सोमबार, जेठ ७, २०८१

कविता

कमरेड सोच्नु भएको छ के हुन्छ ?

फूलमती २०७९ वैशाख ३ गते ७:४२

एक पटक हेर्नुस् त कमरेड
आलै छ अझै
सहिदले बगाएको रगत
तर तपाईं भने डुब्न पुग्नु भएको छ सोमरसमा
अझै छन् होला
हजारौं सपना देख्दा देख्दै
ढलेकाहरुको अस्थिपन्जर पाखा पखेराहरुमा
तर तपाईंभने निमुखाहरुको
हाडछाला लुछ्दा लुछ्दै थाक्नुभएको छैन ।

Advertisement

कमरेड याद आउँछ आउँदैन तपाईंलाई
फूलमतीको हातमा बन्दुक राखिदिएर
पितृसत्ता ढलाउन भन्दै गरेको भाषण
यदि त्यही बन्दुक आज
फूलमतीले तपाईंको छातीमा तेर्साइ भने
सोच्नुभएको छ के हुन्छ ?

पढ्दा पढ्दै एउटा बालकको हातबाट
खोस्नुभएको थियो कलम
दलालहरु संगै मिलेर हस्ताक्षर गरेको कलम
यदि आज त्यही बालकले खोस्यो भने
तपाईंको हातबाट
कमरेड सोच्नुभएको छ के हुन्छ ?

आज फूलमती र ती साना बालकहरु
फेरि जुर्मुराउदै उठेका छन्
कलम संगै बन्दुक बोक्न
अब तपाईं चरम निन्द्राबाट ब्युझिएर हेर्नुस्
सबैभन्दा पहिले तपाईंको छातीमा तेर्सियो भने बन्दुक
कमरेड सोच्नुभएको छ के हुन्छ ?

लेखक फुलमती विद्यार्थी हुन्, उनी वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीमा आबद्ध छन् ।

प्रतिक्रिया