आइतबार, जेठ ६, २०८१

खोटाङका चार स्थानीय तहमा आधिकारिक उम्मेदवारविरुद्ध बागी 

मेरोन्यूज २०७९ वैशाख १४ गते १२:५१

खोटाङ । खोटाङका विभिन्न स्थानीय तहमा आफ्नै पार्टीको आधिकारिक उम्मेद्‌वारविरुद्ध बागी उम्मेद्वारी परेको छ । ऐंसेलुखर्क गाउँपालिकामा गठबन्धनका उम्मेद्वारविरुद्ध कांग्रेस नेताको स्वतन्त्र उम्मेद्वारी दर्ता भएको छ ।

Advertisement

गठबन्धन दलकोतर्फबाट गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका श्रीबहादुर राईलाई उम्मेद्वार बनाइएको अवस्थामा कांग्रेस ऐंसेलुखर्क गाउँपालिका सभापति सन्तवीर तामाङले अध्यक्षमै बागी उम्मेद्वारी दिएका हुन् । ऐंसेलुखर्कमा खगेन्द्र वनको पनि अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दर्ता भएको छ ।

बराहपोखरी गाउँपालिकामा एमालेका अध्यक्षका उम्मेद्वार गोमादेवी मगरविरुद्ध स्वतन्त्र उम्मेद्वारी परेको छ । पार्टीको आधिकारिक उम्मेद्वारविरुद्ध एमाले बराहपोखरी गाउँपालिका अध्यक्ष दीर्घबहादुर मगरले अध्यक्षमा बागी उम्मेद्वारी दर्ता गरेका हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा गाउँपालिका उपाध्यक्ष चुनिएकी गोमादेवी अध्यक्ष र कांग्रेसबाट एमाले प्रवेश गरेका जीवन राई उपाध्यक्षको उम्मेद्वार बनाइएपछि असन्तुष्ट दीर्घले स्वतन्त्र उम्मेद्वारी दिएका हुन् ।

दिप्रुङ चुईचुम्मा गाउँपालिकामा सुरेश राई र विश्वराज राईले अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिएका छन् । कांग्रेसबाट गाउँपालिका अध्यक्ष नइन्द्र राई उम्मेद्वार बनेको अवस्थामा कांग्रेसकै कार्यकर्ता सुरेशले स्वतन्त्रमा उम्मेद्वारी दर्ता गराएका हुन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धन दलमध्ये कांग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयरको उम्मेद्वारी दिने सहमति थियो । तर, मेयरमा कांग्रेसकै तीर्थराज भट्टराई र धर्मराज पोखरेलको उम्मेद्वारी दर्ता भएको छ । टिकटमा कांग्रेसबीच भएको विवादपछि माओवादी केन्द्रकातर्फबाट मेयरमा दुर्गाजयन्ती राईले पनि उम्मेद्वारी दिएकी छन् । माओवादी केन्द्रकै नेता विकास राईले पनि स्वतन्त्र मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उम्मेद्वारका विषयमा कांग्रेसभित्रको किचलो देखेर जनता समाजवादीका सूर्यबहादुर राईले मेयर र नेकपा एकीकृत समाजवादीका भागवत घिमिरेले उपमेयरमा उम्मेद्वारी दिएका छन् । यद्यपि, उम्मेदवारको नाम फिर्ता लिने समयभित्र छलफल गरेर आधिकारिक उम्मेदवारलाई मात्र चुनावी मैदानमा उतार्ने गठबन्धन दलको तयारी छ

प्रतिक्रिया