शनिबार, जेठ ५, २०८१

दाङका ८५ जनप्रतिनिधिले दिए राजीनामा

मेरोन्यूज २०७९ वैशाख ९ गते १९:१२

दाङ । जिल्लामा एक पालिका प्रमुखसहित ८५ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन कार्यकाल सकिनुअगावै जनप्रतिनिधिले राजीनामा दिएका हुन् ।

Advertisement

निर्वाचनका लागि उम्मेदवार मनोनयनको मिति नजिकिएसँगै आगामी नेतृत्वका लागि आकांक्षी बहालवाला जनप्रतिनिधिले राजीनामा दिएका हुन् ।

निर्वाचन आचारसंहिता २०७८ को दफा ३६ अनुसार बहालवाला जनप्रतिनिधिले स्थानीय तहको कुनै पनि पारिश्रमिक सुविधा पाउने गरी लाभको पदमा नरहेको उद्घोष गर्नु पर्ने र उम्मेदवारी दिनुअघि नै राजनीमा दिनुपर्ने व्यवस्था गरेको छ ।

सोही व्यवस्था बमोजिम दाङमा पनि मेयर, वडाध्यक्ष, सदस्य र जिल्ला समन्वय समिति सदस्य गरी शुक्रबारसम्म ८२ जना जनप्रतिनिधिले राजीनामा दिएका हुन् ।

घोराहीमा नगरप्रमुख नरुलाल चौधरीले बिहीबार नै राजीनामा दिएको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिए । उनका अनुसार घोराहीमा अरु थप दुई जना वडा सदस्यले राजीनामा दिएका छन् ।

तुलसीपुरमा शुक्रबारसम्म १० वडाध्यक्ष र २० सदस्यले राजीनामा दिएको प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेले जानकारी दिए । त्यस्तै, लमही नगरपालिकाका एक वडाध्यक्ष र दुई सदस्य, गढवाका वडाध्यक्ष र सदस्य १९ जना, राप्तीका १८, दंगिशरणका ३, शान्तिनगरका १, बबईका ४ र बंगलाचुलीका छ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् ।

प्रतिक्रिया