आइतबार, जेठ ६, २०८१

मनाङमा २१० मात्रै उम्मेदवारी दर्ता, ८ जना निर्विरोध

मेरोन्यूज २०७९ वैशाख १३ गते १९:३८

काठमाडौँ । स्थानीय तह निर्वाचनमा हिमालपारिको जिल्ला मनाङमा २१० जनाले उम्मेदवारी दर्ता गराएका छन् । चार गाउँपालिकामा आइतबार र सोमबार गरी कूल २१० जनाले विभिन्न पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

Advertisement

ङिस्याङ गाउँपालिकामा ७३, चामे गाउँपालिकामा ४२, नासोँ गाउँपालिकामा ६८ र नार्पाभूमि गाउँपालिकामा २७ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले जानकारी दिए ।

यस्तै, चार गाउँपालिकामा अध्यक्ष पदका लागि नौ जना र उपाध्यक्षमा आठ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन कार्यालय मनाङका अनुसार जिल्लामा वडाध्यक्ष पदका लागि ४८, महिला वडा सदस्यमा ४१, दलित सदस्यमा २२ र खुला सदस्य पदमा ८२ जनाले उम्मेदवारी मनोनयन गराएका छन् ।

आठ पदमा एकल मनोनयन

स्थानीय तह निर्वाचनका लागि भएको मनोनयनका क्रममा जिल्लामा आठ पदमा एकल उम्मेदवारी परेको छ । आवश्यक पद संख्या जति मात्र उम्मेदवारी परेकाले उनीहरू निर्विरोध भए पनि आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र घोषणा गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

मनाङ ङिस्याङ गाउँपालिका ३ को वडाध्यक्षमा कृष्ण लामा (स्वतन्त्र)को वडाध्यक्षमा एकल उम्मेदवारी परेको छ । त्यस्तै ङिस्याङ गाउँपालिका ९ को वडाध्यक्षमा च्योल्पा गुरुङ र ७ को वडाध्यक्षमा ओमबहादुर गुरुङको एकल उम्मेदवारी परेको छ ।

चामे गाउँपालिका १ मा एमालेका खड्कजंग गुरुङ र २ मा कांग्रेसका मंगलदेव गुरुङको वडाध्यक्षमा एकल उम्मेदवारी परेको छ । नासोँ गाउँपालिकाको ५, ६ र ७ मा पनि वडाध्यक्षमा एकल उम्मेदवारी परेको छ । नार्पाभूमि गाउँपालिका १ मा पनि एकल उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया