आइतबार, जेठ ६, २०८१

हेटौंडामा गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन

मेरोन्यूज २०७९ वैशाख १३ गते २१:५०

काठमाडौँ । स्थानीय तहको निर्वाचनका लागि हेटौंडामा सत्तारुढ गठबन्धनको पहिलो सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । मंगलबार हेटौंडा १ चाइनाक्वाटरमा कार्यालय उद्घाटन गरिएको हो ।

Advertisement

गठबन्धनबाट हेटौंडा उपमहानगरका मेयर र उपमेयर उम्मेदवार मिनाकुमारी लामा र राजेश बानियाँले संयुक्त रुपमा नरिवल फुटाउँदै कार्यालयको उद्घाटन गरेका हुन् । उनीहरुले सम्पर्क कार्यालयको रिवन समेत काटेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सांसद मुनु सिग्देलले गठबन्धनका उम्मेदवारलाई जितले मात्रै हेटौंडा उपमहानगरबासीको हित हुने बताइन् ।

उनले गठबन्धनका उम्मेदवारलाई विजयी गराउने गरी लाग्न कांग्रेस, माओवादी, नेकपा एससहित गठबन्धनमा आबद्ध दलका नेता कार्यकर्तालाई अनुरोध गरेकी थिइन् ।

‘जिल्लाको हरेक आन्दोलनमा सँगै भएपनि चुनावी मैदानमा फरक रहँदै आएका थियौं तर अहिले गठबन्धनमा रहेका छौं’, उनले भनिन्, ‘आन्दोलनबाट प्राप्त परिवर्तन र उपलब्धिलाई संरक्षण गर्दै मुलुक र गणतन्त्र जोगाउनका गठबन्धनले जित्नु आवश्यक छ ।’

यस्तै, उपमेयरका उम्मेदवार बानियाँले शिक्षा, स्वास्थ, पूर्वाधार निर्माण र खेलकुदको क्षेत्रमा काम गर्ने बताए । वडाध्यक्ष हुँदा वडाको विकासमा व्यक्तिगत एवम् संस्थागत रुपमा धेरै काम गरेको उदाहरण पेश गर्दै उनले अब नगरको विकासमा लागिपर्ने बताए ।

पूर्वाधार निर्माणमा आफूले हेटौंडा–५ मा गरेको काम जस्तै नगरभर गर्ने योजना रहेको उनले सुनाए । नेपाली कांग्रेस हेटौंडा १ नम्बर वडा सभापति हरिकृष्ण महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस बागमती प्रदेश सदस्य जानकी गिरी, वडा अध्यक्षका उम्मेदवार सविन न्यौपानेलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया