आइतबार, वैशाख ३०, २०८१

जीतपुर सिमरा उपमहानगर : कुन दलको ‘पोजिसन’ कस्तो ?

शित्तल शर्मा २०७८ चैत २८ गते १९:३५

पथलैया । बाराको दुई उपमहानगरपालिकामा एक हो, जीतपुर सिमरा उपमहानगरपालिका । दुई वटा उपमहानगरसहित १६ वटा स्थानीय तह छन्, यस जिल्लामा ।

Advertisement

अर्काे उपमहानगरपालिका हो, कलैया उपमहानगरपालिका । ०७४ को स्थानीय तह चुनावमा कलैयामा कांग्रेस र जीतपुर सिमरामा एमालेले मेयरमा चुनाव जितेको थियो ।

सत्ता गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा ठाउँ र आवश्यकताका आधारमा गठबन्धन गरेर जाने तयारीमा छन् । एमाले भने सबै दल मिलेर आऊ हामी एक्लै लड्छौँ भनिरहेको छ ।

तर, मेयर र उपमेयर जितेको जीतपुर सिमरा उपमहानगरमा एमालेले पहिलेको आफ्नो वर्चश्व टिकाउन सक्ला ? यतिबेला चर्चा शुरु भएको छ ।
एमालेले नेतृत्व गरेको जीतपुर सिमरा गत स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले गरेको कामको मूल्यांकनका आधारमा कमजोर अवस्थामा छ ।

वित्त आयोग सुशासन समितिले देशभरका ७५३ वटा स्थानीय तहमा गरेको कार्य क्षमता, सुशासनलगायतलाई आधार बनाएर प्रकाशित गरेको प्रतिवेदनमा जीतपुर सिमराको रेकर्ड कमजोर छ । अर्थात, सबै स्थानीय तहमध्ये सबैभन्दा कमजोरबाट हेर्दा दोस्रोमा जीतपुर सिमराको रेकर्ड देखिन्छ । यसरी हेर्दा यहाँको कार्य प्रगति विवरण अन्य स्थानीय तहको तुलनामा नाजुक अवस्थामा छ ।

गत चुनावमा एक्लाएक्लै लडेका कांग्रेस, एमाले र माओवादीको मतान्तर धेरै ठूलो छैन । मेयरमा एमालेले १४ हजार ८६५ मत ल्याएर चुनाव जितिरहँदा कांग्रेसका उम्मेदवारले ११ हजार ९९५ र माओवादीका उम्मेदवारले ११ हजार २५१ मत ल्याएका थिए ।

एमालेबाट मेयरमा निर्वाचित डा. कृष्णप्रसाद पौडेल त्यसबेला कांग्रेस र माओवादीका अन्य प्रतिस्पर्धी दुई उम्मेद्वारभन्दा परिचित अनुहार थिए ।

उनी पीएचडीसम्म अध्ययन गरेका, राजनीतिमा लामो समय व्यतित गरेका र तत्कालीन जीतपुर गा.वि.सका अध्यक्ष भइसकेका र चुनावी अनुभव बटुलिसकेका नेता थिए । कांग्रेसका उम्मेदवार कृष्णवर्त सिंह पनि परिचित थिए । तर, माओवादीका उम्मेदवार राजन पौडेल उनीहरूको तुलनामा नयाँ थिए । उनीसँग चुनावी अनुभव थिएन । त्यसबेला माओवादीको पार्टी संगठन बनिसकेको अवस्था थिएन । तर, पौडेलले जितेका एमाले उम्मेदवार र कांग्रेसका उम्मेदवारसँग प्रतिस्पर्धी भोट ल्याए ।

गत चुनावी परिणाममा एमालेका पौडेल पहिलो, कांग्रेसका सिंह दोस्रो र माओवादीका पौडेल तेस्रो भए । तर, त्यसयता चुनावी परिणामपछि जनतासँगको हिमचिम, कोभिड कालमा पौडेलले खेलेको भूमिका र निरन्तर उपमहानगरमा रहेर गरिरहेको राजनीतिले भने जनतासँगको घुलमिलका आधारमा माओवादीका पौडेल पहिलो, मेयरसमेत रहेका एमालेका पौडेल दोस्रो र कांग्रेसका सिंह तेस्रो अवस्थामा रहेको स्थानीयहरू बताउँछन् ।

यस हिसाबले कांग्रेस माओवादीसहितका सत्ता गठबन्धनमा पाँच दल एक ठाउँमा उभिँदा एमालेले जीतपुर सिमरा उपमहानगरको विरासत जोगाउन सक्ने देखिदैन । गत स्थानीय तह चुनावलाई आधार बनाएर हेर्दा एमालेभन्दा गठबन्धन दल झण्डै ८ हजार बढी मतले भारी देखिएको छ ।

विगत समीक्षा

हेर्नुहोस् गत चुनावमा मेयर र उपमेयरले पाएको मतभार

मेयरमा

नेकपा एमाले १४ हजार ८६५ मत
नेपाली कांग्रेस ११ हजार ९९५ मत
माओवादी केन्द्र ११ हजार २५१ मत
राजपा (हालको लोसपा) २ हजार ८०४ मत

उपमेयरमा

नेकपा एमाले १४ हजार ४४९ मत
नेपाली कांग्रेस १२ हजार ४९५ मत
माओवादी केन्द्र१० हजार ८६६ मत
राजपा (हालको लोसपा) ३ हजार ३९ मत

यो उपमहानगरका २४ वडामध्ये सबैभन्दा बढी १० वटा वडामा माओवादी केन्द्र, ७ वटामा एमाले, ५ वटा वडामा कांग्रेस र २ वटा वडामा राजपा (हालको लोसपा)ले जितेको थियो ।

हेर्नुहोस् गत चुनावमा वडामा मुख्य दलको मतभार

वडामा दलहरुले ल्याएको मतका आधारमा हेर्दा


चुनावमा कतिपय सन्र्दभमा जातियताले पनि जितहारको निधो लगाउने हुन्छ । यस आधारमा जीतपुर सिमरामा अहिले रहेको जनसंख्याका आधारमा जातिगत अवस्था नियाल्यौँ :

खस आर्य १९ प्रतिशत
मधेसी १९ प्रतिशत
थारु १५.२० प्रतिशत
मुस्लिम १३.५७ प्रतिशत
तामाङ १२.७३ प्रतिशत
दलित १०.२५ प्रतिशत
मगर ३.६३ प्रतिशत
नेवार २.६७ प्रतिशत
अन्य ३.९ प्रतिशत

अहिले कुन दल बलियो ?

नेकपा एमाले

जीतपुर सिमरामा नेकपा एमालेले मेयर र उपमेयरसहित ७ वटा वडामा चुनावमा जितेको थियो । अहिले मेयर डा. पौडेल आफै उम्मेदवार बन्न लागे पनि उनको सम्भावना कमजोर रहेको त्यहीका एमालेहरू बताउँछन् ।

उनीपछि अहिलेका उपमेयर सरस्वती चौधरी मेयरका आकांक्षी छिन् । उनी एमालेको केन्द्रीय सदस्यसमेत बनेकी छिन् । तर, उपप्रमुख भइरहँदा उनीमाथि पसाह खोलाको नदीजन्य पदार्थ उत्खनन तथा बिक्री सम्बन्धमा अख्तियारले अझै छानविनको क्रममा राखेको छ । गत भदौं २४ मा उनीसहितलाई अख्तियारले पत्र काटेर १५ दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशनात्मक आदेश जारी गरेको थियो । त्यसयता यो विषय अझै छानबिनकै क्रममा छ ।

एमालेमा अर्काे दाबेदार हुन्, भोला अधिकारी । उनी गत स्थानीय तहको चुनावमा वडा नम्बर २ मा वडाध्यक्षमै पराजित भएका थिए । तर, उनी दुई कार्यकाल तत्कालीन पिपरा सिमरा गाउँका अध्यक्ष भएका थिए ।

अर्काे, आकांक्षी हुन्, कासिन हुसेन । उनको राजनीतिक र सांगठनिक होल्ड त्यति देखिदैन । तर, सिमरा खानेपानीको चुनावमा उनले पटक–पटक जितेका थिए । मुस्लिम समुदायको भोट उनले तान्न सक्छन् कि भनेर उनलाई उम्मेदवार बनाउने विषयमा पनि एमालेभित्र छलफल चलिरहेको देखिन्छ ।

अर्काे दाबेदार नारायण क्षेत्री हुन् । उनी तत्कालीन डुमारवाना गाविसका पूर्व अध्यक्ष । साना किसान सहकारी संस्थाका पहिला अध्यक्ष पनि भएका र लामो समय महाप्रबन्धक भएका उनी सुकुम्बासी आयोगका अध्यक्ष पनि भएका थिए । तर, उनी पनि विवाद मुक्त छैनन् । साना किसानको विवादमा परेपछि उनले पछिल्लो चरण राजीनामा दिएर बाहिरिनु परेको थियो ।

अर्काे आकांक्षी हुन्, एमालेका तर्फबाट मनोज पौडेल । उनी अघिल्लोपटकको चुनावमै पनि दाबेदार थिए । पछिल्लो नेकपाको अन्तर संर्घषमा उनी माधव नेपाल समूहमा रहे, पुरुषोतम पौडेलनिकट नेता भएर । पछिल्लो अन्तर संर्घषमा एमालेभित्रको १२२ बुँदे पक्षधरका रुपमा उनको परिचय छ ।

जसका कारण एमालेभित्रकै सांगठनिक राजनीतिक पोजिसन उनको कमजोर देखिन्छ । त्यसमाथि उनी जीतपुर सिमरा गएर बसेको लामो समय भएको छैन । उनले स्थानीय मनोविज्ञान बुझ्न सक्दैनन् भनने आरोप छ ।

नेपाली कांग्रेस

कांग्रेसमा पनि जीतपुर सिमरामा पहिलेको जस्तो संगठनात्मक आधार देखिदैन । कांग्रेसको स्थानीय नगर सम्मेलन, क्षेत्रीय सम्मेलन, जिल्ला सम्मेलनमा देखा परेको अन्तरविरोध कांग्रेसमा अझै मेटिन सकेको छैन ।

केन्द्रमा शेरबहादुर देउवाले गठबन्धन गर्ने बताए पनि त्यहाँका मेयरका आकांक्षीसम्मलाई सहभागी गराएर शेखर कोइराला पक्षले चर्काे गुटबन्दी गरिरहेको छ । गत चुनावमा मेयरमा पराजित भएका कर्ण आफ्नै पार्टीका कार्यक्रममा देखिए पनि चुनावपछि जनतासँग त्यति घुलमिलमा छैनन् ।

पार्टीको महाधिवेशनपछि भएको जिल्ला सम्मेलनले झन कांग्रेसभित्र अन्तर विरोध चर्किएको छ । आफ्नै पार्टीका नेता कार्यकर्ताको मतसमेत आन्तरिक चुनावी प्रतिस्पर्धामै खरिद बिक्रीसम्म भएपछि कांग्रेसमा एकले अर्काे पक्षलाई स्वीकार्ने स्थिति देखिदैन ।

अहिले कांग्रेसको बारा सभापति कलैया उपमहानगरका मेयर छन् । उनले जिल्ला सभापति जित्न कलैयाको उपमहानगरको मेयरमा रामनन्द यादवलाई टिकट दिने सम्झौता गरेको आरोप लागेको छ ।

पार्टीभित्रकै लफडामा रुमल्लिरहेको कांग्रेसभित्र शेखर कोइराला पक्षका भनेर देखिएका कृष्ण मरासिनी, कृष्णव्रत सिंह, नारायणी रायमाझी, श्यामबाबु गुप्ता, ओमकृष्ण कार्कीहरू प्रत्याशीका रुपमा देखा परेका छन् ।

कांग्रेसको गठबन्धन हुँदै गर्दा एउटा पक्षले गठबन्धनको उम्मेदवारलाई पनि मत नदिने अवस्था देखिएको छ । गठबन्धन गर्दा चाहे त्यो कांग्रेस होस् वा माओवादीकै उम्मेदवार किन नहोस् । यसलाई सन्तुलन मिलाउन कांग्रेसलाई हम्मेहम्मे पर्ने देखिएको छ ।

माओवादी केन्द्र

गत चुनावमा संगठनात्मक जालो निर्माण गरिनसक्दै चुनावमा होमिएको माओवादीले अहिले उपमहानगरभित्रै पार्टीका ४८ सय संगठित सदस्य निर्माण गरेका छन् ।

उपमहानगरका २४ वटा वडामै वडा कमिटी र आवश्यकताका आधारमा टोल कमिटी छ । नेकपाबाट माओवादीमै रुपान्तरित भएपछि माओवादीले संगठनात्मक जालो विस्तार गरेको देखिन्छ । त्यस क्रममा उसले कांग्रेस, एमाले, लोसपा, मधेसवादी दलमा रहेका स्वतन्त्र खालका सामाजिक मान्छेलाई संगठित गर्ने काम गरेको दाबी गरेको छ ।

पार्टीभित्रको आन्तरिक विवाद पनि माओवादीले जीतपुर सिमरामा मिलाएको देखिन्छ । केन्द्रमा माओवादीका कतिपय जनसंगठन र पार्टीकै समेत पदाधिकारी र कमिटीहरू बन्न नसकिरहेका बेला सम्भवत पहिलोपटक जीतपुर सिमरा नगर कमिटी माओवादीले चुनावी प्रक्रियाबाट चुनेको छ ।

वडाबाट सम्मेलन गर्दै आएर नगर सम्मेलनमा नगर कमिटी चयन गर्दा पनि र नगरका पदाधिकारी, प्रदेश प्रतिनिधिसम्म उसले यहाँ चुनावबाटै छानेको थियो । यसले जित्नेलाई पनि काम गर्ने उत्साह र हारेकालाई पनि पार्टी निर्माणमा लाग्ने गरी क्रियाशिल बनाएको छ ।

यो चुनावमा माओवादीबाट राजन पौडेल एक्ला उम्मेदवार जस्तो देखिएका छन् । भित्र अन्य केहीले आकांक्षा राखे पनि अहिले त्यहाँ माओवादीका पौडेल नै एक्ला उम्मेदवार बन्न पुगेका छन् ।

गत चुनावमा पनि उनी नै माओवादीका उम्मेदवार थिए । त्यसबेला उनी धेरै परिचित थिएनन् । सबै वडाका मतदातासँग घुलमिलमा थिएनन् । तर अहिले उनी परिचित मात्रै होइन, जनतासँगको घुलमिलमा अन्य पार्टीका आकांक्षीभन्दा बलियो देखिएका छन् ।

कोभिड र अन्यबेलामा पनि उनी निरन्तर जनतासँगै जोडिएर सिमरामा बसेर काम गरेका थिए । यसले पनि उनी जर्वजस्त बलियो उम्मेदवारको रुपमा देखिएका छन् ।

निर्वाचित मेयरको काम गराईबाट जनतामा देखिएको असन्तुष्टि, पराजित उम्मेदवार फिल्डमै निरनतर नदेखिँदा उनी भने जनतासँगै देखिइरहँदा उनका लागि अहिले वातावरण सकारात्मक बनेको चर्चा जीतपुर सिमरामा हुने गर्छ ।

उनी विवादमुक्त माओवादी नेता हुन् । उनलाई वौद्धिक, वैचारिक र सरल जीवन शैली र पारदर्शी नेताका रुपमा जीतपुर सिमरामा चिन्ने गरिन्छ ।

