आइतबार, असार ३, २०८१

मत गणना केन्द्रमा सीसी क्यामरा राख्न निर्देशन

मेरोन्यूज २०७९ वैशाख १६ गते १४:४२

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा सबै गत गणना स्थलमा अनिवार्य रुपमा सीसी क्यामरा राख्न निर्देशन दिएको छ ।

Advertisement

मत गणना कार्यलाई पारदर्शी र सुरक्षित राख्न र विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागि उपयोगी हुने भन्दै सीसी क्यामेरा राख्न निर्देशन दिएको हो । यसका लागि आयोगले नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई परिपत्र .गरिसकेको छ ।

आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले कुनै पालिकामा उक्त क्यामरा राख्नैपर्ने नपर्ने भनेर सोधनी भएको उल्लेख गर्दै आयोगको निर्णय कार्यान्वयन गर्न आनाकानी गरिए मान्य नहुने र राख्न नचाहनुको अर्थ त्यहाँ कुनै गडबडी गर्न लागिएको त होइन ? भन्ने प्रश्न उत्पन्न हुने बताए ।

गत निर्वाचनमा चितवनको भरतपुर महानगर र केही पालिकामा मत गणनामा विवाद हुँदा केही वडामा पुनःमतदानसमेत गर्नु परेको थियो । निर्वाचनका लागि कूल १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र निर्धारण गरिएको छ ।

यसैगरी यसपटकको निर्वाचनमा फोटोसहितको नामावलीलाई लाहा छाप लगाएर मात्रै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई पठाइएको छ ।

आयोगले रंगिन र श्यामवेत दुवै रंगमा प्रिन्ट गरी फोटोसहितको मतदाता नामावली दल सम्बन्धित पालिकागत आधारमा पठाएको आयोगका प्रवक्ता एवं सहसचिव पौडेलले बताए ।

निर्वाचनका लागि कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका छन् । यसैबीच आयोगले प्रदेश निर्वाचन अधिकारी र जिल्ला निर्वाचन अधिकारीसँग आज भर्चुअल माध्यमबाट बैठक गरी निर्वाचन सामग्री र मतपत्रको ढुवानी र समग्र व्यवस्थापकीय तयारीबारे जानकारी लिएको छ ।

प्रतिक्रिया