शुक्रबार, वैशाख १४, २०८१

कहाँ चुक्यो एमाले !

विभाजन र फरक मतविरुद्धको पूर्वाग्रहले एमालेलाई घाटा

मेरोन्यूज २०७९ जेठ ३ गते २१:५४

काठमाडौँ । चुनावको तीन दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको जनमतलाई कसैले रोक्न नसक्ने बताएका थिए । चुनावअघि एकै दिन चार वटासम्म कार्यक्रम पुग्न भ्याएका उनको ध्यान विपक्षीलाई गाली गर्नमै सीमित रह्यो ।

आफूले विगतमा गरेका गल्ती सच्याउनुभन्दा त्यसलाई कसरी सही थियो भनेर प्रमाणित गर्ने भन्नेतर्फ एमाले अध्यक्ष अ‍ोलीको ध्यान गएको थियो । मतदानको तीन दिनअघि एमालेले सबै मतदातालाई सूर्यमा मतदान गर्न आग्रह गरेका थिए ।

मतदान सकिएको तीन दिनपछि सत्ता गठबन्धनका तर्फबाट राज्य स्रोतको दुरुपयोग गरी धाँधली गरेको आरोप लगायो । साथै मंगलबार संसदमा एमाले उपमहासचिव प्रदीप ज्ञावालीले निर्वाचन निष्पक्ष नभएको भन्दै संसदमा रेकर्ड राख्न आग्रहसहितको मन्तव्य दिएका थिए ।

तर, एमालेका कोही पनि नेताहरू तत्काल चुनावी समीक्षा गर्न तयार भएका छैनन् । पार्टीको तर्फबाट टिकट वितरण गर्नुअघि र टिकट वितरण गरिससकेपछि पार्टीभित्र देखिएको विवादलाई निरुपण गर्न नसक्दा एमालेलाई अहिले स्थानीय चुनावमा सोचेजस्तो परिणाम प्राप्त हुन सकेको छैन । काठमाडौँका अधिकांश स्थानीय तह गुमाउने अवस्था छ ।

एमाले विभाजन भएपछि करिब १५ प्रतिशत नेता कार्यकर्ता पार्टीबाट बाहिरिदा थोरै मतान्तरणले एमालेका उम्मेदवारले पराजय भोग्नु परेको छ । करिब २० स्थानमा थोरै मतले एमालेका उम्मेदवार पराजित भएका छन् ।

काठमाडौँको कीर्तिपुर वर्षौंदेखिको वामपन्थी गढमा कांग्रेसले झण्डा गढ्यो । स्थानीय तहको निर्वाचनबाट नगरपालिकामा नेपाली कांग्रेसले मेयरसहित बहुमत वडामा जित निकालेको छ ।

एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले टिकट वितरणमै समस्या भएको स्वीकार गरेका छन् । त्यतिमात्र होइन एमालेबाट टिकट वितरणमै समस्या देखिएको छ । विरगञ्जमा जनता समाजवादीबाट आएका विजय सरवागीलाई टिकट दिएर गल्ती गरेपछि त्यहाँ अवस्था नाजुक बन्दै गएको छ ।

काठमाडौँको कीर्तिपुर वर्षौंदेखिको वामपन्थी गढमा कांग्रेसले झण्डा गढ्यो । स्थानीय तहको निर्वाचनबाट नगरपालिकामा नेपाली कांग्रेसले मेयरसहित बहुमत वडामा जित निकालेको छ ।

नगरपालिकाको मेयरमा कांग्रेसका राजकुमार नकर्मीले एमालेका रत्नकेशर बज्राचार्यलाई पराजित गरेर विजयी भएका हुन् । नकर्मीले बज्राचार्यलाई साढे चार हजार मतले पराजित गरेका हुन् । नकर्मी ९ हजार ४३ मत ल्याएर मेयरमा निर्वाचित हुँदा एमालेका बज्राचार्यले ५ हजार ५०७ मत ल्याए ।

अघिल्ला दुई स्थानीय निर्वाचनमा एमालेले विजय हासिल गरेको कीर्तिपुर नगरपालिका यसपटक नेपाली कांग्रेसको पोल्टामा गएको छ । नगरप्रमुख–उपप्रमुखसहित ९ वटा वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

एमालेको परम्परागत किल्लाको रुपमा रहेको कीर्तिपुर बढारिनुका पछाडि एमालेभित्र रहेका १० बुँदे समूहका नेतालाई टिकट नदिनु र त्यहाँका लोकप्रिय नेता सुरेन्द्र मानन्धर जिम्मेवारीविहीन हुनु नै प्रमुख कारण रहेको छ । त्यहाँ लोकप्रिय मानिएका निवर्तमान मेयर रमेश महर्जनलाई मेयरको टिकट नदिनु पनि अर्को कारण रहेको छ ।

एमालेभित्र फरक दृष्टिकोण राख्ने भए पनि उहाँलाई टिकट दिँदा जितिने अवस्था छ भनिएको थियो ।

कीर्तिपुरमा लोकप्रिय रहेका महर्जन एमालेभित्रको अन्तरद्वन्द्वको समयमा माधव नेपाल–वामदेव गौतम खेमामा थिए । गौतम नेतृत्वको ‘एमाले एकता अभियान’को सदस्यसमेत रहेका महर्जन स्थानीय तहमा ‘१० बुँदे पक्षधर’ नेता हुन् । यद्यपि, उनी आफैले टिकट पाउनु पर्छ भनेर लागेका थिएनन् ।

अर्कोतर्फ विद्यार्थी राजनीतिबाट आएका बटुकृष्ण थापा माधव नेपालतिर लाग्नु पनि अर्को कारण रहेको छ । स्थानीय पार्टी कमिटीले यसपटक पनि महर्जनलाई उम्मेदवार बनाइँदा विजय हासिल गर्ने भन्दै उनको नाम सिफारिस गरेको थियो । तर, ‘१० बुँदे पक्षधर’ भएकै कारण ओलीले उनलाई टिकट दिन आनाकानी गरे ।

महर्जनलाई टिकट दिनुपर्छ भनेर ओलीलाई पटक पटक भनिएको भए पनि महर्जनलाई टिकट दिइएको थिएन । ‘एमालेभित्र फरक दृष्टिकोण राख्ने भए पनि उहाँलाई टिकट दिँदा जितिने अवस्था छ भनिएको थियो’, कीर्तिपुरका एक नेताले भने ।

एमाले अन्तद्वन्द्वका बेला आफूलाई साथ नदिएकै आधारमा महर्जनलाई मेयरको टिकटबाट बञ्चित गरेका ओलीले माओवादी केन्द्रबाट नयाँ शक्ति हुँदै एमाले प्रवेश गरेका केशरत्नलाई टिकट दिनु नै कीर्तिपुरजस्तो एमालेको किल्लामा हार व्यहोर्नु परेको एमालेका एक नेताले भने ।

यो समस्या कीर्तिपुरमा मात्र होइन देशभर नै रहेको छ । ओलीले दश बुँदे सहमति गरेर एमालेमै बसेका नेताहरूसँग निकट रहेका र विगतमा माधव नेपालसँग निकट रहेका नेताहरूलाई समेत ओलीले मिलाउन नसक्दा अहिले प्रदेश १ र गण्डकी तथा सुदूरपश्चिममा करिब ४६ भन्दा बढी स्थानीय तह गुमाउनु परेका तथ्य बाहिर आएका छन् ।

अहिलेसम्म आएको मत परिणामलाई हेर्दा एमालेले निकै कम मतले पराजय भोगेका स्थानीय तह संख्या बढी रहेको छ । खासगरी एमाले विभाजन हुनु नै अहिले पराजयका कारण बनिरहेको देखिन्छ ।

प्रतिक्रिया