सोमबार, जेठ ७, २०८१

पार्टी पंक्तिलाई प्रचण्डको अर्काे परिपत्र

सत्तागठबन्धनमा तालमेल नभई एक्लै लड्नुपर्ने भए केन्द्रको अनिवार्य स्वीकृत लिनुपर्ने

प्रत्येक जिल्लामा कम्तिमा एक पालिका प्रमुख र प्रत्येक पालिकामा कम्तिमा एउटा वडा अध्यक्षमा महिलालाई उम्मेदवारी दिन जोड

रामकृष्ण अधिकारी २०७८ चैत २९ गते ८:४६

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सत्ता गठबन्धन दलसँग तालमेल हुन नसकेका स्थानीय तहमा गठबन्धन दलसँगै चुनावी प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आए पार्टी केन्द्रको अनिवार्य स्वीकृति लिनुपर्ने निर्णय गरेको छ ।

Advertisement

गठबन्धन तालमेलका लागि प्राथमिकताका साथ जोड गर्ने तर केही स्थानमा तालमेल हुन नसक्ने अवस्था आएमा र गठबन्धनकै दलहरुवीच प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आए केन्द्रको स्वीकृती लिनुपर्ने निर्णय माओवादीले गरेको हो ।

त्यस्तो अवस्थामा पनि गठबन्धन दलका बीचमा स्वस्थ्य प्रतिस्पर्धा मात्रै गर्न पाउने माओवादीको निर्णय छ ।

स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौटका लागि अध्यक्ष प्रचण्डले चैत २८ गते पार्टी पंक्तिमा जारी गरेको विशेष परिपत्र ४ मा त्यस्तो उल्लेख छ ।

सोमबार सत्तागठबन्धन दलका शीर्ष नेताहरुले देशभर ठाँउ र आवश्यकता अनुसार चुनावी तालमेल गर्न, आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडी बढ्न गठबन्धनमा रहेका दलका नेता कार्याकर्तालाई संयुक्त अपिल जारी गरेलगत्तै प्रचण्डले पार्टी पंक्तिलाई विशेष परिपत्र गरेका हुन् ।

सत्तागठबन्धन दलले नयाँ संविधान जारी भएपछि पनि परिवर्तनलाई आत्मसाथ गर्न नसक्ने र नचाहने कतिपय शक्तिहरु परिवर्तन विरुद्ध अझैपनि षड्यन्त्रमा रहेको, र संविधानको उल्लंघन गदै संसदमाथी निरन्तर प्रहार, अदालत उपर खेलवाड र सम्वैधानिक अंगहरुमा पैदा गराईएको वेथितिले त्यसको पुष्टि गरेको भन्दै सत्ता गठबन्धन दलले चुनावी तालमेल गरेर जाने निर्णय गरेका थिए ।

त्यसका लागि सत्तागठबन्धन दलको आज पनि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्दैछ । आजको बैठकमा तालमेलको मोडालिटीका बारेमा छलफल हुने नेताहरुको भनाई छ । स्थानीय तह निर्वाचिन बैशाख ३० गते हुँदैछ ।

महानगर र उपमहानगरको अन्तिम निर्णय केन्द्रले गर्ने

माओवादी केन्द्रले महानगर र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारको अन्तिम टुंग्गो केन्द्रीय कार्यालयले गर्ने निर्णयसहितको परिपत्र पार्टी पंक्तिमा गरेको छ । प्रचण्डले जारी गरेको परिपत्रमा महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखको उम्मेदवारको नाम पार्टीको प्रदेश समितिहरुले सर्वसम्मत भए एक -एक जना सर्वसम्मत नभए प्राथमिकता क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेश गर्न भनिएको छ ।

त्यसरी आएको सिफारिसको अन्तिम निर्णय केन्द्रीय कार्यालयले गरी पठाउने प्रचण्डको विशेष परिपत्रमा उल्लेख छ ।
त्यस्तै, नगर र गाँउ पालिकाका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरुको सिफारिस सम्वन्धित पालिका समितिहरुले गर्ने र सम्वन्धित जिल्ला समन्वय समितिहरुको सुझावसहित प्रदेश समितिले उम्मेदवारको अन्तिम टुंग्गो लगाउने भनिएको छ ।

नगर र गाँउपालिकाको प्रमुख -उपप्रमुखको प्रदेश कमिटिले लगाएको टुंग्गोको अनुमोदन केन्द्रीय कार्यालयबाट गराउनुपर्ने निर्णय पनि माओवादीले गरेको छ ।

वडा अध्यक्ष र सदस्यहरुको हकमा सम्वन्धित पार्टी वडा समितिको सिफारिसमा पालिका समितिले निर्णय गर्ने र प्रदेश समितिले अनुमोदन गर्ने प्रचण्डको परिपत्रमा उल्लेख छ ।

प्रचण्डले सवै उम्मेदवारको सिफारिस बैशाख ५ गतेभित्र गरिसक्नुपर्ने पनि परिपत्रमार्फत पार्टी पंक्तिलाई निर्देशन गरेका छन् ।

जिल्लामा एक पालिका प्रमुख महिला, हरेक पालिकामा एक वडा अध्यक्ष महिला हुनुपर्ने

माओवादी केन्द्रले स्थानीय सरकारमा महिलाको कार्यकारी भूमिका सुनिश्चित गर्न पनि उम्मेदवार सिफारिस गर्दा नै विशेष जोड गर्न भनेको छ । प्रचण्डको सर्कुलरमा विजयको सम्भावना भएका पालिकामध्ये प्रत्येक जिल्लामा कम्तीमा एक पालिका प्रमुख वा अध्यक्षमा र प्रत्येक पालिका अन्र्तगत कम्तीमा एउटा वडा अध्यक्षमा महिला उम्मेदवारी दिन विशेष जोड गर्ने भनिएको छ ।
यस अगाडी चैत १८ मा पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीमा उम्मेदवार सिफारिसका लागि छनौट मापदण्ड बनाएर विशेष परिपत्र ३ जारी गरेका थिए ।

विशेष परिस्थितिबाहेक सामान्यतया विगतका जनप्रतिनिधिलाई नदाहोर्याउने, देश जनता, पार्टी र क्रान्तिप्रति निष्ठावान रहेको हुनुपर्ने, स्वच्छ छवि भएको, विजयको सम्भावना भएको लोकप्रिय व्यक्ति छनौटमा ध्यान दिने, पार्टी अनुशासनप्रति निष्ठावान हुनुपर्ने र समानुपातिक समावेशी प्रतिनिधित्वको आधारलाई विशेष ध्यान दिनुपर्ने गरी उम्मेदवार छनौट मापदण्ड माओवादीले यस अगाडी नै बनाईसकेको छ ।

रामकृष्ण अधिकारी

अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया