शुक्रबार, वैशाख १४, २०८१

महानगरको शालीन विद्रोह र बालेनको ‘बबाल’ बहस !

मेरोन्यूज २०७९ जेठ ४ गते २१:०६

काठमाडौं । एउटा सामान्य गायक, धेरै चर्चा परिचर्चा थिएन । राजनीतिक दलका नेता कार्यकर्ताहरुले उनको विषयमा खासै नाम सुनेका थिएनन । अर्थात वैशाख ३० मा स्थानीय तहको निर्वाचन सम्पन्न हुँदासम्म बालेन्द्र (बालेन) साह एकजना सामान्य उम्मेदवार मात्र थिए, नागरिक मात्रै थिए । उनी कुनै दल विषेशको फन्दामा परेका थिएनन ।

जान पनि रुचाएनन । कुनै राजनीतिक दलको सदस्यविना उम्मेदवार बनेकाले उनले चुनाव जित्लान् भनेर शहर र शहरबाहिरका मतदाताले पत्याउने कुरै भएन । अहिलेसम्म करिब ४५ हजार मत गनिसक्दा पनि उनले चुनाव जित्छन भन्ने एकिन त गर्न सकिन्न तर यसोचाहि भन्ने सकिन्छ उनले ल्याएको मतले राजनीतिक दललाई एउटा ठूलो चुनौति खडा गरेको छ, अर्थात बर्षौदेखि राजनीतिक दलको कार्यकर्ता र नेता भएर जनताको सेवामा लाग्छु भन्नेहरुको बीचमा एउटा बालेनको मत ‘प्याटन’ बबाल बहस सिर्जना गरेको छ ।

निर्वाचनमा मतदान केही दिन अघि सञ्चारमाध्यममा उनको बहस शुरु भयो । विभिन्न कोणबाट शुरु गरिएको बहसले सकारात्मक र नकारात्मक दुवै विचारहरु प्रष्फूटित भए । यस्तो विचारलाई उनका प्रतिस्पर्धी मात्र नभई निर्वाचनको सूक्ष्म रूपमा विश्लेषण गर्नेहरूले समेत भेउ पाउन सकेन कि उनले यतिधेरै मत ल्याएर चर्चा पाउलान र दलहरुलाई सोच्न बाध्यकारी हुने गरी बहस सिर्जना गर्लान । एकातिर सत्तारुढ ५ दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी सिर्जना सिंह र अर्कोतर्फ यसअघि नै २ पटक महानगरको मेयर भइसकेका प्रमुख प्रतिपक्ष नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका केशव स्थापितसँगको प्रतिस्पर्धामा उनको मत कति आउला भनेर विश्लेषण गर्नु नै बेकार ठानिएको थियो ।

३० गतेको मतदान र त्यसपछिको मतगणामा बालेन सबैजसो सञ्चार माध्यमको आँखामा परेका छन् । महानगरपालिकामा जब मतगणना शुरू भयो, त्यसयता बालेन अग्रस्थानमा छन् । यही गति कायम राखे उनले चुनाव जित्नेमा कुनै शंका छैन । उनले प्राप्त गरिरहेको मत देख्दा यसअघि उनलाई नपत्याउने प्रतिस्पर्धीहरू चुप लाग्ने अवस्थामा पुगेका छन् । वडा तहमा कांग्रेस, एमालेकै उम्मेदवारले बढी मत पाउँदा समेत मेयरमा बालेनले नै अग्रता लिइरहेका छन् । जसले गर्दा एमाले कांग्रेसका उम्मेदवारलाई मतगणास्थलमा मुख देखाउने ठाउँसमेत दिएका छन् । बालेन दिनमै एकाध दुई पटक मतगणनास्थल राष्ट्रिय सभागृहमात्र होइन छिमेकी महानगरपालिका ललितपुर र भक्तपुर समेत पुगेका छन् । उनी जहाँ पुग्छन त्यहाँ केही सञ्चार माध्यमहरुले पछ्याउने समेत गरेका छन् । उनी यसरी आफ्नो क्रेज किन बढाइरहेका छन भन्ने प्रश्नको कुनै उत्तर छैन । उत्तर भएपनि त्यो सहज भने र कर्णप्रिय होइन । किनकी राजनीतिक दलहरुले जनतामाथि गरिएको थिचोमिचो र रैथाने कार्यकर्ता वर्षौदेखि संगठनको साँख धानेर बसेका कार्यकर्तालाई गरेको अन्याय विरुद्ध जनता र कार्यकर्ताको शालिन विद्रोह हो भन्न सक्ने अवस्था छ ।

‘यो अवस्था सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षले तयार पारेका हुन् । यी दलहरूले लोकतान्त्रिक संस्कार अनुसार राजनीतिक पद्धति र उम्मेदवार छनोट गर्न सकेको भए एउटा आस्था र समूहमा चल्ने विश्वास गरिने दलहरूले अघि सारेका उम्मेदवारका सामुन्ने संगठन नभएको जो सुकै व्यक्तिको उचाइ एकाएक यति धेरै बढ्ने थिएन’, महानगरपालिकामा संगिठत भएर बसेका एमालेका एक नेताले भने ‘ परिवर्तन खोजेकै कारण काठमाडौंमै यसअघिको स्थानीय तहको निर्वाचनमा साझा र विवेकशील पार्टीका उम्मेदवारले सम्मानजनक र प्रतिस्पर्धी मत पाएका थिए तर, त्यो बेला ती दल एउटा संगठनमा आबद्ध भइसकेकाले अहिलेको भन्दा अवस्था केही सहज थियो । प्रजातान्त्रिक शासन पद्धतिमा जनताले खोजेको परिवर्तन र जनताका मुद्दाको सुनुवाइ राजनीतिक दलहरूले गर्नुपर्छ, यसमा राजनीतिक दलका नेताहरुले स्थानीय कार्यकर्तालाई कम आक्ने काम गरे त्यसको प्रतिफल बालेन र बालेन जस्ता असंगठित समूहहरु यसरी नै आउनेछन् ।’

काठमाडौं महानगरको मेयरमा सत्तारुढ गठबन्धन र नेकपा एमालेले उठाएका उम्मेदवार लामो समयदेखि राज्य संयन्त्रमा जोडिएका छन् । सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार भएकी सिंह त झन् कांगे्रेसका संस्थापकमध्ये एक गणेशमान सिंहकी बुहारी र उनका छोरा तथा कांग्रेस नेता प्रकाशमानकी पत्नी हुन् । त्यस्तै एमालेका स्थापितले टिकट पाउनु पनि पद्धति र प्रणालीभन्दा नेतृत्वलाई खुशी पार्दाको परिणाम हो भन्ने बुझाई रहेको छ । उनीहरु कही न कही शक्ति केन्द्रसँग जोडिएपछि उनीहरुले जित्ने पनि महानगरको हीत भन्दा शक्ति केन्द्रकै हित हुनेमा महानगरबासीको बुझाइमा दुईमत छैन । जसका कारण राजनीतिक दलहरूको यही रवैयाले यसपटक बालेनलाई अघि बढ्ने मौका मिल्यो ।

जीत होस वा हार किन नहोस एमाले र कांग्रेस जस्ता पार्टीलाई बालेनको चुनौतिले सोच्न बाध्य पारेको छ । यद्यपि उनीहरुले यो विषयमा मुख खोलिसकेका छैनन । बालेनको उपस्थितिले शहरमा ठूला दलको बचश्व घट्ने निश्चित प्रायः देखिएको छ । शहरमा ठूला दलले आफ्नो बचश्व रहेको बताउदै आएका थिए । तर काठमाडौदेखि सुदूरपश्चिम र मधेश प्रदेशको प्रादेशिक राजधानी रहेका क्रमशः धनगढी र जनकपुरमा पनि स्वतन्त्र उम्मेदवारले राम्रो मत प्राप्त गरिरहेका छन् । ती स्थानमा पनि स्वतन्त्र उम्मेदवार विजयी हुने सम्भावना उत्तिकै छ । वर्षौंको इतिहास बोकेका राजनीतिक दलका सामुन्ने चुनावअघि मात्र आफूलाई उम्मेदवारको रूपमा चिनाएका व्यक्तिले प्रतिस्पर्धा गर्ने हैसियत बनाउनुले दलहरूको संस्कार, सोच र कार्यशैली परिवर्तन आवश्यक छ भन्नेमा अब कुनै द्विविधा छैन भन्ने तथ्यलाई ध्यानमा नराख्ने हो भने यस्ता धेरै बालेनहरुको जन्म हुने निश्चित मात्रै छैन लोकतान्त्रिक व्यवस्थामाथि समेत प्रश्न चिन्ह उठ्ने छ ।

प्रतिक्रिया