शनिबार, जेठ ५, २०८१

धनगढी कांग्रेसका ९१ जना नेता कार्यकर्ताले दिए सामूहिक राजीनामा

मेरोन्यूज २०७९ वैशाख ९ गते १७:१९

धनगढी । पाँच दलीय गठबन्धनले गरेको निर्णय नमान्ने भन्दै नेपाली कांग्रेस धनगढीमा विद्रोह भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का वडा सभापति भक्तबहादुर थापासहित ९१ जना कांग्रेस नेता कार्यकर्ताले राजीनामा दिएका छन् ।

Advertisement

वडा नम्बर १८ को वडाध्यक्ष कांग्रेसले पाउनु पर्ने माग गर्दै उनीहरूले जिल्ला पार्टी कार्यालय पुगेर सामूहिक राजीनामा दिएका हुन् । गठबन्धनमा भएको सहमतिअनुसार २०७४ सालको स्थानीय तह निर्वाचनमा जुन वडामा जसले जितेको थियो, अहिले पनि त्यहीअनुसार उम्मेदवारी दिने भन्ने थियो ।

बलियो संगठनले १८ नम्बर वडामा कांग्रेसको जित सुनिश्चित रहेको तर, भागबण्डा गर्दा माओवादी केन्द्रले पाएपछि सामूहिक राजीनामा दिनु परेको वडा सभापति थापाले बताए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा १८ नम्बर वडाबाट माओवादी केन्द्रले वडाध्यक्ष जितेको थियो । गठबन्धनबीचको सहमतिअनुसार वडाध्यक्ष माओवादीकै भागमा परेको थियो ।

‘हामीले भर्खरै राजीनामा पार्टी कार्यालयमा बुझाएका छौँ, अब के गर्ने भनेर छलफल गर्छौं, स्वतन्त्र रूपमा उम्मेदवारी दिन सकिन्छ कि भन्ने विषयमा छलफल हुन सक्छ,’ सभापति थापाले भने ।

२०७४ सालको निर्वाचनमा धनगढी उपमहानगरमा कांग्रेसका नृप ओडले जितेका थिए ।

प्रतिक्रिया