सोमबार, जेठ ७, २०८१

स्थानीय तह निर्वाचन

भरतपुरमा विजयले रेणुलाई रोक्न सक्लान् ?

दया दुदराज २०७९ वैशाख १७ गते ६:३०

काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनको सरगर्मी उत्कर्षमा छ । निर्वाचन मिति नजिकिएसँगै चुनाव जसरी पनि जित्ने रणनीतिमा राजनीतिक दलहरू निर्वाचन रणनीति बनाउन व्यस्त छन् ।

Advertisement

निर्वाचनमा सबैभन्दा बढी आकर्षण र चासोको केन्द्र चितवनको भरतपुर महानगरपालिका बनेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)की छोरी रेणु दाहाल पुन: मेयरमा दोहोरिन उम्मेदवारी दिएसँगै त्यहाँको चुनावी माहोल उत्कर्षमा पुगेको हो ।

खासमा प्रचण्ड र रेणुप्रतिको एमालेको तीव्र आक्रोश, कांग्रेसको स्थानीय स्तरमा चुलिएको असन्तुष्टि र बागी उम्मेदवारले भरतपुरको निर्वाचन रोचक हुने भएको हो । एमालेलाई माओवादी कमजोर बनाउन भरतपुरकी मेयर उम्मेदवार रेणुलाई हराउनु पर्ने देखिएको छ । कांग्रेसका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता गराउन कांग्रेसका गृहमन्त्री तथा नेता बालकृष्ण खाँण, कांग्रेसकै नेताहरू फरमुल्लाह मन्सुर र उमेश श्रेष्ठलगायतको प्रयास सफल हुन सकेन ।

यसले भरतपुरको निर्वाचन परिणाम थप रोचक बनाएको छ । यहाँको निर्वाचन कस्तो हुन्छ भन्ने अनुमान गर्ने स्थिति बनेको छैन । यद्यपि, माओवादी केन्द्रकी रेणु र एमालेका उम्मेदवार विजय सुवेदीबीच मेयरका लागि प्रतिस्पर्धा हुने देखिएको छ ।

मेयरमा ३० जनाको उम्मेदवारी

मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका डेस्क अधिकृत पुजन थपलियाका अनुसार भरतपुर महानगरको मेयरमा एमालेबाट विजय सुवेदी, नेकपा माओवादी केन्द्रबाट रेणु दाहालले उम्मेदवारी दर्ता गराएका छन् । दाहाल सत्ता गठबन्ध दलको साझा उम्मेदवार हुन् ।

यस्तै, लोसपाबाट गणेश गिरी, विवेकशील साझाबाट प्रवीण काफ्ले, जनमोर्चाबाट भक्तिराम शर्मा, नेमकिपाबाट हरिप्रसाद दुवाल, नेकपा मालेबाट सूर्यप्रसाद रेग्मी, राष्ट्रिय जनमुक्ति पार्टीबाट ज्ञानबहादुर गुरुङले पनि मेयरमा उम्मेदवारी दिएका छन् । मंगोल नेशनल अर्गनाइजेशनबाट टकबहादुर पुन मगर, राष्ट्रिय नागरिक पार्टीबाट पूर्णबहादुर गुरुङ, जनमत पार्टीबाट सञ्जय कुमार ठाकुर, मौलिक जरोकिलो पार्टीबाट विनोद कुमार गिरी, राप्रपा नेपालबाट लक्ष्मण अधिकारी, उन्नत लोकतन्त्र पार्टीबाट दीपेन्द्र बास्तोला, नेकपा माओवादी समाजवादीबाट सुबाेध परियार, सामाजिक एकता पार्टीबाट खेम प्रसाईंले मेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, मेयरमा १४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । रुद्रप्रसाद सापकोटा, उद्धव अर्याल, रामकृष्ण वर्मा, सुमन अधिकारी, योगलाल श्रेष्ठ, जगन्नाथ पौडेल, कलप्रसाद कँडेल, दुर्गाप्रसाद शर्मा, हरिशरण श्रेष्ठ, रमेश भण्डारी, मिलन अधिकारी, मनित पाण्डे, यमकान्त शर्मा कँडेल र हरिशचन्द्र घिमिरेले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

गठबन्धन भर्सेज गठबन्धन

गत स्थानीय तहमा चितवनको चुनाव निकै रस्साकस्सी र घम्साघम्सीमा सकिएको थियो । निर्वाचनको अन्तिम समयमा मतपत्र च्यातिएपछि फेरि एउटा वडामा चुनाव दोहोराएर गर्नु पर्ने परिस्थिति बनेको थियो । मतभार पनि रेणु र त्यसबेला एमाले उम्मेदवार बनेका देवी ज्ञवालीको निक्कै कम अन्तर थियो ।

त्यसबेला रेणुलाई कांग्रेसको साथ थियो । माओवादीको संगठनात्मक आधार कमजोर रहेका बेला बलियो जनाधार र संगठनात्मक पकड रहेको कांग्रेसको मत पाएर रेणुले चुनाव जितेकी थिइन् ।

अहिले पनि रेणु कांग्रेससहितको सत्ता गठबन्धनको साझा उम्मेदवार बनेकी छन् । उनी जसरी गठबन्धनको उम्मेदवार बनिन्, ठिक त्यसैगरी एमालेले पनि विजय पौडेललाई इतर समूह र पार्टी मिलाएर अर्काे धुव्रको (गठबन्धन)को मेयरका रुपमा अगाडि सारिएको छ । अर्थात एमालेले कमल थापा नेतृत्वको राप्रपा नेपाल, एकनाथ ढकाल नेतृत्वको नेपाल परिवार दल र चित्रबहादुर केसीसँग विद्रोह गरेको राष्ट्रिय जनमोर्चा केन्द्रीय संयोजन समितिसँग संस्थागत तालमेल गरेको छ ।

त्यस अतिरिक्त चितवनको भरतपुर र माडी नगरपालिकामा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग पनि एमालेले चुनावी तालमेल गरेको छ । यसले गठबन्धन भर्सेज गठबन्धनको चुनावी प्रतिस्पर्धा यसपटक चितवनको भरतपुर महानगरमा हुँदै छ ।

एमालेले खासगरी योपटक चुनाव जित्न कांग्रेसको गढ शारदा नगरबाट राजनीति गरेका, इमान्दार छवि भएका प्रदेश सांसद विजय सुवेदीलाई प्रदेशबाट राजीनामा गराउन लगाई चितवनको मेयरमा उम्मेदवार बनाएको छ ।

एमालेका जिल्ला इञ्चार्ज तथा केन्द्रीय सदस्य देवी ज्ञवालीका अनुसार उम्मेदवारी छनौट नै एमालेको सरप्राइज थियो । पार्टीभित्र कुनै अन्तरविरोध र असन्तुष्टि नराखी विजयलाई एकमतका साथ उम्मेदवार बनाएको जिकिर ज्ञवालीको छ । यसले पार्टीभित्र कुनै अन्तरघातको सम्भावना नरहेको उनको दाबी छ ।

दोस्रो एमालेले यसपटक भरतपुरमा राप्रपासँग तालमेल गरेको छ । गत चुनावमा राप्रपाका मेयर उम्मेदवारले ७ हजार मत ल्याएका थिए । राप्रपाका प्रभावशाली नेता विक्रम पाण्डेको क्षेत्र भएकाले अहिले राप्रपाको मत १० हजार हाराहारीको रहेको रिपोर्ट एमालेलाई दिएको छ ।

त्यसले आफ्ना उम्मेदवारलाई निक्कै ढाडस दिने एमालेको बुझाइ देखिन्छ । गत स्थानीय तहको चुनावमा माओवादीकी रेणुलाई उम्मेदवार बनाउँदा असन्तुष्ट कांग्रेस नेताहरूले कांग्रेसको चुनाव चिन्हमा झण्डै ७ हजार मत दिएका थिए । त्यो असन्तुष्टि अहिले झन कांग्रेसको स्थानीय संगठनमा चुलिएको छ ।

यसपटक निर्वाचन आयोगले महानगरमा उम्मेदवारहरूका मात्र चुनाव चिन्ह राखेर मतपत्रको तयारी गरेका कारण असन्तुष्टहरुको मत रेणुतिर भन्दा आफ्नो पार्टीतिर आर्कर्षित गर्ने योजनामा एमाले देखिन्छ । त्यसमाथि असन्तुष्ट कांग्रेसीहरूको तर्फबाट पूर्व सांसद जगन्नाथ पौडेलले नै उम्मेदवारी दर्ता गरेकाले कांग्रेसको धेरै मत माओवादीको रेणुलाई नजाओस भन्नेमा एमालेले रणनीति बनाएको देखिन्छ । यसो गर्दा उसले आफ्नो उम्मेदवारलाई सजिलो पर्ने विश्वास गरेको देखिन्छ ।

यस अतिरिक्त माओवादीकै प्रभावशाली नेता रहेका तर अहिले एमालेका उपाध्यक्ष रहेका रामबहादुर थापा (बादल)को गृह जिल्ला पनि चितवन हो । उनको प्रभावले माओवादीको कम्तीमा ३० प्रतिशत नेता कार्यकर्ता चितवनबाट एमालेतिर आएको एमालेको भनाइ छ । जसको हिसाब लेखाजोखा गर्दा र संगठनको महानगरभित्रको कमिटीको आधारले रेणुलाई योपटक रोक्न सक्ने एमालेको ठम्याइ छ ।

तर जसरी एमालेले रेणुलाई रोक्न पहिलेभन्दा सजिलो रहेको परिवेश आकलन गरिरहेको छ । उत्तिकै उसलाई पनि चुनौती थपिएको विश्लेषण चितवनमा गरिएको छ ।

देवी ज्ञवालीले रेणुसँग चुनाव लड्दै गर्दा जस्तो संगठनात्मक कमजोर आधारमा माओवादी छैन । रेणुले पाँच वर्षमा जति महानगरको मेयरका रुपमा काम गरिन् । त्यक्ति नै उनले आफ्नो पक्षमा जनमत बटुलेकी छन् । कांग्रेस, एमालेसँग एक्लै प्रतिस्पर्धा गर्दा बराबरी पोजिसनमा उभिने रेणुले महानगरमा बढाएको माओवादीको भनाइ छ । महानगरभित्र मात्रै १० हजार पार्टी सदस्य निर्माण भएको माओवादीको दाबी छ ।

पार्टी छोड्दा बादल समूहले आंशिक मात्र प्रभाव पारेको र त्यसको क्षतिपूर्ति पछिल्लो चरण संगठनात्मक विस्तार अभियानले पूरा गरिएको माओवादीको दाबी छ । विगत चुनावमा राप्रपाबाट मेयर उठेका बद्री तिमल्सिना अहिले माओवादीमा छन् । उनलाई माओवादीले पार्टी प्रवेश गराएर अहिले चितवनको सुकुम्बासी तथा भूमिसुधार समितिको जिल्ला संयोजक बनाएको छ । उनको थोरबहुत प्रभावको मत माओवादीमा केन्द्रीत भएको माओवादीले बताउँदै आएको छ ।

असन्तुष्ट कांग्रेसले अन्तिमसम्म बागीले नजित्ने तर एमालेले जित्ने अवस्था आउँदा एमालेभन्दा माओवादी ठिक भनेर प्राय: सबै जसोको मत रेणुलाई आउने आकलन माओवादीको छ । एमालेबाट विभाजित भएको माधव नेपालको नेकपा एकीकृत समाजवादीले पनि एमालेको संगठनात्मक आधार भत्काएको र मत नेकपा माओवादी केन्द्रले पाउने माओवादीको बुझाइ छ ।

पाँच दलीय गठबन्धनले रेणुको पक्षमा उभिदा असन्तुष्ट रहेका कांग्रेसका नेताहरू कालान्तरमा मतदानको दिनसम्म आइपुग्दा माओवादी उम्मेदवारको पक्षमा आउँछन् भन्ने आत्म विश्वासमा माओवादीमा देखिन्छ ।

यसरी हेर्दा यसपटकको चितवनको चुनाव गठबन्धन भर्सेज गठबन्धनको हुने र प्रतिस्पर्धा रोचक हुने सम्भावना देखिएको छ ।

फाइदा कसलाई ?

२०७४ को स्थानीय तहको निर्वाचनमा रेणु भरतपुरको मेयरमा निर्वाचित भइन् । उनले एमालेका ज्ञवालीलाई दुई सय ३ मत अन्तरले मात्रै पराजीत गरिन् । दाहालले ४३ हजार १२७ मत ल्याउँदा ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरेका थिए ।

उक्त निर्वाचनमा निर्वाचित भएकी दाहाललाई यसपटकको निर्वाचनमा केही हदसम्म गाह्रो हुने देखिन्छ । उनलाई गाह्रो बनाउने कारण हो- सत्ता गठबन्धन । ०७४ को निर्वाचनमा कांग्रेससँगको गठबन्धनमा उनले राम्रो मत ल्याएकी थिइन् ।

उनी निर्वाचित भएसँगै भरतपुरमा विकास भएको स्थानीयहरुको भनाइ छ । उनले आफ्नो कार्यकालमा उदाहरणीय कार्य गरेर जनताको मन जित्न सफल भएकी थिइन् । त्यसकारण यसपटकको निर्वाचनमा पनि उनी नै निर्वाचित हुने सम्भावना रहेको छ ।

स्थानीयको मोह र उनले गरेको कामको चर्चालाई हेर्दा योपटक स्थानीय तहको निर्वाचनमा उनी बलियो प्रतिस्पर्धीका रुपमा देखिएकी छन् । तर, कांग्रेसका प’राना जिल्ला नेता कृष्णलाल सापकोटाको प्रस्तावमा पूर्व सांसद जगन्नाथ पौडेलले दिएको बागी उम्मेदवारी रेणुका लागि चितवनमा गलपासो त बन्दैन ? यसरी पनि चर्चा हुने गरेको छ ।

तर, पौडेलको उम्मेदवारीले उनलाईलाई एकातिर घाटा पुर्‍याउन सक्छ । अर्काेतिर फाइदा पनि गर्न सक्ने विश्लेषण छ । घाटा यसकारण कि रेणुले गठबन्धन गरेका कांग्रेसको सतप्रतिशत मतको अपेक्षा गर्ने हुन्छ । तर, बागी उम्मेदवारीदेखि असन्तुष्ट कांग्रेसहरूको कारण उनले पूरा कांग्रेसको मत पाउने सम्भावना क्षीण बनेको छ ।

एमालेले आफ्नो मत एक ढिक्का बनाउने, राप्रपाको मत साथ लिने र अन्य असन्तुष्टिका मत आकर्षित गर्ने नीति बनाउँदा रेणु दबाबमा पर्न सक्छिन् । तर विगतमा जस्तै असन्तुष्टी भई रुखमा हालिएको बदर मत र असन्तुष्टिका कारण एमालेमा पनि गएको मत यसपटक बागी उम्मेदवार पौडेलले लिन सक्छन् ।

यस्तो हुँदा माओवादीसँग तालमेल गरेकोमा असन्तुष्ट मत एमालेमा नजानेमा माओवादी ढुक्क देखिएको छ । कांग्रेसको संस्थागत भोट, अन्य गठबन्धनमा आबद्ध दलहरूको मत र राप्रपाका पहिलेका उम्मेदवारमार्फत माओवादीमा आर्कर्षित गर्ने मतले भरतपुरमा एमालेका उम्मेदवारसँगको प्रतिस्पर्धामा जित निकाल्न सक्ने रेणुमा आत्मविश्वास देखिएको छ ।

०००

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया