शुक्रबार, चैत १६, २०८०

लुनकरणदास–गंगादेवी चौधरी साहित्य कला मन्दिरद्वारा स्रष्टा सम्मानित

मेरोन्यूज २०७९ वैशाख २७ गते १८:२३

काठमाडौँ । लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले तीन स्रष्टालाई सम्मान गरेको छ । साहित्यकला मन्दिर स्थापनाको २८ औँ वर्ष प्रवेशको अवसरमा मंगलबार काठमाडौँको अग्रवाल सेवा केन्द्र भवनमा आयोजित समारोहमा स्रष्टालाई सम्मान गरिएको हो ।

साहित्यकला मन्दिरले स्थापना गरेको ‘इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मान’ स्रष्टा प्रा.डा. त्रिरत्न मानन्धर, ‘सरस्वती सम्मान’ तेजेश्वर बाबु ग्वंगः र ‘नारायणगोपाल संगीत सम्मान’ न्हूछेबहादुर डंगोललाई प्रदान गरेको हो । सम्मानित तीनै स्रष्टा जेष्ठ नागरिक हुन् ।

समारोहमा प्रा.डा. उषा ठाकूर र साहित्यकला मन्दिरका अध्यक्ष बसन्त चौधरीले संयुक्त रुपमा स्रष्टाहरूलाई नगद जनही एक लाख ५१ हजार, सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । साहित्यकला मन्दिरले स्थापनाको वर्षदेखि नै विभिन्न विधाका स्रष्टालाई सम्मान गर्दै आएको छ ।

स्रष्टा सम्मान समारोहमा सम्मानित भएका स्रष्टा प्रा.डा. मानन्धरले साहित्यकला मन्दिरले लामो समयदेखि सह्रानीय काम गरिरहेको र यही कामले साहित्यको क्षेत्रमा विशिष्ट स्थान बनाइसकेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा.डा. उषा ठाकुरले बसन्त चौधरीले साहित्य कला क्षेत्रका लागि निरन्तर गर्दै आएको योगदानको मुक्तकण्ठले प्रशंसा गरेकी थिइन् ।

Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै बसन्त चौधरी फाउण्डेसनका उपाध्यक्ष मेघा चौधरीले अग्रजलाई आदर र नयाँलाई प्रोत्साहन गर्ने आफूहरुको परिवारको परम्परा रहेको उल्लेख गर्दै आगामी दिनमा साहित्य कला क्षेत्रको उन्नयनमा अनवरत लागिरहने प्रतिबद्धता जनाइन् ।

साहित्यकला मन्दिरका उपाध्यक्ष वरिष्ठ कलाकार हरिहर शर्माले आफूहरुले सम्मानका लागि मूर्धन्य व्यक्तिको छनौट गर्ने गरेको र यसले सम्मानकै गरिमा बढिरहेको उल्लेख गरे । समारोहमा डा. अस्मिता अर्यालद्वारा रचित पुस्तक ‘मैले बुझेको दुनियाँ’को लोकार्पणसमेत गरिएको थियो ।

प्रतिक्रिया