शुक्रबार, वैशाख ७, २०८१

स्थानीय तह निर्वाचन

स्थानीय निर्वाचन : कसरी हुँदै छ मतदान स्थलको सुरक्षा ?

चुनावमा मधेस प्रदेश सबैभन्दा चुनौतीपूर्ण

दया दुदराज २०७९ वैशाख २८ गते १७:४५

काठमाडौँ । आगामी शुक्रबार स्थानीय तह निर्वाचन हुने भएको छ । निर्वाचनको मिति नजिकिएसँगै निर्वाचन केन्द्रीत रहेर गरिने चुनावी प्रचार प्रसार तथा अभियानको अवधि सकिएको छ । आज राति १२ बजेदेखि मौन अवधि शुरु भएसँगै चुनावी माहोलको सुरक्षाा थप जटिल भएको छ ।

चुनावी माहोलमा उम्मेदवारले आफ्नो दलको बखानसँगै आफ्नो प्रतिस्पर्धी दलको बेइमानी कोट्याउने गर्दै आएको छ । देशका शीर्ष नेतादेखि स्थानीय तहका नेताहरूसमेत आफू मात्रै राम्रो काम गर्न सक्ने भन्दै आइरहेका थिए । योभन्दा मौन अवधि झनै कठिने हुने गर्दछ । यस समयमा चुनावी मत परिमाण आफ्नो पक्षमा पार्न जुनसुकै काम गर्न पछि पर्दैनन् । जसले गर्दा सुरक्षा चुनौती थप जटिल हुने गरेको पाइन्छ ।

यस्तो अवस्थामा निर्वाचनलाई शान्तिपूर्ण बनाउन मिलाउनु पर्ने पहिलो व्यवस्थापनको पक्ष हो –सुरक्षा । निर्वाचनलाई भयरहित, मुठभेड र झडपरहित बनाउन सुरक्षा निकायको महत्वपूर्ण भूमिका रहेको हुन्छ । सुरक्षा निकायभित्र नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, अनुसन्धान विभाग र म्यादी प्रहरी रहेका छन् । समग्रमा निर्वाचनको सुरक्षाका लागि यी सबै निकायलाई राज्यले परिचालनको नीति बनाएको छ ।

आसन्न निर्वाचनका लागि गृह मन्त्रालयले यी सुरक्षा निकायबाट दुई लाख ६७ हजार सुरक्षाकर्मी खटाएको छ । देशभरका २२ हजार पाँच सय मतदान केन्द्रमा उनीहरूलाई खटाइने मन्त्रालयले जनाएको छ । निर्वाचनमा भय तथा झडप रहित बनाएर शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्न एक लाख म्यादी प्रहरी, ७१ हजार नेपाली सेना, ६२ हजार नेपाल प्रहरी, ३२ हजार सशस्त्र प्रहरी र दुई हजार अनुसन्धान विभागका प्रहरी गरी दुई लाख ६७ हजार सुरक्षाकर्मी खटाइएको गृह मन्त्रालयले जनाएको छ ।

कसरी परिचालन हुन्छ ?

गृह मन्त्रालयले निर्वाचनका दृष्टिकोणबाट तीन वटा घेरा बनाएर मतदान केन्द्र तोकेको छ । ती तीन घेरामध्ये पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिने छ । पहिलो घेरा फ्रन्टलाइन हो । दोस्रो घेरामा सशस्त्र प्रहरीलाई परिचालन गर्ने र अन्तिम घेरामा नेपाली सेनालाई परिचालन गरिने गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अनुसन्धान विभागका सुरक्षाकर्मीलाई आवश्यकताअनुसार परिचालन गरिने छ । मतदान केन्द्रको अवस्था बुझेर अनुसन्धान विभागका सुरक्षाकर्मीले आफ्नो एक्सन लिने मन्त्रालयले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीले नेपाल प्रहरीले फ्रन्ट लाइनमा बसेर मतदाताको सुरक्षा गर्ने मेरोन्यूजलाई बताए । प्रत्येक मतदान केन्द्रमा एकदेखि १५ जनासम्म सुरक्षाकर्मी परिचालन गर्ने एसएसपी केसीले बताए ।

सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायव महानिरीक्षक(डीआईजी) विदुर खड्काका अनुसार निर्वाचनको दोस्रो घेरामा ३२ हजार सशस्त्र प्रहरी परिचालन गरिने छ । ‘प्रत्येक मतदान केन्द्रको दोस्रो घेरामा सशस्त्र प्रहरी बल खटिएर भयरहित र शान्तिपूर्ण बनाउने जिम्मेवारी सशस्त्र प्रहरीको हो, यो जिम्मेवारी हामी पूर्णतः पालना गर्ने र्छौं,’ डीआईजी खड्काले भने ।

त्यस्तै, निर्वाचनको मतपत्र ढुवानीको जिम्मेवारी पाएको नेपाली सेनाले मतदान केन्द्रको तेस्रो घेरामा रहेर मतदाता र मतको सुरक्षा गर्ने छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले ७१ हजार नेपाली सेना मदतान केन्द्रको तेस्रो घेरामा खटिने बताए ।

‘बोलाइएको ३० मिनेटभित्र ७७ वटै जिल्लाका सम्पूर्ण क्षेत्रमा पुग्न सक्ने गरी सेनालाई तयारी अवस्थामा राख्ने व्यवस्था मिलाएका छौँ,’ उनले भने, ‘म्यादी र नेपाल प्रहरीले नियन्त्रण गर्न नसकेको अवस्थामा व्याक सपोर्टका रूपमा नेपाली सेनालाई परिचालन गर्दै छौँ ।’

मतदान केन्द्रको तीन तह

मन्त्रालयले मतदान स्थललाई तीन तहमा विभाजन गरेको छ । सुरक्षाको दृष्टिकोणलाई हेर्दै मन्त्रालयले मतदान केन्द्रहरूलाई तीन तहमा विभाजन गरेको हो ।

मन्त्रालयका अनुसार सामान्य, सम्वेदनशील र अतिसम्वेदाशील गरी तीन तहमा वर्गीकरण गरिएको हो । मन्त्रालयका अनुसार देशभरका १० हजार ७५६ मतदान स्थलमध्ये दुई हजार ९४६ वटा अति सम्वेदनशील छन् । चार हजार ४२३ वटा सम्वेदनशील र तीन हजार ३७८ वटा सामान्य छन् ।

चुनौतीपूर्ण मधेस प्रदेश

मन्त्रालयका अनुसार आसन्न निर्वाचनमा सबैभन्दा धेरै अति सम्वेदनशील मतदान स्थल मधेस प्रदेशमा छ । जहाँ एक हजार ६५ वटा अति सम्वेदाशील मतदान स्थल छन् । आठ सय ८५ वटा सम्वेदनशील र दुई सय ५ वटा सामान्य मतदान स्थल छन् । मधेसपछि लुम्बिनीमा समेत सुरक्षाको चुनौती देखिन्छ । मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशभर तीन सय ४४ अति सम्वेदनशील, तीन सय ५५ सम्वेदनशील र तीन सय ३० वटा सामान्य मतदान स्थल छन् ।

लुम्बिनीपछि सुदूरपश्चिम प्रदेशमा समेत सुरक्षाको चुनौती छ । जहाँ तीन सय २७ अति सम्वेदनशील मतदान स्थल, चार सय १० सम्वेदनशील र तीन सय ५८ वटा सामान्य मतदान स्थल छन् । सुरक्षाको हिसाबले प्रदेश एक पनि चौथो प्रदेशमा पर्छ । उक्त प्रदेशमा तीन सय २१ अतिसम्वेदनशील, आठ सय ८५ सम्वेदनशील र सात सय पाँच वटा सामान्य मतदान स्थल रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश एकपछि बागमती प्रदेशमा सुरक्षाको चुनौती धेरै देखिन्छ । सो प्रदेशमा मतदान स्थलमध्ये तीन सय १० अतिसम्वेदनशील छन् । तीन सय ७१ सम्वेदनशील छन् भने आठ सय ११ वटा सामान्य मतदान स्थल छन् । बागमतीपछि कर्णली प्रदेशमा धेरै अतिसम्वेदनशील मतदान स्थल छन् । जहाँ दुई सय ९५४ वटा मतदान स्थल अतिसम्वेदशील छन् । चार सय ४ वटा सम्वेदनशील र दुई सय ८ वटा सामान्य मतदान स्थल रहेको मन्त्रालयले जनाएको छ । र सुरक्षाको चुनौतीले हेर्दा कम अतिसम्वेदनशील मतदान स्थल भएको प्रदेश गण्डकी प्रदेश हो ।

यो प्रदेशमा दुई सय ८५ वटा मात्रै सम्वेदनशील मतदान स्थल छन् । पाँच सय ४६ वटा सम्वेदनशील र चार सय २२ वटा सामान्य मतदान स्थल छन् । यी सामान्य, सम्वेदनशील र अतिसम्वेदनशील गरी वर्गीकरण गरिएको मतदान स्थलमा आवश्यक्ताअनुसार सुरक्षाकर्मी परिचालन गरिने गृह मन्त्रालयले जनाएको छ ।

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया