बिहीबार, वैशाख २०, २०८१

जसपाले जितेका नौ पालिकामै कांग्रेस मुख्य प्रतिस्पर्धी

मेरोन्यूज २०७९ जेठ ४ गते २१:५१

काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)स्थानीय तहको निर्वाचनमा आएको मत परिणाममा अपेक्षाकृत सफलता पाउन सकिरहेको छैन । हालसम्मको मत परिणाममा उसले ९ पालिका जित्न सफल भएको छ । तर सबैभन्दा रोचक पक्ष के छ भने जसपाले जितेको नौ पालिकामै केन्द्रमा गठबन्धन रहेकोे नेपाली कांग्रेसनै उसको प्रमुख प्रतिस्पर्धी देखिएको छ । यस्तै कांग्रेसले जितेका मधेस प्रदेशका अधिकांश पालिकामा प्रमुख प्रतिस्पर्धी जसपा देखिएको छ । कांग्रेसले जितका मध्ये १० पालिकामा जसपा प्रमुख प्रतिस्पर्धीको रुपमा हारेको छ ।

यो परिणामले जसपा र कांग्रेस दुबैलाई झस्काएको छ । एकातिर विराटनगरमा उपमयेर उम्मेदवार रहेका जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव कांग्रेसले भोट नहाल्दा हार्ने अवस्थामा पुगेका छन् । यस्तै जनकपुरमा गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार विरुद्ध कांग्रेसका नेता विमलेन्द्र निधिको योजनामा कांग्रेसकै वागी उम्मेदवार बनेर स्वतन्त्र उम्मेदवार रहेका मनोज कुमार साहले अग्रता कायम गरीरहका छन् । गठबन्धनको साझा उम्मेदवार भनिएका जसपाका उम्मेदवार निवर्तमान मेयर लालकिशोर साह मधेस प्रदेशको राजधानी जनकपुरमा चौथो स्थानमा झर्न पुगेका छन् । यसले उपेन्द्र यादव कांग्रेससँग निकै चिढिएका छन् ।

अर्कोतर्फ डा। बाबुराम भट्टराईको गृह जिल्ला गोरखामा जसपासँग माओवादी केन्द्रले गठबन्धन गर्न नचाहेपछि डा। भट्टराई बिच्किएका छन् । उनले आफ्नो गृह पालिका पालुंटारमा एमालेसँग गठबन्धन गर्न पुगेका छन् । माओवादीले नतिजा घोषणा गरिएका गोरखाका आठ पालिका मध्ये एक बाहेक सबै पालिकामा जित हासिल गरेको छ । यसले आगामी संसदको चुनावमा आफुलाई समस्या पर्ने बुझका भट्टराईले अहिलेनै आफ्नो सिट सुरक्षित राख्ने उपयाको खोजीमा लागेका छन् ।

स्थानीय तहको निर्वाचनले जसपा अध्यक्ष यादव कांग्रेससँग तर्सिने र डा.भट्टराई माओवादीसँग तर्सिने अवस्थाको सृजना भएको छ । यो विषय पेचिलो बन्दै गएमा सत्ता गठबन्धमै दरार उत्पन्न गर्नसक्ने र देउवा सरकार समेत धर्मराउन सक्ने आँकलन गरीएको छ । जसपाले जितेका यि पालिकाको नतिजाले पनि यो आशंकालाई थप जोड दिएको छ ।

पर्साको धोवनी गाउँपालिकामा जसपाका मदन प्रसाद चौहान ३ हजार ९१ मत पाएर विजयी हुँदा उनका प्रमुख प्रतिस्पर्धी कांग्रेसका बशीष्टनारायण प्रसाद कुर्मीले ३ हजार ७१ मात पाए । जहाँ जम्मा २० मतको अन्तर मात्रै रहेको थियो । पर्साकै कालिका गाउँपालालिकामा जसपाका बशिष्ट कुमारले ३ हजार ७१९ मत ल्याएर विजयी हुँदा उनका प्रमुख प्रतिस्पर्धी कांग्रेसका अजय कुमारले ३ हजार ६०५ मत पाए् ।

यस्तै धनुषाको जनकनन्दिनी गाउँपालिकामा जसपाका दिपिन देव यादवले ३ हजार १५७ मत लिएर जिवयी हुँदा उनका प्रमुख प्रतिस्र्धी कांग्रेसका सुदेश कुमार चौधरीले २ हजार ७७८ मत पाए । यस्तै धनुषाकै मुखियापट्टी मुसहरनिया गाउँपालिकामा जसपाका जय कुमार यादवले ५ हजार ४१० मत पाएर विजयी हुँदा उनका प्रमुख प्रतिस्र्धी कांग्रेसका रामवावु यादव ले २ हजार ४५५ मत पाए ।

सुनसरीको देवानगञ्ज गाउँपालिका बेचन प्रसाद मेहताले ६ हजार ८७४ मत लिएर विजयी हुँदा नेपाली कांग्रेसका श्यामलाल महतोले ६ हजार ३७४ मत सहित उनको प्रमुख प्रतिस्पर्धी रहे । सिरहाको नवराजपुर गाउँपालिकामा जसपाका शिव उद्गार यादवले ४ हजार ५५४ मत पाएर विजयी हुँदा उनका प्रमुख प्रतिस्पर्धी कांग्रेसका विश्वमोहन प्रसाद यादवले २ हजार ५२५ मत पाए । बाराको। करैयामाई गाउँपालिकामा जसपाका शम्भु प्रसाद यादवले ५ हजार ५९८ मत पाएर विजयी हुँदा उनका प्रमुख प्रतिस्पर्धी कांग्रेसका भुनेश्वर धामीले ३ हजार ४०० मत पाए । सर्लाही जिल्लाको बसबरिया गाउँपालिकामा जसपाका राम सिहासन रायले ४ हजार ९४६ मत पाएर विजयी हुँदा उनका प्रमुख प्रतिस्पर्धी कांग्रेसका राम अयोध्या यादवले २हजार ८७१ मत पाए ।

मधेसमा मात्रै हाईन पहाडी जिल्ला ओखलढुंगामा जसपाले जितेको स्थानको समेत मुख्य प्रतिस्पर्धी कांग्रैसकै उम्मेदवार बनेका छन् ।ओखलढुंगाको खिजीदेम्वा गाउँपालिकामा जसपाका गम्बु शेर्पाले २ हजार ८८२ मत पाएर विजयी हुँदा उनका प्रमुख प्रतिस्पर्धी कांग्रेसका भुपेन्द्र बहादुर बस्नेतले २ हजार ७५२ मत पाए । यसरी जसपाले जितेका ९ पालिका मध्ये ९ वटैमा कांग्रेस प्रतिस्पर्धी हुनु भनेको दुबै पार्टीको भोट बैंक र मतदाता एउटै रहेको देखाउँछ । जसपा अध्यक्ष उपेन्द्र यादवकै जिल्ला सप्तरीको एक पालिकामा सिके राउतको जनमत पार्टीले जित हासिल गर्नु र अन्य केही पालिकामा समेत अग्र स्थानमा रहनुले यादवलाई समेत थ्रेट उत्पन्न गरेको छ । जसले यादव आसन्न संसदको चुनावलाई समेत दृष्टिगत गर्दै कांग्रेससँगको सहकार्यबारे घोत्लिनुपर्ने अवस्थामा पुगेका छन् ।

प्रतिक्रिया