आइतबार, जेठ ६, २०८१

प्रधानमन्त्री मोदीले पुरानै आश्वासन– पञ्चेश्वरमा तीव्र गतिले काम हुन्छ

मेरोन्यूज २०७८ चैत १९ गते १४:५९

काठमाडौँ । भारतीय प्रधानमन्त्रीले नेपाललाई पञ्चेश्वर परियोजना तीव्र गतिले अघि बढाउने आश्वासन दिएका छन् ।

Advertisement

नयाँदिल्लीमा शनिबार दुई देशका प्रधानमन्त्री सम्मिलित नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठकपछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले उक्त आश्वासन दिएका हुन् ।

‘पञ्चेश्वर परियोजना तीव्र रुपमा अघि बढाउन जोड दिएका छौँ, यो परियोजना यस क्षेत्रका जनताको लागि एउटा गेम चेञ्जर परियोजना हुनेछ,’ भारतीय प्रधानमन्त्री मोदीले भने ।

भारतीय आनकानीका कारण सम्झौता भएको लामो समय बितिसक्दा पनि पञ्चेश्वर परियोजनाले गति लिन सकेको छैन ।

नेपालका प्रधानमन्त्रीले भारत भ्रमण गर्दा होस् वा भारतीय प्रधानमन्त्री नेपाल आउँदा पञ्चेश्वर मुद्दा उठ्ने गरेको छ । भारतीय पक्षले पञ्चेश्वर परियोजनालाई तीव्र गतिले अघि बढाउने आश्वासन दिँदै आएको छ ।

यसपटक प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको बेला पनि भारतीय प्रधानमन्त्रीले सो आश्वासन दिएका हुन् ।

‘नेपाल बढी भएको विद्युत भारतमा निकासी गरिरहेको छ, यो राम्रो कुरा हो, यसले नेपालको विकासमा सहयोग गर्ने छ,’ मोदीले भने ।

मोदीले प्रधानमन्त्री देउवा भारतको पुरानो साथी भएको उल्लेख गर्दै भारत र नेपालको मित्रता तथा जनताको सम्बन्ध विश्वमा कहीँ कतै देख्न नपाइने दाबी गरे ।

‘हाम्रो सम्भयता, संस्कृति प्राचीन कालदेखि जोडिएको छ, सदियौँदेखि हामी सुख–दुःखका साथी बनेका छौं,’ मोदीले भने ।

भेटवार्तामा व्यापार र सबै प्रकारका क्रस बोर्डर कनेक्टिभिटीमा जोड दिएको उनले जनाए ।

प्रतिक्रिया