शनिबार, जेठ ५, २०८१

सवा अर्बको मास्क र स्यानिटाइजर आयात

मेरोन्यूज २०७९ वैशाख ९ गते १८:३७

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा मास्क र स्यानिटाइजर आयातका लागि सवा अर्ब बढी नेपाली रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८–७९को पहिलो नौ महिनामा मास्क र स्यानिटाइजर आयातका लागि एक अर्ब २२ करोड २९ लाख ३९ हजार बाहिरिएको हो ।

Advertisement

तथ्यांकअनुसार नौ महिनाको अवधिमा एक अर्ब आठ करोड ७५ लाख ४० हजार बराबरको फेस मास्क र १३ करोड ५३ लाख ९९ हजार बराबरको स्यानिटाइजर आयात भएको छ । नेपालमा विभिन्न ३७ देशबाट १३ करोड ९८ लाख ३८ हजार वटा मास्क आयात भएको छ । मास्क आयातबाट सरकारले आठ करोड ७६ हजार बराबर राजश्व संकलन गरेको छ ।

सोही अवधिमा सबैभन्दा बढी चीनबाट मास्क आयात भएको छ । चीनबाट एक करोड ३५ लाख ३९ हजार वटा मास्क आयातका लागि ८२ करोड ६४ लाख ६९ हजार नेपाली रुपैयाँ बाहिरिएको छ भने सरकारले ६ करोड ८९ लाख ३४ हजार राजश्व संकलन गरेको छ । चीनपछि डेनमार्कबाट १३ करोड ७३ लाख रुपैयाँ हजार बराबरको एक लाख २० हजार वटा मास्क आयात भएको छ ।

नेपालले अष्ट्रेलिया, अष्ट्रिया, बंगलादेश, बेल्जियम, चीन, डेनमार्क, इस्टोनिया, फ्रान्स, जर्मनी, हङकङ, हंगेरी, बेलायत, अमेरिका, भियतनाम, नामिबियालगायत देशबाट फेस मास्क खरिद गरेको हो ।

नौ महिनाको अवधिमा १३ करोड ५३ लाख बराबरको ह्याण्ड स्यानिटाइजरको आयात भएको छ । विभिन्न दश देशबाट छ लाख ५६ हजार ७५३ किलोग्राम स्यानिटाइजर आयात हुँदा सरकारले दुई करोड ४० लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

नौ महिनाको अवधिमा बंगलादेश, चीन, भारत, इजरायल, जापान, कोरिया, ताइवान, युएई, युके र युएसएबाट स्यानिटाइजरको आयात भएको हो । सो अवधिमा सबैभन्दा धेरै स्यानिटाइजर भारतबाट आयात भएको छ । भारतबाट दश करोड नौ लाख बराबरको छ लाख तीन हजार किलो र युएइबाट एक करोड ६४ लाख रुपैयाँ बराबरको ४७ हजार किलो स्यानिटाइजरको आयात भएको छ ।

कोरोना महामारीपछि नेपालमा नै पर्याप्त मात्रामा मास्क तथा ह्याण्ड स्यानिटाइजर उद्योगस्थापना भए पनि भारतलगायत देशबाट ठूलो मात्रामा हुने आयातमा कमी आउन सकेको छैन ।

प्रतिक्रिया