सोमबार, जेठ ७, २०८१

सशस्त्रको एआईजीमा चार जनाको दाबी, कसको सम्भावना कति ?

दया दुदराज २०७९ वैशाख ३ गते १७:५३

काठमाडौँ । सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)को लागि चार जना नायव महानिरीक्षक (डीआईजी)ले दाबी गरेका छन् । पुष्पराम केसीको बढुवासँगै रिक्त भएको सो पदका लागि चार जना डीआईजीले दाबी गरेका हुन् ।

Advertisement

स्रोतका अनुसार डीआईजीहरु राजु अर्याल, नारायण दत्त पौडेल, सिपी गौतम र बंसिराज दाहाल एआईजी बन्ने प्रतिस्पर्धामा छन् । गत साल चैत ३० गते सशस्त्रका नवनियुक्त महानिरीक्षक पुष्पराम केसीले रिक्त रहेको एआईजी बढुवाका लागि तीनदिने सूचना निकालेको थियो ।

महानिरीक्षकले जारी गरेको सो सूचनामा शैक्षिक योग्यतासहित बढुवा प्रयोजनका लागि आवश्यक कागजपत्रको माग गरेको थियो । सोही मागअनुरुप चार जना डीआईजीले एआईजी बन्ने दाबी सहत कागजपत्र बुझाएका हुन् ।

कसको सम्भावना कति ?

सशस्त्रका हालका महानिरीक्षक पुष्पराम केसीको कार्यकाल छोटो छ । उनी बुधबार मात्रै आईजीपीमा नियुक्त भएका थिए । उनको कार्यकाल जम्मा १८ दिन भएको थियो । अब उनी अनिवार्य अवकासमा जानेछन् ।

उनको अवकासपछि आईजीपी बन्नका लागि एआईजी प्रतिस्पर्धामा जाने छन् । सोही कारण एआईजीमा बढुवा हुनका लागि डीआईजीहरू शक्तिकेन्द्र धाउन थालेका छन् । एआईजीको प्रतिस्पर्धामा रहेका डीआईजीहरू अर्याल, पौडेल, गौतम र दाहाल शक्ति केन्द्र धाउन थालेका हुन् ।

१५ दिनपछि उनीहरूमध्येकै एक जनाले सशस्त्र प्रहरीको नेतृत्व समहाल्ने हुँदा तीव्र प्रतिस्पर्धा भएको हो । प्रतिस्पर्धामा रहेका अर्याल एक नम्बरमा छन् । वरियताको हिसाबमा पहिलो नम्बरमा रहे पनि उनको बढुवाको सम्भावना बढी छ । तर, राजनीतिक पहुँचका आधारमा अर्यालभन्दा अन्य प्रत्यासीको सम्भावना बढी देखिन्छ ।

उनी काठमाडौंका स्थानीय बासिन्दा हुन् । उनलाई कुनै राजनीतिक दल तथा शीर्ष नेताहरुको समर्थन नरहेकाले उनको बुढुवा सकस हुने देखिन्छ । यद्यपि, उनलाई काठ क्षेत्रका कांग्रेसी नेताहरुको समर्थन रहेको बुझिन्छ ।

त्यस्तै वरियताको दोस्रो नम्बरमा रहेका नारायणदत्तलाई भने विभिन्न दल तथा शीर्ष नेताहरुको समर्थन रहेको उच्च स्रोतको दाबी छ । सुर्खेत घर भएका उनको पक्षमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, माओवादी नेतासमेत रहेका अर्थमन्त्री जनार्दन शर्मा, पूर्व गृहमन्त्री शक्ति बस्नेत र नेता महेन्द्र बहादुर शाहीसम्म उनको बढुवाका लागि दबाब दिँदै आएको स्रोतको दाबी छ । साथै अर्थमन्त्री शर्माकै बलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) समेत पौडेलको पक्षमा रहको उच्च स्रोतको दाबी छ ।

त्यस्तै वरियताको तेस्रो नम्बरमा रहेका सिपी गौतमलाई समेत शीर्ष नेताहरुको समर्थन रहेको बुझिन्छ । झापा घर भएका गौतमलाई एमाले अध्यक्ष केपी ओली र पुर्व गृहमन्त्री कांग्रेसका नेता कृष्ण सिटौला लगायतको समर्थन रहेको बुझिन्छ । केही दिनअघि आईजीपीको दौडमा कमजोर देखिएका गौतम पछिल्ला दिनमा बलियो भएका छन् ।

नेपाली सेनामा कमाण्ड सम्हालेको आधारमा वरिष्ठता निर्धारण गरिने प्रचलन रहेजस्तो अर्ध सैन्य संरचनाको रुपमा रहेको सशस्त्रमा समेत कमाण्ड गरेका आधारमा वरिष्ठ निर्धारण गर्दा आफू पहिलो नम्बरमा रहेको उनको जिकिर छ ।

बढुवामा ढिलाई गरिएको भएता पनि डीआईजी दाहालसमेत अर्याल, पौडेल र गौतमकै ब्याजी हुन् । सूचना सार्वजनिक हुनुभन्दा अगाडिसम्म एआईजीमा दाबी नगरेका दाहालले बढुवाका लागि सूचना सार्वजजिक भएसँगै दाबी गरेका हुन् । उनी पनि झापाकै हुन् ।

विभिन्न दलका शीर्ष नेताहरूले आफूनिकट डीआईजीलाई समर्थन गरेको भएता पनि प्रधानमन्त्री शेर बहादुर देउवा र गृहमन्त्री खाँण भने कसैको पक्षमा देखिएको छैन । उनीहरूले कसैको पक्षम खुलेर पक्षधरता देखाएको अवस्था नहुँदा सशस्त्रमा एआईजी बढुव प्रक्रिया पेचिलो बन्दै गएको छ ।

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया