शनिबार, वैशाख ८, २०८१

‘हामी एक्लै वीरगञ्ज महानगर जित्न सक्छौँ’

मेरोन्यूज २०७८ चैत २६ गते ७:४५


२०७४ सालको स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएपछि रहबर अन्सारी चर्चामा आए । मेयरमा अर्कैले बाजी मारे । त्यसयता पनि उनी वीरगञ्जमा चर्चामै छन् । सुशासन विषयमा हंगेरीको बुडापेष्टस्थित सेन्ट्रल युरोपियन युनिभर्सिटीबाट स्नाकोत्तर गरेका उनी त्यतिबेला महानगरमा उम्मेदवार बनिरहँदा राजनीतिमा नौला थिए । वीरगञ्जको सडक सुधार, फोहर मैला व्यवस्थापन र स्थानीय स्तरमै रोजगार सृजना गर्ने नारासहित उनी आफूलाई साथ दिनुस्, विकसित वीरगञ्जका लागि भन्ने नारा लिएर चुनावी प्रचारमा थिए । त्यसबेला मेयरमा चुनाव लड्दै गर्दा उनको पार्टी माओवादी केन्द्रले ३२ वडा रहेको वीरगञ्ज महानगरका कतिपय वडामा उम्मेदवारीसमेत दिएको थिएन ।

चुनाव जित्नका लागि मेयरका उम्मेदवारको पार्टीले सबै वडामा उम्मेदवारी दिए मात्रै जित्न सजिलो हुन्थ्यो । तर, उनको पार्टीको संगठन नै कतिपय वडामा नपुगेकाले त्यस्ता वडामा उम्मेदवारबिना पनि उनी चुनावमा गए । तर अहिले परिस्थिति फेरिएको रहबर बताउँछन् । अहिले महानगरमा माओवादी केन्द्रको राम्रो जनाधार निर्माण भएको, संगठन नपुगेका वडामा मात्रै होइन, वडाभित्रको टोल टोलमा अहिले कमिटी रहेको उनी बताउँछन् । अन्य पार्टीसँग विकसित वीरगञ्जको लागि भिजन नै नभएको बताउने रहबर यसपटक पनि मेयरको बलियो प्रतिस्पर्धी हुन् । प्रस्तुत छ माओवादी केन्द्रका वीरगञ्ज महानगर कमिटीका अध्यक्षसमेत रहेका रहबर अन्सारीसँग मेरोन्यूजले गरेको कुराकानीको सम्पादित अंश :-

* २०७४ को स्थानीय तह चुनावमा वीरगञ्ज महानगरको मेयरमा उम्मेदवार भएपनि तपाईले जित्न सक्नुभएन, तर तपाईको चर्चा त्यसवेला निक्कै थियो, युवा पुस्ताका नेता, नयाँ भिजन देखाउनु भएको थियो, उम्मेदवार भएर चुनावी अनुभव पनि तपाईसँग त्यसवेला नयाँ नै थियो, यो पटक तपाईको तयारी के छ ? कि मैदान छोड्नुभयो ?

मैदान छोडेको छैन । २०७४ को स्थानीय तह चुनाव हुँदै गर्दा हाम्रो पार्टी नेकपा माओवादी केन्द्रको कतिपय वडामा पहिला संगठन नै थिएन । वडाहरूमा उम्मेदवार हुने नेताहरू नै थिएनन् । तर पनि हामीले महानगरमा उम्मेदवारी दियौँ र जनताका अगाडि उभियौँ । मेयरको दावेदारीमा छौँ भनेर उभियौँ ।

यो साढे ४ वर्षको अवधिमा हामीले वडाहरूमा वडा कमिटी, वडाभित्रका टोल टोलमा टोल कमिटी बनाएका छौँ । संगठन बनाएका छौँ । जतिखेर हामीसँग कतिपय वडामा उम्मेदवार पनि थिएनन् । त्यस्तो बेला पनि हामी चुनावमा एउटा प्रष्ट भिजनसहित होमिएका थियौँ । तर अहिले हामीसँग लगभग महानगरको आधाभन्दा बढी वडामा राम्रो मत ल्याउन सक्ने उम्मेदवार तयार भइसकेका छन् । राम्रा राम्रा आकांक्षी साथीहरू प्रष्ट भिजनसहित देखिनु भएको छ । उहाँहरूले वडामा जनतासँग राम्रो सम्बन्ध स्थापित गर्नु भएको छ । जनतासँग भिजेरै सुखदु:खका साथी बन्नु भएको छ । हाम्रो लागि त्यो बेलाभन्दा अहिले संगठनात्मक रुपमा बल मिलेको छ ।

अर्काेकुरा, त्यसबेला हामी चुनावमा जाँदा युवाहरूको बीचमा, विशेषगरि कलेजमा बढी फोकस गरेर पुगेका थियौँ । तर अहिले निरन्तर म आफैँ महानगरका हरेक वडामा खटिइरहेको छु । जनतासँग निरन्तर सर्म्पकमा बसेको छु । जनताका आम समस्या समाधानका लागि खटेको छु । जनताका दैनिक जनजीवनमा परेका समस्याको समाधान माओवादीले पनि दिन्छ भन्ने अनुभूति यो साढे ४ वर्षको बीचमा गराइएको छु ।

पहिला यी सबै कुराको हामीमा ‘ग्याव′ थियो । पहिला कुनै टोल–समाजमा कसैका केही समस्या आउने बित्तिकै नेपाली कांग्रेस, एमाले, जसपाकोमा जाने हुन्थ्यो । माओवादीका नेताकहाँ आउने अवस्था थिएन । तर अहिले धेरै जसो वडाका समस्या मतिर ठोक्किन आउने गरेको छ । मैले त्यस्ता समस्याको धेरैजसो समाधान दिएको छु । जनताका समसयाका धेरै कुरामा सहजीकरण पनि गरेको छु ।

त्यो हिसाबले मलाईं लाग्छ, अहिले महानगरका वडाको संगठनको अवस्था र राम्रो ढंगले जनता र संगठनबीच तादाम्यता मिलाउँदै परिचालन गर्न सक्यौँ र त्यहीअनुसारको भिजनसहित हामी प्रस्तुत हुन सक्यौँ भने अहिलेको समयमा हामी वीरगञ्ज महानगरमा बलियो छौँ । हामी जित्न सक्ने अवस्थामा छौँ ।

* चुनावी गठबन्धनका कुरा पनि छन्, तपाईं आबद्ध पार्टी माओवादी केन्द्रले कांग्रेस, जसपासहितका सत्ता गठबन्धन दलसँग गठबन्धन गर्ने कुरा केन्द्रमा समझदारी गरेको छ । प्रदेश, जिल्ला, पालिका स्तरमा गठबन्धन दलको सन्यत्र नै निर्माण गरेर भागबण्डाको गृहकार्य गरिरहेको छ । त्यसो हुँदा वीरगञ्जको नेतृत्व जसपाले लैजान्छ भन्ने चर्चा पनि छ । त्यस्तो अवस्थामा के गर्नुहुन्छ ?

जसपालाई नै किन ? यहाँको मेयरमा कांग्रेसको पनि दाबी सुनिएको छ । हाम्रो पनि बलियो दाबी छ । जसपालाई दिने भन्ने कुरा गठबन्धनले कुनै ठोस निर्णय गरेको छैन ।

गठबन्धनले निर्णय गरिनसकेकाले कांग्रेसले हामी कुनै पनि हालतमा छोड्दैनौँ, छोड्नु पर्ने हो भने त्यस्तो स्थितिमा तालमेल गर्दैनौँ भनेर कांग्रेसले भनिरहेको छ । कांग्रेसले केहीअगाडि मात्रै पत्रकार सम्मेलन गरेर कुनै पनि पालिकामा तालमेल गर्दैनौँ भनेर वक्तव्य दिए । गठबन्धन दलको सन्यत्रको बैठकमा पनि कांग्रेस सहमति नगर्ने मनस्थितिमा बुझिन्छ । त्यो हुँदा जसपाकै उम्मेदवारलाई पनि कांग्रेसका उम्मेदवारले स्वीकार नगरेको अवस्था छ ।

हाम्रो पनि हामीलाई दिनुस् भन्ने छ गठबन्धनभित्र । होइन, अलग भएरै लड्ने हो भने पनि हामी उहाँरूभन्दा कमजोर छैनौँ, एक्लै लड्दा पनि हामी जित्छौँ भन्ने हाम्रो मूल्यांकन छ ।

* गठबन्धन गर्दा वीरगञ्ज महानगरमा कसरी गर्नुपर्ला ? तपाईको कुनै त्यस्तो ठोस प्रस्ताव छन् ?

गठबन्धनको उद्देश्य जुन ठाउँमा एमाले बलियो उपस्थितिमा छ, त्यहाँ गठबन्धन गरेर चुनावमा जाने भन्ने हो । मलाई तपाईंले व्यक्तिगत रुपमा सोध्नु हुन्छ भने वीरगञ्जमा एमालेको उपस्थिति कमजोर छ । कुनै पनि हिसाबले एमाले यहाँ न कांग्रेस, न जसपा, न माओवादी केन्द्र कोहीसँग पनि प्रतिस्पर्धामा छैन । असाध्यै कमजोर रहेको देख्छु ।

एमालेभन्दा हामी तीन वटै पार्टी वीरगञ्जमा बलियो छौँ भने वीरगञ्ज महानगरको मेयरमा हामीले किन सम्झौता गर्ने ? अरुलाई किन दिने ? हामी एक्लै लड्दा पनि वीरगञ्ज महानगरमा हाम्रो ‘चान्स′ कम छैन । हामी पनि जित्न सक्छौँ । त्यो जनमत अहिले हाम्रो बनेको छ । हेरौँ उहाँहरु कसरी आउनुहुन्छ ? त्यसपछि नै हामीले पनि हाम्रो धारणा तय गर्ने कुरा आउँछ । अहिलेलाई यो महानगरको मेयरमा हाम्रो पनि बलियो दाबी छ ।

* भनेपछि एक्लै पनि माओवादी केन्द्र चुनाव लडेर जित्न सक्छ भन्ने तपाइको मत ?

हो, जरुर । वीरगञ्ज महानगरमा हाम्रो लोभ लाग्दो रुपमा बनेको संगठन, नेता–कार्यकर्तामा देखिएको उत्साह, पार्टी र जनताका बीचमा देखिएको नङ र मासुको जस्तो सम्बन्ध विकसित हुँदै गएका छ । हामी मात्रै पनि प्रतिस्पर्धामा गयौँ भने वीरगञ्जमा जित्न सक्छौँ भन्ने आत्मविश्वास पलाएको छ ।

* तपाईंले दाबी गरिरहनु भएको छ, तर महानगरमाथिबाट केन्द्रले नै टुंग्गो लगाउने, गठबन्धन गरेरै जाने भन्ने शीर्ष नेताहरूका छलफलमा देखिन्छ । अब भागबण्डा नै गरेर जाने भएपछि तपाईं पनि महानगर कमिटीको माओवादीको अध्यक्ष नै हुनु हुन्छ, भागबण्डाको ‘फर्मुला′ बनाउँदा वीरगञ्ज महानगरमा कस्तो बनाउनु पर्ला ?

भागबण्डा गर्ने फर्मुलाका रुपमा विगतमा जुन पालिका जुन पार्टीले जितेको हो, उसैलाई दिएर जानुपर्छ भन्ने पनि आएको छ । तर त्यो गलत हो जस्तो मलाई लाग्छ । विगतमा वीरगञ्ज महानगरपालिका जसपाले जितेको हो । तर जसपाका जुन उम्मेदवारले जितेका थिए । उनी अहिले एमालेमा गइसकेका छन् । जसपाले अर्काे पार्टीका उम्मेदवारलाई ल्याएर जसपाबाट चुनाव लडाउन भनेर संरक्षण गर्न खोजेको छ । मलाईं लाग्छ, त्यो जनताका अगाडि पनि न्यायोचित हुँदैन ।

जतिसुकै जे भने पनि स्थानीय चुनावमा हामी प्रस्तुत हुने भनेको जनताका अगाडि हो । पार्टी एक ठाउँ छ,, गठबन्धन एक ठाउँ छ, भागबण्डा एक ठाउँ छ, तर अन्तिममा जनताले पचाउन सक्ने उम्मेदवारलाई पार्टीले उठाउनु पर्ने हुन्छ । हुनत पार्टीले उम्मेदवार उठाइरहँदा पार्टीको सदस्यता, पार्टीका संगठनदेखि धेरै कुराहरू हेर्ला ।

तर आम जनतामा महानगरको उम्मेदवार भन्दै गर्दा को उम्मेदवार लोकप्रिय छ ? जनताका बीचमा अब आउने दिनमा महानगर कुन उम्मेदवारले हाक्न सक्छ ? कुन उम्मेदवारले कुन ढंगले लैजान सक्छ ? भन्ने कुरामा केन्द्रीत गर्न सक्यौँ भने हामीले जति दावेदारी महानगरमा अन्य कुनै पनि पार्टीका उम्मेदवारले गर्न सक्दैन । हामीसँग जति प्रष्ट भिजन, विकसित वीरगञ्जको लागि अन्य पार्टीका उम्मेदवारले दिन सक्दैनन् ।

* दल अदल/बदल पनि वीरगञ्जमा तीव्र भएको छ, गत स्थानीय तह चुनावमा प्रमुख पद (मेयर)मा तपाईंसँगै उम्मेदवार रहेकाहरू एउटा पार्टी छाडेर अर्काे पार्टीमा गएको देखियो, जसपाबाट जितेका मेयर एमालेतिर, राजपाका उम्मेदवार बनेका नेता झण्डै-झण्डै एमाले हुँदै जसपातिर गएका छन्, यस्तो खेललाई तपाईले कसरी हेरिरहनु भएको छ ?

यो नितान्त अवसरवादीहरूको चरित्र हो प्रष्ट भाषामा भन्दा । यी राजनीतिज्ञहरू जनतालाई अवसर दिनका लागि होइन, आफूले अवसर लिन दल फेरिरहेका छन् । आफूलाई अवसर कुन दलले दिन्छन, त्यही लाग्ने उहाँहरूको प्रवृति देखिएको छ । यो भनेकै उहाँहरुले जनताका लागि सोचेको हुँदै होइन, आफू कसरी पदमा पुग्ने, कता लाग्दा आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ, त्यतै लाग्ने उहाँहरुको संस्कार देखिएको छ । अहिले उहाँहरू जहाँ जता पार्टीमा पुगे पनि स्वार्थ नै जनताका लागि होइन, आफ्नै लागि हो ।

हिजो जसपामा विजय सरावगी (जो अहिले वीरगञ्जको मेयर हुनुहुन्छ) हुँदा सबै ठिक लागेको थियो जसपालाई । अब उहाँ एमालेमा गएपछि त्यही जसपालाई सरावगी भष्टचारी लागेको छ । हिजो त्यही जसपामा उम्मेदवार बन्न नपाउँदा अचानक राजपामा पुगेर उम्मेदवार भएका मान्छे, एमालेमा केही दिन बसेर प्रेस वक्तव्य दिएका थिए । उहाँले मधेसी दलहरुले अब चलाउन सकेनन्, त्यसैले म आजदेखि एमालेमा आएँ भनेका थिए । एक महिना नबित्दै फेरि उहाँ जसपामा आए ।

यी घटना हेर्दा उहाँहरूमा कुनै सिद्धान्त, विचार राजनीति नै छैन । जनताको भावना, अपेक्षा, महानगरलाई अबका दिनमा कुन शैलीमा लैजानु पर्ने भन्ने कुरा केही पनि प्राथमिकतामा राखेका छैनन्, यी पात्रहरूले । यसरी हेर्दा हामी माओवादी सबै विषयमा प्रष्ट छौँ । हाम्रो पार्टीको विचार, हाम्रो सिद्धान्त, कार्य नीति, हाम्रो स्पष्टता र अहिलेसम्म जति पनि स्थानका पालिकामा हामीले जित हासिल गरेका छौँ, ती स्थानीय पालिकाहरूमा पहिलेको भन्दा हामीले कायापलट गरेको अवस्था छ ।

यदि साच्चिकै स्थानीय चुनावमा वीरगञ्ज महानगमा विकास र समृद्धि कसले ल्याउन सक्छ ? कायापलट कसले गर्न सक्छ ? युगान्तकारी परिवर्तन कसले ल्याउन सक्छ ? भन्दा त्यो निचोड भनेको माओवादी केन्द्रले नै हो । त्यसकारण मलाई लाग्छ यो मौका अब माओवादी केन्द्रले पाउनु पर्छ ।

* अहिलेका मेयर विजय सरावगीले कति काम गर्न सक्नु भयो ? तपाईंको नजरबाट हेर्दा के पाउनुहुन्छ ? उहाँलाई कति नम्बर दिनु हुन्छ ?

यो प्रश्न तपाईले मलाई गरिरहनु भएको छ, यही प्रश्न जनताले पनि के काम गर्नु भयो भनेर भनिरहेकै देख्छु । मैले जनतालाई अहिलेका मेयरले तपाई जनताहरूले अनुभूति हुने गरी गरेका तीन वटा काम भन्नुस् भनेर भन्दा जनतासँग त्यसको कुनै जवाफ छैन ।

अब उहाँँको गत चुनावका बेलाको प्रतिबद्धता हेर्ने हो भने ५० वर्षमा नभएको काम वीरगञ्ज महानगरपालिकामा पाँच वर्षमा गरेर देखाउँछु भन्नु भयो । उहाँले फोहोर मैला व्यवस्थापनदेखि हरेक घरमा महिलालाई रोजगारी दिन्छु भन्नु भयो । उहाँले मात्र होइन, त्यो काम कुनै पनि मेयरले गर्न सक्ने काम होइन । उहाँले गर्नु भएको प्रतिबद्धताहरू अति बढी महात्काकांक्षी, नसकिने कुराहरू जनताका बीचमा लगेर भ्रम छर्ने काम गर्नु भयो ।

त्यसकै रुप अहिले वीरगञ्जमा जनताले देखिरहेका छन् । न वीरगञ्जमा फोहोरमैला व्यवस्थापन सही ढंगले भएको छ, न सरकारी स्कुलहरूमा उहाँले गरेको प्रतिबद्धतामा टेकेर काम गर्नु भएको छ । उहाँले हरेक सरकारी स्कुलको पढाई बोर्डिङ स्कुलको बराबरी, गुणस्तरीय बनाउँछु भन्नु भएको थियो । अहिले सरकारी स्कुलको अवस्था हेर्नुस् त कहाँ छ ? उहाँले आफ्नो प्रतिबद्धता पूरा गर्नु भएन ।

नारायणी अस्पतालको बारेमा ठूला प्रतिबद्धता जनाउनु भयो । नारायणी अस्पताल आज पनि लथालिंग छ । कर्मचारी ज्यवस्थापनदेखि आफ्नै महानगरको कर्यालय व्यवस्थापन पनि लथालिंग अवस्थामा छ । आम जनताको घरमा महानगरले दिन सक्ने सुख र समृद्धि त कुरै नगरौँ, बजारमै देखिने कुरामा पनि महानगरको व्यवस्थापन अत्यन्तै कमजोर, अति नै भिजनको कमी र कुनै पनि चुनौती व्यवस्थापन गर्न नसकेको असफल मेयरका रुपमा अहिलेको मेयर हुनु भयो ।

अहिलेको मेयर जसरी असफल भएर आउनु भयो । त्यसलाई म उहाँको मात्र असफलता भन्दिनँ । उहाँ जसपाबाट जितेर आउनु भएको, भर्खरै मात्र उहाँ एमालेमा जानु भएको हो । मधेसी दलहरू पनि असफल भएको हो । आम जनताले पनि यही कुरा भनिरहनु भएको छ । अहिले मधेसी दलले अब गर्न सकेनन् भन्ने जनतामा परेको छ । त्यसकारण हिजो नेपाली कांग्रेस पनि टेष्टेड नै हो । मधेसी दल पनि टेष्टेड नै हो । एमाले पनि टेष्टेड हो । त्यसकारण माओवादी केन्द्र अझै पनि वीरगञ्ज महानगरमा टेष्ट हुन पाएको छैन ।

माओवादीलाई एकपटक महानगरको नेतृत्व दिनुस्, माओवादी पास मात्र होइन, फष्ट भएर देखाउने छ । म वीरगञ्ज महानगरका जनतासँग पनि अपिल गर्न चाहन्छु । माओवादीले जति पालिका जितेका छन्, त्यहाँ माओवादीले काम गरेरै यो प्रमाणित गरिसकेका छन् । वीरगञ्ज महानगरमा पनि हामीले हाम्रा विचार, हाम्रा एजेण्डा, हाम्रो सोच जनताका बीचमा लगेर घुलमिल गराउन सक्यौँ भने वीरगञ्जको अवस्था पाँच वर्षमा कायापलट गर्न सकिन्छ भन्ने मलाई लाग्छ ।

* कसरी ? तपाईको यसपटकको नारा के छ ? कि अघिल्लो चुनावमा जे हो, त्यही ? अरु पनि केही हेरफेर र थपघट भएका छन् ?

अघिल्लो चुनाव र यो आउँदै गरेको चुनावको बीचको पाँच वर्षको अवधिमा धेरै कुरामा परिवर्तन आएको छ । समयले अलिकता फरक परिस्थिति पनि ल्याएको छ । पाँच वर्षमा नेपालमा मात्र होइन, विदेशमा पनि ठूलो फड्को शिक्षा क्षेत्रले लिइसकेको छ । अहिले हामीले पाठयक्रमदेखि लिएर वीरगञ्जको वस्तुगत अवस्थालाई कसरी आम शिक्षासँग जोडने भन्ने कुरा अलिक फरक ढंगले सोच्ने छु ।

प्रविधिमा अलि बढी जोड दिनेछु । योबीचमा कोभिडको समयमा जुन खालको समस्या हामीले देख्यौँ, अथवा हावाहुरीको समस्या देख्यौँ, विपद व्यवस्थापनको विषयमा मैले अझ ठोस केही विषय उठाउने छु भन्ने छ ।

* यसलाई अझ प्रष्ट भनिदिनुस् न ?

वीरगञ्ज महानगरपालिका कुनै पनि विपदको लागि तयारी अवस्थामा छैन । जब विपद आउँछ तब महानगरपालिकामा अथवा त्यहाँभित्र महानगर चलाउने ‘स्टेक होल्डर′मा ठूलो क्राइसिस छ । त्यो क्राइसिस समाधान गर्दा हाम्रो विपदको अवस्थामा महानगर सम्पूर्ण रुपमा भड्खालोमा पर्ने अवस्था छ । त्यसरी महानगरलाई क्रयास हुन नदिनका लागि पूर्व तयारीहरू जस्तै : हावाहुरी, आँधी अथवा कुनै रोगको महामारी आउँदा हामी कुन अवस्थामा तयारी भएर बस्नु पर्छ भन्नेमा ठोस एजेण्डा ल्याउने छु ।

अर्काे शिक्षाको पाठ्यक्रमका विषयमा योबीचमा विद्यार्थीहरूले धेरै अनलाइन क्लासहरू पढे । भर्चुअल माध्यमबाट विद्यार्थीहरूले पढे । अझ पनि सरकारी स्कुलका विद्यार्थीहरूको पहुँचमा महँगोको कारण त्यो प्रविधिको सहज पहुँच छैन । त्यो प्रविधिलाई कसरी घर-घरमा पुर्‍याउन सकिन्छ ? भन्नेमा महानगरको ठूलो भूमिका हुन सक्छ ।

त्यस्तै, महानगरको ठूलो समस्याको रुपमा सार्वजनिक यातायातको समस्या छ । वीरगञ्ज महानगर हुन त ठूलो छ । ३२ वटा वडा छन् । ती ३२ वटा वडामा जम्मा १४/ १५ वटा मात्र सुगम छ । जुन बजारसँग सीधै जोडिएको छ । बाँकी १६/ १७ वटा वडा एकदमै दुर्गम छ । ती दुगर्म वडालाई बजारको सुगमतासँग जोड्नका लागि के सार्वजनिक यातायातलाई व्यवस्थापन गर्न सकिन्छ ? भन्दा अहिलेको अवस्थामा मेनोरेल र मेटो भन्यौँ भने त्यो हावादारी कुरा हुन्छ । तर अहिले हामीसँग रहेका पूर्वाधारहरूबाटै पनि त्यसको व्यवस्थापनमा सोच्न सकिन्छ ।

हामी कहाँ कस्ता सार्वजनिक यातायात चलिरहेका छन् ? जस्तो वीरगञ्जमा अहिले इरिक्सा चलिहरेको छ । यो निश्चित एरियामा, बजारमा मात्र चलिरहेको छ । त्यसलाई हामीले व्यवस्थापन गरेर यदि महानगरका विकट विकट वडामा समयअनुसार मिलाउन सक्यौँ भने सडकमा अनावश्यक जाम हटाउन सकिन्छ । सर्वसाधारणले पनि सार्वजनिक सवारी नपुगिरहेको वडामा त्यो सुविधाको उपयोग गर्न पाउनेछन् ।

अर्काे, मैले अति आवश्यक देखेको महानगरपालिकाले आफ्नै कमसेकम ३०० वेडको अस्पताल बनाउन शुरु गर्नु पर्ने अवस्था देख्छु । त्यसैगरी, वीरगञ्जमा रहेका धेरैजसो एलानी जग्गाहरू छन् । त्यो अतिक्रमण भएको अवस्था छ । अरुले त्यसलाई दुरुपयोग गरिरहेका छन् । त्यसलाई फिर्ता लिएर वीरगञ्जको (ग्रीनसिटी) हरित शहरको रुपमा क्रान्ति ल्याउन जरुरी छ ।

ती ठाउँहरुमा हिरयालीले वीरगञ्जमा ढाकेर लैजाने र कस्ता जग्गाहरुलाई कुन हिसाबले जनताको जीवनसँग जोड्ने ? रोजगारीसँग जोड्ने भन्ने गरी योजनामा ल्याउन सक्छौँ । त्यो हदमा महानगर जानुपर्छ भन्ने मलाई लाग्छ ।

* तपाईंले यस्ता भिजन दिइरहँदा वीरगञ्ज महानगरको मतदाताको मनोविज्ञान, त्यहाँको समाजको चरित्र के कस्तो पाउनु भएको छ ? उस्तै छ या बदलिएको छ ?

२०७४ को स्थानीय तहको चुनाव निक्कै लामो अवधिपछि, त्यो पनि सिंहदरबारको अधिकार सीधै स्थानीय तहमा हुने गरी अधिकार सम्पन्न भएर भएको थियो । स्थानीय तहको चुनावबाट एउटा पुसताको आधा उमेर नै चुनावबाट बञ्चित भएको अवस्था थियो । त्यतिखेर धेरै उम्मेदवारहरूले गरेका प्रतिबद्धताहरू सुन्दर प्रतिबद्धता, महत्वाकांक्षी प्रतिबद्धताहरू चुनावबाट लामो समय बञ्चित भएका जनताले पत्याउने अवस्था आए । उम्मेदवारले गरेका सय वटा प्रतिबद्धता ४० वटा पत्याए होला, ५० वटा पत्याए होलान्, तर अहिले तुरुन्तै पाँच वर्षको अवधिमा रिजल्ट देखियो । उहाँहरूले गरेको प्रतिबद्धताको १० प्रतिशत पनि पूरा गर्न नसक्नु भनेको उहाँहरूको लाचारी हो । क्षमता नै नरहेको प्रमाणित हुनु हो ।

उहाँहरूसँग क्षमता नरहँदा उनीहरुको छवि जनता अथवा मतदाताका अगाडि सम्पूर्ण रुपले खस्केको अवस्था छ । अब जनताले पाँच वर्षको अवधिमा देखेकै रिजल्टले नै मूल्यांकन गर्न सक्छ । अब भोटिङ प्याटन परिवर्तन हुन्छ । अब फेरि त्यस्तै प्रतिबद्धता ल्याएर, ठूला-ठूला कुरा गरिरहेका छन्, ती प्रतिनिधिहरू फेरि जित्दैनन् भन्ने हाम्रो बुझाई छ । जनताले यो पाँच वर्षमा बुझिसकेका छन् । कस्ता व्यक्ति अबको वीरगञ्जमा चाहिन्छ ? भन्नेमा जनताले बुझिरहेका छन्, त्यही हैसियतमा जनताले मतदान गर्नेछन् ।

* अन्तिममा केही भन्नु छ ?

जनता जनार्दन हुन् । राजनीति भनेको राजनीतिज्ञले जनता र समाजलाई दिइरहेको डेलिभरी हो । त्यो डेलिभरी तब मात्र सकारात्मक आउँछ, जब राजनीतिज्ञको नियत सफा हुन्छ, सही हुन्छ र क्षमता पनि राख्छ । त्यो नियत र क्षमताको साथ माओवादी केन्द्र वीरगञ्ज महानगरलाई लिड गर्न तयार छ ।

क्षमता मात्र भएर हुँदैन, नियत पनि सही हुनुपर्छ । यो दुइटै कुरामा माओवादी केन्द्र, विचार र सिद्धान्तको कुरा गर्ने हो भने पनि यो देशको राजनतिनै आज भन्दा २०-३० वर्षअगाडिको राजनीति र अब आउने २-३ वर्षको राजनीति हेर्ने हो भने माओवादीको विचार सिद्धान्तमा रुमल्लिएर जसरी बसेको छ, हामीले जनतामा अलग किसिमको राजनीतिक चेत दिमागमा भरेका छौँ ।

देशले संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी समानुपातिक प्रणाली जस्ता जनताले प्राप्त गरेका उपलब्धीहरूमा माओवादीको लिडिङ भूमिका छ । त्यो प्रष्ट भइसकेको छ । अब माओवादीले दिने उम्मेदवार क्षमतामा पनि क्षमतावान छन्, नियत पनि सही नियतका साथ आएको हुनाले वीरगञ्ज महानगर माओवादीले लिड गर्ने दिन आएको छ । जनताले त्यो कुरा बुझ्छन् भन्ने मलाई लाग्छ ।

०००

प्रतिक्रिया