शनिबार, जेठ ५, २०८१

निजी हेलिकोप्टरलाई तयारी अवस्थामा राख्न गृहको निर्देशन

मेरोन्यूज २०७९ वैशाख ९ गते १६:३८

काठमाडौँ । गृह मन्त्रालयले स्थानीय तह निर्वाचनमा सुरक्षा व्यवस्था मिलाउन आवश्यक परे निजी क्षेत्रका हेलिकोप्टर प्रयोग गर्ने भएको छ ।

Advertisement

सडक नपुगेका दुर्गम स्थानमा मतपत्र ढुवानी, मतदान क्षेत्रमा सुरक्षाको प्रबन्ध तथा मत पेटिकाको ओसार पसारमा हेलिकोप्टरको प्रयोग गर्ने तयारी गर्ने भएको हो ।

त्यसको तयारी गर्न गृह मन्त्रालयमा शुक्रबार सरकारी अधिकारी र वायु सेवा सञ्चालक संघमा आबद्ध विभिन्न एयरलाइन्सका प्रतिनिधिहरूको बैठक बसेको हो ।

स्थानीय निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित तरिकाले सम्पन्न गर्न सबै प्रकारको सुरक्षाको चाँजोपाँजो मिलाउन आवश्यक परे हवाई सेवा तत्काल उपलब्ध हुने गरी तैनाथ अवस्थामा राख्न बैठक बसिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

बैठकले ‘स्थानीय तह निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउने प्रयोजनमा हेलिकोप्टर सेवालाई प्राथमिकताका आधारमा प्रयोग गर्ने’ निर्णय गरेको छ ।

निर्वाचन सुरक्षामा निजी हेलिकोप्टर प्रयोग गर्दा पालो भने वायु सेवा सञ्चालक संघले मिलाएर त्यसको जानकारी गृह मन्त्रालयलाई गराउने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव पोखरेलले जानकारी दिए ।

बैठकमा श्री एयरलाइन्ससँग रहेको एमआई–१७ हेलिकोप्टर निर्वाचन प्रयोजनमा प्रयोग गर्न कुनै पनि बखत आवश्यक पर्ने भएको भन्दै मन्त्रालयलाई आवश्यक परे तुरुन्त सेवा उपलब्ध हुने गरी तैनाथ अवस्थामा राख्ने निर्णय भएको छ ।

गृह प्रवक्ता पोखरेलको अध्यक्षतामा भएको बैठकमा मन्त्रालयका उपसचिवद्वय गोमादेवी चेम्जोङ र वसन्त भट्टराई, नेपाली सेनाका महासेनानी सञ्जय देउजा, वायु सेवा सञ्चालक संघका कमलेशकुमार वर्मा र अल्टिच्युड एयर, श्री एयरलाइन्स, सिम्रिक एयर, हेली एभरेष्ट, फिस्टेल एयर, प्रभु हेलिकोप्टर, मनाङ एयर र एयर डाइनेष्टिका प्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया