मंगलबार, वैशाख ४, २०८१

गठबन्धनभित्रै बाट अपेक्षित सहयोग भएन, गम्भीर समीक्षा हुन्छ : माधव नेपाल

मेरोन्यूज २०७९ जेठ ३ गते ११:१६

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले स्थानीय तह चुनावमा गठबन्धनभित्रैबाट पार्टीलाई अपेक्षित सहयोग नभएको बताएका छन् ।

उनले देशब्यापी चुनावी परिणाम आएपछि पार्टीले यस विषयमा गम्भीर समीक्षा गर्ने पनि बताए ।

मदन-आश्रित स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन र चुनावी परिणामको बारेमा समीक्षा गर्नुपर्ने बताएका हुन् ।

‘निर्वाचनको परिणामहरु अहिले आईरहेका छन् । गठबन्धनबाटै पनि के कति सहयोग भए, भएनन ? निर्वाचनको गम्भीर समीक्षा गर्नुपर्ने छ । आगामी दिनमा के गर्ने, कसरी पार्टीलाई मजबुत बनाएर लैजाने भन्नेमा समीक्षा जरुरी छ,’ अध्यक्ष नेपालले भने ।

नेपालले चुनावमा गठबन्धन घटकबाटै पनि धेरै ठाउँमा सहकार्य गर्न नचाहेको र धोखा भएको गुनासाहरु आइरहेको भन्दै त्यसको पनि समीक्षा गरेर अघि बढ्ने बताए ।

नेपालले अहिलेसम्म एक सय जति ठाउँमा वडाध्यक्ष जितेको र १५/२० ठाउँमा पालिका जित्ने अनुमान रहेको पनि बताएका थिए ।

उनले जे जस्तो अवस्था देखिएपनि पार्टीलाई सुढृढ र बलियो बनाएर जानुको विकल्प नभएको पनि बताए ।

प्रतिक्रिया