एकीकृत समाजवादी

एकीकृत समाजवादीको जीतपुर सिमरा उपमहानगरमा २४ मध्ये १६ वटा वडाको प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्र नम्बर ४ (क) का प्रदेश सांसद सुन्दर विश्वकर्मा एमाले छोडेर एकीकृत समाजवादीतिर लागेकका छन् । उनी अघिल्लोपटक नेकपा एमालेको जिल्ला अध्यक्ष थिए ।

त्यसैगरी समानुपातिक प्रदेश सांसद सीता गुरुङ जीतपुर सिमराकै मतदाता हुन । उनी पनि समाजवादीतिर लागेकी छन् । उसले यो उपमहानगरमा नेतृतव नै दाबी गरेको अवस्था छैन । अघिल्लो चुनावमा एमालेबाट जितेकामध्ये एक जना कार्यपालिका सदस्य पनि समजवादीतिर खुलेका छन् ।

जसपा/लोसपा

जीतपुर सिमरामा जसपाको सांगठनिक प्रभाव लोसपाको भन्दा कम देखिन्छ । गत स्थानीय तह चुनावमा चौथो दलका रुपमा राजपा (हालको लोसपा) देखिएको थियो । उसले २ वटा वडाध्यक्ष जितेको थियो ।

अघिल्लो चुनावमा २८ सय बढी मत मेयर उपमेयरमा राजपा (लोसपा)का उम्मेदवारले ल्याएका थिए । यस अर्थमा लोसपाले चुनाव नजिते पनि उसको मत तान्ने कसरतमा गठबन्धन र एमाले दुवै लाग्ने देखिन्छ । तर, एमालेले अहिलेसम्म आफै चुनाव जित्ने दाबी गरिरहेकाले त्यहाँ लोसपासँग गठबन्धनका लागि अहिलेसम्म कुनै छलफल चलेको देखिदैन ।

जसपा गत चुनावमा भन्दा यसपटक केही बलियो अवस्थामा देखिन्छ । खासगरी अघिल्लो स्थानीय निर्वाचनमा एमालेबाट मेयरमा आकांक्षी रहेका भरतबहादुर खड्का जसपामा पुगेका छन् ।

जीतपुर सिमरामा टिकट नपाएपछि उनले पछि प्रदेश चुनावमा स्वतन्त्रबाट उम्मेदवारी दिए । अहिले उनी जसपामा पुगेका छन् । उनी जसपाको केन्द्रीय सदस्य छन् ।
त्यस्तै, जीतपुर सिमरा गढीमाई नगरपालिका हुँदै नै एमालेका नगर कमिटी अध्यक्ष रहेका सोहम शर्मा पनि अहिले जसपामा पुगेका छन् । गत चुनावमा उनी एमाले उम्मेदवार जिताउन लागिपरेका थिए ।

कम्युनिष्ट विभाजनको विश्लेषण

एमाले माओवादी २०७४ को संघ र प्रदेशको चुनावमा गठबन्धन गरेर लडे । त्यसपछि दुई पार्टीको एकता भयो । तर, एकता धेरै टिकेन । एकता नटिक्दा एउटै कम्युनिष्ट बनेका पार्टीमा तीन टुक्रामा विभाजन आयो । एमाले र माओवादी उही रुपमा रहे । एमालेबाट माधव नेपाल पक्षले पार्टी विभाजन गरे ।

एमालेभित्रको अन्तर संर्घषमा बारा जिल्लामा विगतमा माधव नेपाल पक्षको पकड थियो । तर, त्यसबेला कमजोर रहेकाहरू अहिले एमालेको जिल्ला नेतृत्वमा हाबी भएर आएका छन् ।

२०७४ को स्थानीय तह चुनावमा अन्तरघात गर्न बागी उम्मेदवारी दिएका उद्धव गौतमहरू अहिले एमालेमा हाबी भएका छन् । जसले एमालेभित्र पनि असन्तुष्टि चुलिएको देखिन्छ ।

अर्काेतिर बारा क्षेत्र नम्बर ३ (क)मा माओवादीबाट प्रदेश सांसदमा निर्वाचित नेतृ ज्वाला शाह माओवादी छोडेर एमालेतिर लागेकी छन् । उनी अहिले एमालेको पोलिटब्युरो सदस्य छिन् ।

उनी पनि जीतपुर सिमराकै मतदाता हुन् । उनीसँग उनको श्रीमान अमरेश शर्मा बजगाई र अशोक लामा सँगै एमालेमा पुगेका छन् ।

एमालेको जीतपुर नगरको अघिल्लो नगर अध्यक्ष समाजवादीतिर लागेका छन् । एमाले कालीन नेकपाका केश दिनेश राई समाजवादीतिर लागेका छन् । त्यस्तै कांग्रेसबाट निर्वाचित वडाध्यक्ष रसुल मियाँ एमालेमा लागेका छन् । माओवादीबाट निर्वाचित २३ नम्बर वडाका असलम देवान पनि एमाले प्रवेश गरेका छन् ।

उनी पाण्डे परिवारलाई जीतपुर सिमराको सार्वजनिक जग्गासम्बन्धी विवादमा परेका थिए । यसले गर्दा विगतको मतमा केही घटबट हुने देखिएको छ ।

सत्ता गठबन्धनमा को ?

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गर्ने निर्णय गरेकाले सत्ता गठबन्धनबाट अबको मेयर उम्मेदवार को ? भन्ने चर्चा जीतपुर सिमरामा चल्न थालेको छ ।

तर, महानगर र उपमहानगर सकभर माथि केन्द्रबाटै निर्णय लिने तयारीमा गठबन्धन रहेकाले यसको छिनोफानोका लागि सबै आकांक्षीले केन्द्रतिर मुख ताकेर बसेका छन् ।

जीतपुर सिमरा गठबन्धनभित्रबाट माओवादी केन्द्रले पाउने सम्भावना बलियो देखिएको छ । यो उपमहानगर एक्लै परे पनि जित्ने दाबीसहित बसेको माओवादीको गत स्थानीय तह चुनावमा वडाका वडा अध्यक्षहरूले ल्याएको मतका आधारमा विश्लेषण गर्ने हो भने कांग्रेसभन्दा झण्डै दुई हजार बढी मत देखिन्छ ।

त्यसमाथि माओवादीले ११ वटा उपमहानगरमा सबैभन्दा राम्रो मत यही उपमहानगरमा ल्याएको रेकर्डमा देखिन्छ । महानगर उपमहानगरमै सबैभन्दा बढी गत चुनावमा जनप्रतिनिधि माओवादीले जितेको पनि सम्भवत यही जीतपुर सिमरा नै हो । जहाँ माओवादीका ४५ जना जनप्रतिनिधि गत चुनावमै जितेका थिए ।

माओवादी जीतपुरमा यसकारण पनि बलियो देखिएको छ की, त्यहाँ रहेको बारा पर्सा औद्योगिक क्षेत्रभित्रको जगदम्बा, हुलास सूर्य नेपाललगायतका ठूला औधोगिक प्रतिष्ठानमा माओवादीको एकलौटी संगठन छ ।

सेक्युरिटी मजदुरमा त झन माओवादी मजदुर संगठनको एकलौटी छ ।
यसको प्रभाव उपमहानगरको चुनावमा पर्ने भएकाले पनि माओवादी यो उपमहानगरमा सत्ता गठबन्धन दलभित्र सबैभन्दा बलियो देखिन्छ ।

त्यसमाथि बारामै दुइटा उपमहानगर रहेको र कलैयामा कांग्रेसले दाबी नछोड्ने भएकाले जीतपुर सिमरामा पनि माओवादीले दाबी छोड्ने देखिदैन ।

माओवादीलाई अन्य उपमहानगरभन्दा यो उपमहानगर आफ्नै मतले पनि धेरै हदमा सुरक्षित रहेकाले उसको दाबी जीतपुर सिमरामा बलियो देखिन्छ । तर, गठबन्धनमा कसले यो उपमहानगरको नेतृत्व हत्याउँछ भन्नेमा भन्ने हेर्न भने केही दिन कुर्नै पर्ने देखिएको छ ।

०००

प्रतिक्रिया