शनिबार, जेठ ५, २०८१

स्थानीय तह निर्वाचन

माओवादीमा उम्मेदवार चयनः कतै चुनाव, कतै गोलाप्रथा

नुवाकोटको ककनीमा आन्तरिक चुनाव, डोल्पाको चंखेलीमा गोलाप्रथाबाट गाँउपालिका अध्यक्षको उम्मेदवार चयन

मेरोन्यूज २०७९ वैशाख १० गते ९:१९

काठमाडौं । नेकपा (माओवादी)ले सर्वसम्मत हुन नसकेका कतिपय स्थानमा उम्मेदवार चयन गर्दा कतै चुनाव विधि अबलम्बन गरेको छ । कतै गोलाप्रथाबाट उम्मेदवार चयन गरेको छ ।

Advertisement

पार्टी केन्द्रले महानगर र उपमहानगरको उम्मेदवार केन्द्रबाटै चयन गर्ने र अन्य स्थानमा सम्वन्धित पार्टी कमिटिको सिफारिसमा कुन तहको कुन कमिटिले गर्ने भन्ने एउटा मापदण्ड बनाएको थियो ।

महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखको उम्मेदवारको नाम पार्टीको प्रदेश समितिहरुले सर्वसम्मत भए एक/एक जना सर्वसम्मत नभए प्राथमिकता क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेश गर्न भनिएको थियो । जसअनुसार, सत्तागठबन्धनमा भएको सहमतिका आधारमा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको मेयर प्राप्त गरेको छ । जहाँ उसले अहिलेकै भेयर रेनु दाहाललाई सर्वसम्मत उम्मेदवार बनाउने गरी सिफारिस गरेको छ ।

माओवादीले ललितपुर उपमहानगरपालिकाको उपमेयर पनि पाएको छ । त्यहाँ बाबुराजा बज्राचार्यलाई उम्मेदवार बनाउने सर्वसम्मत सिफारिस भएको छ । २ वटा उपमहानगर पाएको माओवादीले जीतपुर सिमरामा राजन पौडेल र घोरही उपमहानगरपालिकामा हेमराज शर्मा डायमन्डलाई उम्मेदवार बनाउन सर्वसम्मत निर्णय गरेको छ ।

त्यस्तै, नगर र गाँउ पालिकाका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरुको सिफारिस सम्वन्धित पालिका समितिहरुले गर्ने र सम्वन्धित जिल्ला समन्वय समितिहरुको सुझावसहित प्रदेश समितिले उम्मेदवारको अन्तिम टुंग्गो लगाउने विधि बनाउको थियो ।

नगर र गाँउपालिकाको प्रमुखरउपप्रमुखको प्रदेश कमिटिले लगाएको टुंग्गोको अनुमोदन केन्द्रीय कार्यालयबाट गराउनुपर्ने निर्णय पनि माओवादीले गरेको थियो । यस आधारमा माओवादीले धमाधम उम्मेदवार चयनको कामलाई अन्तिम विन्दुमा लगेको छ । भोलि र पर्सि निर्वाचन आयोगको तालिका अनुसार उम्मेदवार मनोनयनको समय भएकोले उम्मेदवार छनौटको अन्तिम तयारीमा दलहरु छन् ।

माओवादीले नुवाकोटको ककनीमा उम्मेदवार चयन गर्दा निर्वाचन विधि अवलम्बन गरेको छ । त्यहाँ गत स्थानीय तह चुनावमा पनि माओवादी केन्द्रले जितेको थियो । यसपटक त्इहाँ माओवादीले आन्तरिक चुनावबाट अध्यक्ष र उपाध्यक्षको उम्मेदवारको टुग्गे लगाएको छ । त्यहाँ सत्तागठबन्धन दलका वीचमा मित्रबत् प्रतिस्पर्धा गर्ने समझदारी बनिसकेको छ । चुनावबाट सुमन तामाङलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । तामाङ र अहिलेका गाँउ पालिका अध्यक्ष मानबहादुर लामा अध्यक्षका प्रत्याशी थिए ।

आन्तरिक चुनावी प्रतिस्पर्धाबाट तामाङ ३४ मतका साथ उम्मेदवार चयन भएका छन् । लामाले भने १८ मत ल्याएका थिए । अर्का पनि अध्यक्ष उठने चाहनामा थिए । तर उनले आफ्नै १ मत वाहेक अरुको मत पाउन सकेनन । निर्वाचन विधिबाट चयन भएको उम्मेदवार अनुसार अव ककनीमा माओादीका सुमन तामाङ उम्मेदवार बन्नेछन् ।

पार्टी कमिटिको सल्लाहकार सहित ६२ मतमा आन्तरिक निर्वाचन हुँदा ५३ मत खसेको थियो । उता डोल्पा सिमकोट चंखेली गाउँपालिका अध्यक्ष पदका उम्मेदवार चयनका लागि पनि माओवादीले गोलाप्रथा गरेर उम्मेदवार चयन गरेको छ ।

माओवादीबाट चंखेली गाउँपालिकाको अध्यक्षका लागि आठ जना आकांक्षी थिए । तर आकाँक्षी सवैका मध्येबाट दुई जनाका वीचमा भने गोलामार्फत उम्मेदवार चयनको विधि अवलम्बन गरिएको नेकपा माओवादी जिल्ला समन्नय समिति संयोजक डा दिपेन्द्र रोकायाले बताए ।

माओवादी केन्द्रले चंखिली गाउपालिका अध्यक्ष छनोटका लागि गरिएको गोलाप्रथामा दुई जनालाई सहभागी गराउँदा गोविन्दबहादुर शाही (प्रज्वलन) छानिएका छन् । गोला प्रथामा सहभागी अर्का आकांक्षी सुरवीर ऐडी (पीडित) थिए ।

गोलाप्रथाबाट उम्मेदवार चयन गर्ने कार्यक्रममा माओवादीका केन्द्रीय सदस्य विजय भण्डारी र छक्कबहादुर लामाको पनि सहभागिता थियो ।

प्रतिक्रिया