सोमबार, जेठ ७, २०८१

सशस्त्रभित्र आईजीपीभन्दा एआईजीपी बन्न तीव्र प्रतिस्पर्धा

दया दुदराज २०७८ चैत २७ गते १८:४१

काठमाडौँ । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल भोलि अर्थात चैत २८ गते अनिवार्य अवकाशमा जाँदै छन् । उनको अवकाशपछि सशस्त्रको २१ दिने महानिरीक्षकको लागि एआईजी पुष्पराम केसीलाई नियुक्त गर्ने तयारी रहेको उच्च स्रोतको दाबी छ ।

Advertisement

स्रोतका अनुसार सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले केसीलाई महानिरीक्षकमा नियुक्त गर्ने सम्भावना छ । केसीले २०४९ वैशाख १८ गते नेपाल प्रहरीमा प्रहरी निरीक्षकका रुपमा सेवा प्रवेश गरेका थिए ।

उनी २०५८ सालमा डीएसपीमा बढुवा भएर सशस्त्रमा प्रवेश गरेका थिए । महानिरीक्षक बन्नका लागि केसीसँगै एआईजी रामशरण पौडेल पनि प्रतिस्पर्धामा छन् । यद्यपि, २१ दिनका लागि वरियता नमिचेर केसीलाई नै आईजीपी बनाउने सहमति सत्तारुढ दलबीच भएको छ ।

एआईजी बन्न तीव्र प्रतिस्पर्धा

शैलेन्द्र खनालको अवकाशपछि २१ दिनका लागि हुने आईजीपीभन्दा त्यसपछि रिक्त हुने एक एआईजीको बन्ने भन्नेमा सबैको ध्यान केन्द्रीत छ । प्रतिस्पर्धीबीच पनि सबैभन्दा बढी त्यसमा ध्यान केन्द्रीत छन् ।

तीन जना डीआईजीहरू राजु अर्याल, नारायणदत्त पौडेल र सिपी गौतमबीच एआईजी बन्ने प्रतिस्पर्धा रहेको देखिन्छ । प्रतिस्पर्धामा रहेका तिनै जना एकै दिन डीआईजीमा बढुवा भएका थिए । २१ दिनपछि उनीहरूमध्येकै एक जनाले सशस्त्र प्रहरीको नेतृत्व समहाल्ने हुँदा तीव्र प्रतिस्पर्धा भएको हो ।

प्रतिस्पर्धामा रहेका अर्याल एक नम्बरमा छन् । पहिलो नम्बरमा भए पनि उनको हकमा दोस्रो नम्बरमा रहेका पौडेल र तेस्रो नम्बरमा रहेका गौतमले चुनौती दिइरहेका छन् । अर्याल पहिलो नम्बरमा भएकाले स्वभाविक रुपमा उनको सम्भावना बढी छ । तर, राजनीतिक पहुँचका आधारमा पौडेल र गौतमले अर्याललाई टक्कर दिएका हुन् ।

प्रतिस्पर्धामा रहेका अर्याल काठमाडौँका स्थायी बासिन्दा हुन् । उनलाई काठ क्षेत्रका कांग्रेसी नेताको साथ छ । सुर्खेत घर भएका पौडेलको पक्षमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, माओवादी नेतासमेत रहेका अर्थमन्त्री जनार्दन शर्मा, पूर्व गृहमन्त्री शक्ति बस्नेत र नेता महेन्द्र बहादुर शाहीसम्म उनको बढुवाका लागि दबाब दिँदै आएको स्रोतको दाबी छ ।

केही दिनअघि आईजीपीको दौडमा कमजोर देखिएका तेस्रो वरियताका गौतम पछिल्ला दिनमा बलियो भएका छन् । स्रोतका अनुसार गौतमले आफूलाई प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणको साथ रहेको दाबी गरेका छन् ।

नेपाली सेनामा कमाण्ड सम्हालेको आधारमा वरिष्ठता निर्धारण गरिने प्रचलन रहेजस्तो अर्ध सैन्य संरचनाको रुपमा रहेको सशस्त्रमा समेत कमाण्ड गरेका आधारमा वरिष्ठ निर्धारण गर्दा आफू पहिलो नम्बरमा रहेको उनको जिकिर छ । सोही आधारमा अर्याल र गौतमभन्दा आफू वरिष्ठ रहेको उनको दाबी छ ।

प्रधानमन्त्री देउवा र गृहमन्त्री खाँणले कसैको पक्षम खुलेर पक्षधरता देखाएको अवस्था नहुँदा सशस्त्रमा एआईजी बढुवको क्लाइमेक्स अझै अन्योलमा पर्दै गएको छ ।

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया