुख/अध्यक्ष २६ र उपप्रमुख/उपाध्यक्ष २५ तहमा जितेको थियो ।

त्यस्तै, तेस्रो ठूलो दल बनेको तत्कालीन राष्ट्रिय जनता पार्टी (हालको लोसपा) ले प्रमुखरअध्यक्षमा २५ र उपप्रमुखरउपाध्यक्षमा ३० सिट जितेको थियो । माओवादी केन्द्र भने मधेसमा चौथो शक्तिका रूपमा देखिएको थियो । उसले मधेसमा २१ प्रमुख÷अध्यक्ष र २४ उपप्रमुख/उपाध्यक्ष पद जितेको थियो । मधेसमा सबैभन्दा कमजोर देखिएको एमालेले प्रमुख/अध्यक्ष १८ र उपप्रमुखरउपाध्यक्ष १९ सिट जितेको थियो ।


तर यसपटक एमालेले विगतको भन्दा मधेसमा राम्रो स्थान बनाईरहेको छ । यधपी, यसपटक पनि मधेसको ठूलो दल भने कांग्रेस नै हुने देखिएको छ । कुल १३६ पालिकामध्ये यो समाचार तयार पार्दासम्म ६९ पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।
त्यसमध्ये १ उपमहानगरपालिका, २९ नगरपालिका र ३९ गाँउपालिकाकाको नतिजा सार्वजनिक भएको छ । जसमध्ये १५ गाँउपालिका अध्यक्ष र ११ नगरपालिका अध्यक्ष गरी २६ पालिकाको अध्यक्ष/प्रमुख जितिसकेको छ । एमालेले ८ नगरपालिका र ७ गाँउपालिकाको अध्यक्ष गरी कुल १५ पालिकाको नेतृत्व जितेको छ ।


माओवादी केन्द्रले १ उपमहानगरपालिका, २ गााउपालिका र २ नगरपालिका गरी ५ पालिकाको नेतृत्व जितेको छ । जसपाले २ नगरपालिका र ११ गाँउपालिका गरी १३ स्थानिय पालिका जितेको छ । लोसपाले एउटा गाँउपालिका र २ वटा नगरपालिका गरी ३ वटा पालिकामा अहिलेसम्म जित निकाल्न सफल भएको छ ।


माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले ३ नगरपालिका र १ गााउपालिका गरी ४ पालिकाको नेतृत्व जितेको छ । अन्यले ३ पालिका जितेका छन् ।

बाँकी मतगणना भईरहेकामा पालिकामा पनि कांग्रेसको अग्रता सवैभन्दा वढी छ । त्यसपछि जसपा र एमालेको अग्रता क्रमशः छ । माओवादी त्यसपछिको स्थानमा मात्रै छ ।

मधेसमा माओवादी किन कमजोर ?

मधेस विद्रोहका कारण पहिलो संविधानसभामा मधेसी दल नै मधेसमा पहिलो शक्तिका रूपमा उदाएका थिए । दोस्रो स्थानमा माओवादी, त्यसपछि मात्र कांग्रेस, एमालेको उपस्थिति थियो । तर, त्यो परिणाम हरेक पटकको निर्वाचनमा उल्टिदै जान थालेको छ । दोस्रो संविधानसभासम्म आइपुग्दा कांग्रेस-एमाले बलियो र मधेसवादी-माओवादी कमजोर सावित भए ।

त्यसपछि फेरि स्थानीय तह चुनावमा कांग्रेस पहिलो, जसपा दोस्रो र लोसपा तेस्रो अनि माओवादी र त्यपिछि एमालेको अवस्था देखिएको थियो मधेसमा । तर यो पटकको चुनावी परिणामले लोसपा र माओवादीलाई थप कमजोर बनाएर एमालेलाई जसपा हाराहारीकै शक्तिका रुपमा मधेसमा स्थापित गरिदिन लागेको छ ।

माओवादी जनयुद्धका बेला मधेसले ठूलो बलिदान गरेको थियो । प्रचण्ड आफैले पनि मधेस प्रदेशको धनुषामै पहलिो पटक युद्धका लागि बम बनाउन सिकेका थिए । त्यसवेला उनलाई कमल साहले धनुषामै पहिलोपटक बम बनाउन सिकाएको स्मरण प्रचण्ड अहिले पनि मधेस पुग्दा गर्ने गर्छन् । सिराहमै पनि उनले चुनाव लडेर दोस्रो संविधानसभामा त्यहीको जनप्रतिनिधिका रुपमा प्रचण्ड रहेका थिए ।

तत्कालिन संयुक्त जनमोर्चा (नारायणकाजी समुह)को पनि मधेसमा राम्रो प्रभाव रहेको क्षेत्र थियो । सर्लाही, महोत्तरी, धनुषा, बारा, सिराहा, पर्सामा माओवादीको जनाधार केही न केही राम्रो थियो । तर यसपटक त्यहाँ माओवादीको करिस्मा चल्न सकेन । तीन वटा उपमहानगर रहेको मधेस प्रदेशमा माओवादीले एउटा उपमहानगर जीतपुर सिमराको मेयर त जितेको छ । तर, अन्यत्र पालिकाको अवस्था हरिविजोगकै छ ।

धनुषामा २०७४ सालको निर्वाचनमा नेकपा माओवादीले मेयरमा जितेका दुवै पालिका गुमाएको छ। अघिल्लो निर्वाचनमा माओवादीले जितेको सहिदनगरमा जनता समाजवादी पार्टी (जसपा) र विदेह नगरपालिकामा नेकपा एमालेले जित निकालेको छ। यो वीचमा २०७४ मा माओवादीबाट निर्वाचित अध्यक्ष/मेयर नै ५ जना एमाले प्रवेश गरेका थिए । त्यसमाथी माओवादीको मधेस प्रदेशमा जब्बर रहेको गुट ब्यवस्थापन हुन सकेको छैन । पूर्व एकताकेन्द्र र पूर्व माओवादी धारका वीचमा अहिले पनि मधेसमा गुटवन्दी चर्काे छ । त्यसमा फेरि केही समय यता नयाँ धार पनि देखा पर्न थालेको छ । मात्रिका यादव, गिरिराजमणि पोखरेल र गणेश शाहहरुका अलग अलग समुह मधेसमा छ ।

सोही गुटबन्दीका कारण माओवादीको पुसमा सम्मन महाधिवेशनमा पनि त्यसको असर देखा परेको थियो । गिरिराजमणि पोखरेलमाथी पूर्व माओवादी धारका नेताहरुले गम्भिर आरोप लगाउने काम समेत भएको थियो । त्यही विवादमा प्रचण्ड मधेसका कार्यक्रममा जाँदा मात्रिका यादवले वहिष्कार गर्ने सम्मका काम गरेका थिए । गिरिराजमणि र मात्रिका यादवहरुको अहिले पनि बोलाचाल छैन ।

यही कारण माओवादीले मधेस प्रदेश कमिटिलाई अहिलेसम्म पूर्णता दिन सकेको छैन । तल्लो स्तरमा जनमत रहेको देखिएपनि माथिल्लो प्रदेश कमिटि र त्यसमाथी नेताहरुका वीचमा भएको मनमुटाप र गुटबन्दीले मधेसमा माओवादीको संगठनलाई क्षतविक्षत बनाईरहेको छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज भट्टराई पार्टी संगठनभित्रको ब्यवस्थापन र गुटवन्दी मिलाउन नसक्दा मधेसमा माओवादीले सोचे अनुसारको परिणाम ल्याउन नसकेको स्वीकारर्छन ।
अर्का नेता अजय शंकर नायकको विश्लेषणमा मधेसमा माओवादी हारका चार कारणहरू छन् । एक, अन्तर्घात, दुई, टिकट वितरणमा समस्या, तीन, भूगोल र नेताको रिपोर्टमा समस्या र चार, पुराना उम्मेदवारलाई दोहोर्‍याउनु ।

माओवादीमा टिकट वितरण र मतदाता सुरक्षित गर्ने भन्दा गुटबन्दी गर्ने र अन्र्तघात गर्ने कामले माओवादीको मधेस प्रदेशमा निर्वाचन परिणाम खस्केको हो ।

माओवादीमा रहेका प्रभु साह पनि एमालेमा पुगेका कारण पनि माओवादीलाई केही धकका मधेसमा लागेको छ । तर एमालेमा पुगेर प्रभु साहको पनि जादु नचलेका कारण माओवादीलाई अन्र्तघात र गुटवन्दीले गिजोल्दा नै धेरै क्षति पुगेको विश्लेषण गर्न सकिन्छ । सिरहाको गोलबजार र सिरहा नगरपालिकामा माओवादीले आफ्नै पार्टीको बागीको समेत सामना गर्नुपर्‍यो । पहिला जितेका पाँचवटा पालिकाका प्रमुखलाई दोहोर्‍याएपछि माओवादीमा चर्को असन्तुष्टि थियो । यसले पनि परिणाममा असर परेको नायकको बुझाई छ ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया