बिहीबार, चैत १५, २०८०

देशकै पहिलो निर्वाचित गाउँपालिका अध्यक्ष घलेको के छ योजना ?

मेरोन्यूज २०७९ वैशाख ३१ गते १२:२३

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको गाउँपालिका हो, मनाङको चामे । चामेवासीको सांस्कृतिक जीवन पद्धतिमा तिब्बती प्रभाव छ । र, चामेमै जिल्ला सदरमुकाम छ ।

मर्स्याङ्दी कोरिडोरमा पर्ने यही गाउँपालिकाबाट देशले पहिलो जननिर्वाचित अध्यक्ष पायो । ती अध्यक्ष हुन्– लोकेन्द्रबहादुर घले ।
प्रमुख विपक्षी दल नेकपा एमालेबाट उनी निर्वाचित भएका हुन् । ४१ मतान्तरले उनले सत्ता नेतृत्व दल नेपाली कांग्रेसका उम्मेदवार छिरिङ दोर्जे लामालाई पराजित गरे ।

निर्वाचन अधिकृतको कार्यालय चामेका अनुसार अध्यक्ष पदमा घलेले ३२० मत र लामाले २७९ मत पाएका हुन् । निर्वाचित भएसँगै घले दोस्रो पटक चामेवासीको सरकार प्रमुख भएका छन् । उनले चामेवासीलाई निर्वाचित गरेकोमा धन्यवाद ज्ञापन गरे । 

‘अघिल्लो पटक गरेको कामका कारण यस पटक पनि चामेवासीले अध्यक्ष निर्वाचित गरिदिनुभयो । म फेरि, पनि उहाँ (चामेवासी) हरूकै सेवामा समर्पित हुन्छ । चामेको विकासमा केन्द्रित हुन्छ । उहाँहरूलाई धन्यवाद छ’, न्युज कारखानासँग कुराकानी गर्दै भने । 

कृषि र पशुपालनभन्दा पनि चामेवासीको प्रमुख आर्थिक स्रोत नै पर्यटन हो । हिमाली पर्यटकीय गन्तव्य धेरै छन् । तर, पर्यटकीय गन्तव्यहरूमा सहजै पुग्न सडक पूर्वाधारको विकास छैन । वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकहरू छन् । 

Advertisement

नवनिर्वाचित अध्यक्ष घलेको पहिलो प्राथमिकता नै सडक पूर्वाधारको स्तरोन्नति छ । 

‘मैले यस पटक चामे–डुम्रे सडक र चामे–बेशींसहर सडक कालोपत्रे गर्नेगरी काम अघि बढाउँछु । अघिल्लो पटक पनि पूर्वाधार विकासमै मेरो ध्यान थियो’, उनले भने, ‘सडकको स्तरोन्नति भएपछि बिहान ६ बजे काठमाडौंदेखि बस चढ्दा दिउँसा २÷३ बजे पर्यटक चामे आइपुग्छन् । यहाँको पर्यटन व्यवसाय फस्टाउँछ ।’

चामेको समस्या सडक मात्र होइन । बिजुली पनि हो । मस्र्याङ्दी कोरिडोरको गाउँपालिका भएकाले बाढी पहिरोका कारण अबरुद्ध हुँदा बिजुली अनियमित हुने गरेको छ । अनियमित बिजुलीलाई नियमित गर्ने अध्यक्ष घलेको योजना छ । 

सदरमुकाम भए पनि चामेमा व्यवस्थित बसपार्क छैन । बसपार्कको लागि अघिल्लो पटक अध्यक्ष हुँदा घलेले जग्गा खरिद प्रक्रिया अघि बढाएका थिए । 

यो कार्यकालमा भने बसपार्क निर्माण सम्पन्न गर्ने उनको चाहना छ । उनका अनुसार मनाङमा पर्यटकको चाप बढ्दा सवारी व्यवस्थापनमा समस्या हुने गरेको छ । 

जिल्ला अस्पताललाई पनि थप सुविधा सम्पन्न बनाउने पक्षमा उनी छन् । गत वर्षको असारमा गएको पहिरोबाट क्षतिग्रस्त गाउँका घरहरूदेखि सार्वजनिक संरचना र पर्यटकीय गन्तव्यका संरचनाहरू निर्माण गर्ने पनि उनले बताए । 

उनी भन्छन्, ‘चामेलाई समृद्धि बनाउन र चामेवासीलाई पहिरोले पु¥याएको क्षतिमा मह्लम लगाउनेदेखि यहाँको समृद्धिका लागि मेरा कदम अघि बढ्नेछन् ।’

हिमाली क्षेत्र चामेको पुरानो पर्व हो, – धज्याङ । हिमाली बौद्ध सम्प्रदायका मानिसहरूले परापूर्वकालदेखि मनाउँदै आएका छन् । सांस्कृतिक संरक्षणको अभियानअन्तर्गत यो पर्वलाई थप संरक्षण गर्दै पुस्तान्तरण गर्न घले चाहन्छन् । 

प्राचीन बौद्ध गोन्पाहरूको संरक्षण, गोन्पा शिक्षा कार्यान्वयन, सरकारी विद्यालयलाई आवासीय बनाउनेदेखि ती विद्यालयहरूमा निजी विद्यलायमा जसरी अंग्रेजी माध्यम भाषाबाट पठनपाठन गराउने पनि घलेको प्रतिबद्धता छ । 
 

प्रतिक्रिया