शुक्रबार, वैशाख ७, २०८१

सुर्खेतका कुन पालिकामा कसले जिते ?

मेरोन्यूज २०७९ जेठ ४ गते १३:४३

सुर्खेत । सुर्खेतका नौ पालिका मध्ये पाँच पालिकाको पूर्ण मत परिणाम सार्वजनिक भइरहदा कांग्रेसको वर्चश्व धेरै ठाउँमा देखिएको छ । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसले जितेको पश्चिम सुर्खेतको बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका, गुर्भाकोट नगरपालिकामा यस पटक पनि विजय हासिल गर्न सफल भएको छ ।

यसअघि चिगांड गाउँपालिका जितेको कांग्रेसले यस पटक गुमाएको छ भने एमालेले जितेको लेकबेँसी नगरपालिकामा विजय हासिल गर्न सफल भएको छ । गुर्भाकोट नगरपालिका, पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिकामा कांग्रेसले पूरानो वर्चस्व कायम राख्दै लेकबेँसी नगरपालिका थपियो भने चिंगाड गाउँपालिका जोगाउन सकेन ।

चिंगाड गाउँपालिकामा नेकपा माओवादी र कांग्रेसबीच गठबन्धन गर्ने निर्णय भए पनि सोअनुसार कांग्रेसले वडामा उम्मेदवारी नझिक्दा र भागबण्डा मिल्न नसक्दा माओवादी गठबन्धनबाट बाहिरिएको थियो । गठबन्धनबाट माओवादी बाहिरिएपछि एमालेलाई पालिका जित्न सहज भएको कतिपयको भनाइ छ ।

पञ्चपुरीमा कांग्रेसका उम्मेदवार विजयी
सुर्खेतको पश्चिम क्षेत्रमा पञ्चपुरी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार लालवीर भण्डारीले ५९ सय नौ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका धनबहादुर थापाले ५१ सय १८ मत ल्याएका छन् । यस्तै, नेकपा माओवादीका केशबहादुर शाहीले २७ सय ८३ मत ल्याए ।

उपप्रमुखमा कांग्रेसकै मुक्तिदेवी रेग्मी विजयी भइन । उनले ६ हजार ९४ मत ल्याउँदा निकटतम प्रतिद्धन्द्धी दुर्गाकुमारी जैसीले ५१ सय ६८ ल्याएकी थिइन ।

चिङ्गाडमा कांग्रेसको गढ तोडियो
चिङ्गाड गाउँपालिकामा नेपाली काँग्रेसको गढ तोड्दै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । चिंगाडमा एमालेका वोधविक्रम जिसी ६१ मतले विजयी भएका हुन् ।
मतदान अधिकृतको कार्यालयले गरेको घोषणा अनुसार यहाँ नेपाली कांग्रेसका डोरप्रसाद शर्मा पराजित भएका छन् । जिसीले ३५९१ मत प्राप्त गर्दा शर्माले ३५३० मत पाएर पराजित भएका छन् । यस्तै, पालिका उपाध्यक्षमा एमालेकै मीनाकुमारी रोकायाले ३५८१ मत ल्याएर विजयी भएकी छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसकी मनमाया आचार्य पराजित भएकी छन् । भने उनले ३४६९ मत पाएकी छन् ।

गुर्भाकोटमा दोहोरिए कांग्रेसका दुवै उम्मेदवार
गुर्भाकोट नगरपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ । नेपाली कांग्रेसका निवर्तमान प्रमुख र उपप्रमुख दुवै विजयी भएका छन् । अघिल्लो कार्यकाल मेयर समेत रहेका हस्त पुनले ११ हजार नौ सय ७८ मत ल्याएर विजयी भएका हुन् भने नेकपा एमालेका तिलकबहादुर खत्री १० हजार एक सय ८६ मत पाएर पनि पराजित भए ।

उपप्रमुखमा कांग्रेसकै मैना विक विजयी भएकी छिन् । उनले ११ हजार सात सय ४३ मत ल्याउँदा निकटतम प्रतिद्धन्द्धी एमालेकी सुशीला कुमारी विश्वकर्मा नारले १० हजार दुई सय ९९ मत पाइन ।

लेकबेँसी एमालेबाट खोसियो
लेकबेँसी नगरपालिका नेकपा एमालेको राम्रो प्रभाव क्षेत्र मानिन्थ्यो । यसअघि दुवै पदमा धेरै मनान्तरमा एमालेका उम्मेदवार विजयी भएका थिए । तर यसपटक नेपाली कांग्रेसका उमेशकुमार पौडेलले नेकपा एमालेका देवबहादुर रानालाई पराजित गरेका छन् ।

उपप्रमुखमा भने एमालेका उम्मेदवार विजयी भएका छन् । उपप्रमुखमा एमालेका विमला खडलुक विजयी भएकी छिन भने नेकपा एकीकृत समाजवादीका देउकली थापामगर पराजित भएकी छिन् ।

बराहतालमा कांग्रेसका भण्डारी विजयी
बराहताल गाउँपालिकाको अध्यक्षमा कांग्रेसका भीमबहादुर भण्डारी विजयी भएका छन् । भण्डारीले नेकपा एमालेका घनश्याम पाण्डेललाई हराउँदै अध्यक्षमा विजयी भएका हुन् । भण्डारीले ४३ सय ९७ मत प्राप्त गरेका छन् भने एमालेका पाण्डेलले ३५ सय ५५ मत प्राप्त गरेका छन् ।

यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसकी लक्ष्मी पुनमगर विजयी भएकी छिन् । पुन मगरले ४३ सय एक मत प्राप्त गरेकी छिन् । उनले नेकपा एमालेकी दुर्गाकुमारी विष्टलाई पाराजित गरेकी हुन् । विष्टले ३५ सय ९९ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया