बिहीबार, चैत १५, २०८०

पचरौता मेयरका उम्मेदवार भन्छन् : एमबीबीएस पढ्नेलाई १० लाख अनुदान दिन्छु

मेरोन्यूज २०७९ वैशाख २३ गते १९:३६

काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचन आउन अब केही दिन मात्रै बाँकी छ । निर्वाचनका लागि देशभरबाट एक लाख ४५ हजार ९० जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । ती उम्मेदवारहरू यतिबेला जनताको घर दैलोमा पुगेका छन् । आफ्नो योजना सुनाएका छन् ।

यसै चुनावको सेरोफेरोमा बाराको पचरौता नगरपालिकामा समेत रौनक बढेको छ । नगरपालिकामा विभिन्न दलका नेताहरूले उम्मेदवारी दिएका छन् । केही स्वतन्त्र उम्मेदवारले समेत उम्मेदवारी दर्ता गराएका छन् ।

मेयर पदका लागि उम्मेदवारी दर्ता गराउनेमध्येका एक हुन्, जलन्दर सिंह । उनले नेकपा एमालेबाट नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका छन् । चुनावी अभियानमा रहेका सिंहसँग मेरो न्यूजकर्मी दया दुदराजले गरेको कुराकानी ः

मेयर पदमा तपाईंको उम्मेदवारी किन ?

बारा जिल्लाको पचरौता नगरपालिका भारतको विहार राज्यसँग सिमाना जोडिएको छ । नगरपालिकामा खासै विकास देखिदैन । पक्की सडक बन्न सकेको छैन । सबै वडाहरूमा सडक पुगेको छैन । यो सबै खराब जनप्रतिनिधिका कारणले भएको हो ।

Advertisement

यसअघि जितेका उम्मेदवारले राम्रो काम गर्न सकेनन् । अब मेरो गाउँ मै बनाउँछु, शिक्षित पचरौटा स्वस्थ पचरौता भन्ने मूल नाराका साथ मेयर पदमा मैले उम्मेदवारी दिएको हुँ ।

तपाईंको चाहिँ विकासका एजेण्डाहरू के के हुन् ?

मेरा सबै एजेण्डाहरू सामान्य छन् । तर, जति छन्, सबै महत्वपूर्ण छ । जसले मेरो जित पक्का छ । मेरो विकासका एजेण्डा भनेको नगरपालकालाई भ्रष्ट्राचार मुक्त र कर मुक्त बनाउने हो । सरकारी करबाहेक अन्य कुनै नगरपालिकाको कर तिर्न नपर्ने व्यवस्था नगरपालिकामा बनाउँछु । मानव जीवनको सबैभन्दा महत्वपूर्ण हिस्सा भनेकै स्वास्थ्य हो । त्यसैले मेरो प्राथमिकता स्वास्थ्यप्रति नै हुने छ । त्यसका अलावा शिक्षा, रोजगारी, व्यवसाय र भौतिक संरचनाको निमार्णमा हुने छ ।

तपाईंले आफ्नो प्रतिबद्धतामा के के समावेश गर्नु भएको छ ?

मैले अघि भनिसकेँ । मेरो पहिलो प्राथमिकता स्वस्थ्यमा हुनेछ । जसका लागि मैले आफ्नो प्रतिबद्धतामा धेरै कुराहरू समावेश गरेको छु । पहिलो त नगरपालिकामा एउटा राम्रो राष्ट्रिय स्तरको अस्पताल बनाउने छु । उक्त अस्पतालमा विभिन्न आधुनिक उपकरणको प्रयोग गरेर सबै खाले उपचार हुने व्यवस्था गर्ने छु ।

त्यस्तै नगरबासीका सबै परिवारहरूको स्वास्थ्य बीमा गर्ने, वृद्धवृद्धाको भत्तासँगै थप एक हजार रुपैयाँ स्वास्थ्य उपचारका लागि प्रदान गर्ने छु ।

शिक्षामा मैले गरेको प्रतिबद्धता धेरै छन् । सर्वप्रथम त नगरपालिकामा एउटा बहुमुखी क्याम्पस बनाउनु छ । किनभने यहाँ १२ कक्षासम्म मात्रै पढ्ने विद्यालय छन् । मैले जितेको खण्डमा विद्यालयको विकासदेखि विद्यालयको भौतिक संरचना, उचित लाइबेरी, विद्यालयमा सिसिटिभिलगायतको व्यवस्था गर्ने छु । विद्यार्थीको स्तर बढाउन तोकिएको समयभन्दा बढी पढाउने व्यवस्था मिलाउने छु । शिक्षकहरुको वर्किङ आवर बढाएर र नगर शिक्षकहरुलाई राखेर यो कार्यलाई निरन्तरता दिन सकिन्छ ।

नगरपालिकाका विद्यार्थीले न्युनतम शूल्कमा अध्ययन गर्न पाउने छन् । प्राविधिक शिक्षाबाट उत्तीर्ण भएका विद्यार्थीलाई नगरपालिकाले हेर्ने छ । यस्तै एमबीबीएस पढ्न चाहने विद्यार्थीलाई १० लाख अनुदान दिने र त्योमध्ये महिला, दलित र मुस्लिम समुदायका छन् भने उनीहरूलाई थप पाँच लाखसम्म अनुदान दिने मेरो प्रतिबद्धता छ ।

तपाईंले जित्नु भए नगरबासीले के फरक पाउनु हुन्छ ?

शिक्षा र स्वास्थ्यसँगै कृषि, व्यवसाय, उद्योग कल कारखाना जस्तामा समेत फरक पाउनु हुन्छ । नगरपालिका कृषिका लागि राम्रो भूमि हो । जहाँ अनेकन थरिका कृषिजन्य उत्पादन प्रशस्त मात्रामा पाउन सकिन्छ । त्यस कारण यस्तो उर्वर भूमिलाई उर्वर बनाइराख्न कृषिमा धेरै कार्यहरू गर्नै प्रतिबद्धता मैले जाहेर गरेको छु ।

कृषिका लागि सिँचाईको व्यवस्था गर्ने, उत्पादनका लागि अनुदान प्रदान गर्ने, पशु पालन तथा माछा पालनमा अनुदान दिनेलगायत कृषिसँग काम गर्ने मेरो प्रतिबद्धता छ । यस्तै, नगरपालिकामा नगरबस सञ्चालन गर्ने र सञ्चालित बसमा महिला, वृद्धवृद्धा र बालबालिकालाई निशूल्कको व्यवस्था गर्ने । प्रत्येक वडाका घरघरमा सुरक्षा भत्ता पुर्याउने । धार्मिक स्थललाई व्यवस्थित गर्ने मेरो प्रतिबद्धता छ ।

तपाईंका अगाडि अन्य दल पनि यस्तै एजेण्डा बोकेर उठेका छन्, जित्छु जस्तो लाग्छ ?

यो पालिकाको निर्वाचन हामी नै जित्छौँ । हामीले घर दैलो कार्यक्रम र कोणसभा गरेका छौँ । घर दैलो र कोणसभालाई हेर्ने हो भने हाम्रो जित पक्का छ । नगरपालिकाभर ९ वटा वडा छन् । जसबाट एमालेका ४७ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । ती सबै ४७ जनाले जित्ने सम्भावना प्रवल छ ।

तपाईं पूर्व माओवादीको मान्छे एमालेका पुराना कार्यकर्ताले भोट हाल्लान त ?

म पूर्व माओवादी हुँ । तर, पार्टी एकीकरणपछि एमालेमा नै छु । एमालेका अध्यक्ष केपी ओली राष्ट्रनेता हुन् । उहाँले गरेको कार्यप्रति कदर गर्दै एमालेमा बस्ने निर्णय गरेको हुँ । कुनै टिकटको लोभमा यता बसेको होइन । रह्यो कुरो एमालेले भोट हाल्छन् कि हाल्दैनन् भन्ने । यो कुरामा म निश्चिन्त छु । मलाई एमालेका साथीहरूले भोट हाल्नु हुन्छ । उहाँहरुले मेरो एजेण्डालाई मन पराउनु भएको छ । मलाई नै भोट हाल्नु हुन्छ ।

प्रतिक्रिया