शनिबार, वैशाख ८, २०८१

स्वस्तिकाको ट्वाइलेटमा च्यातिएको प्रेम पत्र

नरेन्द्र रौले २०७९ वैशाख २४ गते १८:३८

काठमाडौँ । सिरियलको अभिनयबाट चलचित्रमा प्रवेश गरेकी कलाकार हुन्, स्वस्तिका लामिछाने । उनले अभिनय रहेको चलचित्र ‘लक्का जवान’ अहिले हलहरूमा प्रदर्शन भइरहेको छ ।

यसअघि शत्रु गते, छक्का पञ्जा, सुनपानी, वडा नम्बर ६ जस्ता चलचित्रमा उनले अभिनय गरिसकेकी छन् । चर्चित टिभी सिरियल जिरे खुर्सानी, तीतो सत्यमा समेत उनले अभिनय गरिसकेकी छन् ।

स्कुलको पढाईसँगै स्वस्तिका अतिरिक्त क्रियाकलापमा रूची राख्थिन् । खासमा उनी गायिका बन्न चाहिन्थन् । स्कुलमा आयोजना हुने कार्यक्रममा उनले गीत गाएर खुसी बनाएपछि शिक्षकले नम्बर दिन्थे । साहित्यमा उनको विशेष रूची थियो । कक्षामा पढाई भइरहँदा उनी कविता कोरिरहेकी हुन्थिन् । कविता लेखेरै उनले डायरी भरिन् । तर, छपाउने रहर उनलाई पलाएन ।

विस्तारै स्टेज प्रोगाममा होस्ट गर्न थालिन्, उनी । एसएलसीपछि उद्घोषण तालिम लिएकी स्वस्तिकाले स्टेज कार्यक्रम सञ्चालन गर्न थालिन् । थुप्रै स्टेज कार्यक्रम सञ्चालन गरेपछि उनमा आत्मविश्वास थपिदै गयो ।

पहिलो अभिनय

स्वस्तिकाले ०६९ मा पहिलोपटक जिरे खुर्सानीमा अभिनय गरिन् । नाताले काका पर्ने शिवहरि वैरागी नेपालले उनलाई अवसर दिए । एउटा स्टेज कार्यक्रममा स्वस्तिकाले कार्यक्रम चलाएको देखेपछि शिवहरिले उनलाई अवसर दिएका हुन् ।

कलाकार राजाराम पौडेलको जोडी भएर अभिनय गरेकी स्वस्तिकाले जिरे खुर्सानीमा १२ वटा इपिसोडमा अभिनय गरिन् । त्यसबेला १५ हजार रुपैयाँ पारिश्रमिक पाएकी थिइन्, उनले । नयाँ कलाकार भए पनि राम्रो पारिश्रमिक पाउनु उनका लागि खुसीको कुरा थियो । आफ्नो नाम र पहिचान बनाउन दौडमा लागेकी उनी पैसाभन्दा अवसर पाउँदा खुसी बनिन् ।

ट्वाइलेटमा च्यातिएको प्रेम पत्र

स्वस्तिकाले १० कक्षा पढ्ने बेला प्रेम पत्र पाइन् । त्यो उनको जीवनको पहिलो प्रेम पत्र थियो । त्यो बेला कक्षा १० को टेष्ट परीक्षाको अन्तिम दिन थियो । अर्को स्कुलमा पढ्ने एक जना केटाले प्रेम पत्र दियो । त्यो प्रेम पत्र स्वस्तिकाले ट्वाइलेटमा गएर पढिन् । उनलाई मन पराउने केटाले पत्रमा लेखेको थियो,

प्रिय स्वस्तिका,

शुरुमा परीक्षामा डिष्टर्ब नहोस् भनेर मैले आज अन्तिम दिन यो पत्र तिमीलाई लेख्दै छु । तिमीलाई देख्ने बित्तिकै मैले मन पराएको थिएँ । मलाई तिमी एकदमै मन पर्छ । राम्रो लाग्छ । मैले पत्रमा नम्बर छाडेको छु । तिमीलाई समय मिलेको बेला हामी फोनमा कुराकानी गरौँला ।

उही,
तिमीलाई मन पराउने मान्छे

ट्वाइलेटमा त्यो प्रेम पत्र पढ्ने बेला स्वस्तिका एक्लै थिइनन् । उनको एक जना मिल्ने साथी सँगै थिइन् । कुन्नी, किन हो, उनकी साथीले त्यो पत्र च्यातिदिइन् । स्वस्तिकालाई प्रेम पत्र लेख्ने त्यो केटाप्रति कुनै फिलिङ्स थिएन । प्रेमप्रति मतलबै थिएन । आफूसँग मोबाइल पनि थिएन । साँझ घर फर्केपछि आफ्नी बहिनीलाई त्योबारे भनिन् । ‘म इन्नोसेन्ट टाइपकी थिएँ,’ स्वस्तिका सुनाइन्, ‘लभ के हो, ब्वाइफ्रेन्ड भनेको के हो ? थाहै थिएन ।’

स्वस्तिकासँग स्कुल पढ्ने बेलाका अरु केही सम्झना छन् । ८ कक्षामा पढ्ने बेला उनका एक जना मिल्ने साथी थिए, राहुल । स्वस्तिका र उनको नाम जोडेर साथीले जिस्काउँथे । रक्षा बन्धनको दिन थियो । उनले राहुललाई राखि बाँधिदिइन् । त्यसपछि सबैजना चुप लागे । उनी पढाईमै केन्द्रीत भइन् ।

अधुरै रह्यो सपना

स्वस्तिका अग्ली थिइन् । कतिपय शिक्षकले त उनलाई मिस नेपाल भनेर बोलाउँथे । उनलाई एयरहोस्टेस बन्ने रहर थियो । तर, त्यसका लागि कुनै पहल गरिनन् । गायिका बन्ने रहर पनि नभएको होइन । ती दुवै रहर मनमै रहे । बरु एसएलसीपछि कालिमाटीस्थित दिपश्री क्रियटिभ मिडियामा ६ महिना तालिम लिएर उनी स्टेज प्रोगाम चलाउन लागिन् ।

रेडियो उनी खुब सुन्थिन् । उकाली, ओ¥हाली, रहस्य, साथीसँग मनका कुरा जस्ता रेडियो कार्यक्रम उनले नियमित सुन्थिन् । उनले स्वयम्भूमा निःशुल्क स्वास्थ्य शिविरमा भएको कार्यक्रमको उद्घोषण गरिन् । यो उनले चलाएको पहिलो स्टेज प्रोगाम थियो । सामाजिक गतिविधिमा उनी बढी सक्रिय हुन्थिन् । फ्रेण्डसिप ग्रुप अफ टोखाले आयोजना गरेको कार्यक्रममा उद्घोषण गरेबापत चार हजार रुपैयाँ पारिश्रमिक पाइन् ।

क्यामेराको अगाडि डर लाग्यो

पहिलोपटक सिरियलमा अभिनय गर्दा स्वस्तिकालाई डर लागेको थियो । ‘क्यामेरा फेस गर्न सक्दिनथेँ,’ उनले त्यो बेलाको स्मरण गर्दै भनिन्, ‘एकदमै डर लाग्थ्यो, गाली पनि खाइयो कति पटक, विस्तारै बानी पर्दै गयो ।’

१२ वटा इपिसोडमा खेलेपछि बल्ल आत्मविश्वास पलायो । जिरे खुर्सानीपछि उनले तितो सत्य टिभी सिरियलमा अभिनय गरिन् । कलाकार पूर्ण थापाको जोडी भएर उनले यसमा ४ भागमा अभिनय गरेपछि सिरियल नै बन्द भयो ।

त्यसपछि ब्रेकफेल सिरियलमा शिवहरि पौडेलकी कान्छी श्रीमतीका रुपमा अभिनय गरिन् । २९ देखि ९० भागसम्म ब्रेकफेलमा अभिनय गरेपछि उनले राम्रो प्रतिक्रिया पाइन् । दर्शकले रुचाए । सिरियलमा उनले अवसर निरन्तर पाइरहिन् । खुरापाती सिरियलमा झण्डै ६÷७ भागमा अभिनय गरिन् । सान्नानी सिरियलमा ५ भागमा अभिनय गरिन् । सुटिङ भएर पनि अन एयर हुन बाँकी छ ।

चलचित्रमा अभिनय गर्दा…

पहिलोपटक स्वस्तिकाले सुनपानी चलचित्रमा अभिनय गरिन् । उनलाई एकदमै रमाइलो अनुभव भयो । दर्शकको प्रतिक्रिया पनि राम्रो आयो । चलचित्रमा खेलेबापत २५ हजार रुपैयाँ पारिश्रमिक पाइन् । यसपछि वडा नम्बर ६, छक्का पञ्जा, शत्रु गते, ज्याकपटमा उनले अभिनय गरिन् ।

भर्खरै उनले अभिनय गरेको लक्का जवान चलचित्र रिलिज भएको छ । उनलाई कलाकार भनेर चिनाउन मन लाग्छ । समाजसेवामा उनको रूची छ । भविष्यमा उनलाई सामाजिक सेवा, चलचित्रमै समर्पित हुन मन छ । आफै प्रोड्युसर भएर चलचित्र बनाउन रहर छ ।

रिलिज नभएको चलचित्रले जुराइदियो विवाह

स्वस्तिकाले अभिनय गरेको चलचित्र अविजालो रिलिज भएन । तर, उनको जीवनले भने नयाँ मोड लियो । यसै चलचित्रका कारण उनले जीवन साथी भेटाइन् । खासमा उनका भिनाजु चण्डीप्रसाद अर्याल यस चलचित्रका प्रोड्युसर थिए । सुनपानी चलचित्र हेरेपछि अविजालोमा उनले अवसर दिएका थिए ।

अविजालो कृषिसँग सम्बन्धित चलचित्र थियो । यसको अर्थ हुन्थ्यो, विषादी झार । अर्गानिक खेती गर्नु पर्छ भन्ने सन्देश दिन खोजेको चलचित्र रिलिज भएन । यसै चलचित्रमा भिनाजुमार्फत उनको चिनजान भयो, ईश्वर पौडेलसँग । जो अमेरिका बस्थे । यही चिनजान नै विवाहमा परिणत भयो ।

प्रिय कलाकार

स्वस्तिकाका प्रिय कलाकार हुन्, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य । नयाँ पुस्तामा दीपा श्री निरौला ।

उनी लोक दोहोरीकी फ्यान हुन् । लोक दोहोरीको जगेर्ना गर्नुपर्छ भन्ने उनको मान्यता छ । गायक पुरुषोत्तम न्यौपाने, पशुपति शर्मा, प्रकाश सपुत, शान्ति श्री परियार, रचना रिमाल उनका प्रिय कलाकार हुन् ।

प्रतिक्रिया