सोमबार, जेठ ७, २०८१

कैलाली कारागारमा बेथिति : लागु औषध कारोबारदेखि कैदीबन्दीलाई टिकटक बनाउनसम्म छुट !

दया दुदराज २०७९ वैशाख ४ गते १९:५१

काठमाडौँ । कैलालीस्थित जिल्ला कारागारका नाइके तथा आउटडोर नाइकेहरूले जेलरसँग मिलेर अवैध कारोबार सञ्चालन गरेको पाइएको छ । स्रोतका अनुसार जबरजस्ती करणी र लागुऔषध कारोबारको मुद्दामा सजाय भुक्तान गरिरहेका कैदीहरूले कारागारका जेलरसँग मिलेर लागु औषध ओसारपसारका साथै अवैध कार्य गरेको खुलेको हो ।

Advertisement

लामो समयदेखि विभिन्न अभियोगमा सजाय भुक्तान गरिरहेका कैदीहरूले कारागारमा बन्देज गरिएको मदिरा, चुरोट, अवैध लागुऔषध, मोबाइल फोनको बिक्री वितरण गरेको खुलेको हो । यस्तै, जुवा तास खेल्नेलगायतको अवैध कार्यसमेत गरेको खुलेको हो ।

कारागारका आउटडोर नाइकेहरू सरोज भट्ट, योगेश चन्द, गगन ठकुल्ला, विमल चौधरी, पदम् भट्ट, मिन बहादुर खड्का, अशिस सेठी र कारागारका नाइकेहरू दीपेश गुप्ता, अनिल शाही, रोहित पालिवाल, सन्तोष शाही, इमरान खान, विष्णु कुँवरले कारागारका जेलर नर बहादुर थापासँग मिलेमतो गरेर अवैध धन्दा सञ्चालन गरको स्रोतको दाबी छ ।

कारागारका आउटडोर नाइके सरोज भट्ट लागु औषध कारोबारको मुद्दामा सजाय भुक्तान गरिरहेका छन् । योगेश चन्द, गगन ठकुल्ला, विमल चौधरी र मिन बहादुर खड्का जबरजस्ती करणीको मुद्दामा सजाय भुक्तान गरिरहेका छन् । यस्तै, आउटरमध्येकै पदम भट्ट ठगीको मुद्दामा सजाय भुक्तान गरिरहेका छन् ।

त्यस्तै, कारागारका नाइकेहरू दीपेश गुप्ता, अनिल शाही, सन्तोष शाही र इमरान खान लागु औषध ओसारपसारको मुद्दामा सजाय भुक्तान गरिरहेका छन् । नाइके रोहित पालिवाल भने अपहरणको मुद्दामा सजाय भुक्तान गरिरहेका छन् । यसैगरी, विष्णु कुँवर डाँका तथा चोरीको मुद्दामा सजाय भुक्तान गरिरहेका छन् ।

उनीहरूले कारागारका जेलर तथा चौकीदार नर बहादुर थापासँग मिलेर कारागारभित्रै लागु औषध ओसारपसार गर्नेलयागत अवैध गतिविधि गर्दै आएको स्रोतको भनाइ छ । स्रोतका अनुसार कारागार परिसरभित्रै जुवा तास खेलाउने, मदिरा सप्लाई गर्ने, अवैध लागु औषध चरेश, ब्राउन सुगर, मोबाइल फोनलगायत बिक्री वितरण गर्दै आएका छन् । यद्यपि, ती वस्तुहरू सबै कारागारमा प्रतिबन्धित् छन् ।

जेलरको आडमा कारागारका आउटर नाइके तथा नाइकेहरूले कारागारभित्रै अवैध सामग्रीहरूको छुट्टै मूल्यसूची बनाइएको छ । स्रोतका अनुसार उनीहरूले एक बोतल रक्सी बराबर पाँच हजार रुपैयाँ, एक चुरोट चरेशको मूल्य ३–५ सय रुपैयाँ, सामान्य मोबाइल फोनको मूल्य २०–५० हजार रुपैयाँसम्म असुली गर्दै आएको पुष्टि भएको छ ।

अवैध कारोबारसँगै कैदीहरूलाई खुलेआम बाहिर ढुल्न अनुमति दिइएको स्रोतको भनाइ छ । गत होलीको दिनमा जबरजस्ती करणी मुद्दाको सजाय भुक्तान गरिरहेका कृष्ण साउद खुलेआम बाहिर डुलेका थिए । उनले टिकटकसमेत बनाएको पाइएको छ । होलीको दिन उनले चिसापानीको पुलमा बसेर टिकटक बनाएको देखिएको छ । स्रोतका अनुसार जेलर थापा र केही प्रहरीसहित साउद चिसापानीको पुलमा पुगेका थिए ।

जेलरले आफ्नो फेसबुकमार्फत तस्बिरसमेत सार्वजनिक गरेका थिए । तर, केही छिनमै उनले सो पोष्ट डिलिट गरेका थिए । त्यस्तै, टिकटक बनाएर अपलोड गरेका साउदले केही घण्टामै सो टिकटक डिलिट गरेका थिए । उनले अहिले कारागारभित्र खुलेआम टिकटक बनाउँदै आएका छन् ।

कारागराभित्र यस्तो अवैध कार्य हुँदासमेत जेलर मौन देखिएका छन् । कारागारका नाइके तथा आउटर नाइकेहरूले जेलरलाई सो अवैध काम गरेबापत कमिसन दिने गरेको स्रोतको आरोप छ । सोही कारण जेलरले यो विषयमा केही कदम उठाएका छैनन् ।

जेलर थापा दैलखका हुन् । उनी कायमुकायका रुपमा ६ महिनाअघि कारागारको जेलरका रुपमा पुगेका थिए । तर, उनको कार्यकाल सकिएपछि समेत उनले गृह मन्त्रालयको पावर लगाएर सोही कारागारमा बस्दै आएका छन् ।

प्रमाण ल्याउनुहोस् कारबाही गर्छौं : जेलर थापा

कारागारका जेलर नर बहादुर थापाले कारागारभित्र अवैध काम नभएको बताएका छन् । उनले मेरोन्यूजसँगको संवादमा भने, ‘यो विषयमा मलाई थाहा छैन, यदि त्यस्तो अवैध काम गरेको कुनै प्रमाण फेला पार्नु भएको छ भने ल्याउनुहोस् म कारबाही गर्छु ।’

चौकीदारहरू बाहिर निस्किन पाउने थापाले बताएका छन् । ‘चौकीदारहरू बाहिर निस्किन पाउँछन्,’ उनले भने, ‘होलीको दिन चौकीदार बाहिर निस्किएको हो, तर टिकटक बनाएको भने होइन ।’ तर, कृष्ण साउदले चिसापानीको पुलमा बसेर टिकटक बनाएको भिडियो सार्वजनिक गरेका थिए ।

जेलर थापाले आफू होलीको दिन काठमाडौँ आएको बताएका थिए । पछि उनले आफ्नो भनाइ फेर्दै होलीको दिन कैलालीमै रहेको भन्दै दोहोरो कुरा गरेका थिए ।

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया