सोमबार, जेठ ७, २०८१

दुई दिन यता बस्नै सकेन विप्लवको बैठक

अल्पमतमा परेपनि पेलेरै चुनावमा जाने विप्लवको तयारी

चुनावमा जाने प्रस्तावमा असहमत नेताहरुसँग विप्लव र प्रकाण्डको छुट्टाछुट्टै छलफल जारी, ओलीसँग चुनावी गठबन्धन बनाउन लागेको नेताहरुकै आशंका

रामकृष्ण अधिकारी २०७८ चैत १२ गते २०:४७

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको बैठक दुई दिन यता अवरुद्ध छ । कपिलवस्तुको शिवगढीस्थित पार्टी केन्द्रीय सम्पर्क कार्यालयमा गत शनिबारवाट शुरु भएको १२ औँ पूर्ण बैठकमा महासचिव विप्लवले पेश गरेको राजनीतिक प्रतिवेदनमा नेताहरुले धारणा राख्ने क्रम सकिएपछि विहिबार यता बैठक अवरुद्द भएको हो ।

Advertisement

आउँदो स्थानीय निर्वाचन उपयोग गर्ने /नगर्ने विषयमा पार्टीभित्रै महासचिव विप्लवको प्रस्ताव ‘अल्पमत’मा परेपछि दुई दिन यता बैठक रोकेर विप्लव र प्रकाण्ड (खड्कवहादुर विश्वकर्मा) ले केन्द्रीय सदस्यहरुसँग एक्लाएक्लै भेट गर्न थालेका छन् ।

शुक्रवार र शनिवार विप्लव र प्रकाण्डले चुनाव उपयोगको विपक्षमा मत राख्ने नेताहरुलाई बोलाउँदै आफनो प्रस्तावमा कन्भिन्स गर्ने प्रयास गरेका थिए । सो क्रममा दुवै नेताले नेतृत्व चुनाव उपयोगको नीतिबाट अव दायाँबायाँ जानै नसक्ने भएकाले प्रस्ताव पक्षमा साथ दिन आग्रह गरेको एक केन्द्रीय सदस्यले मेरोन्यूजलाई बताए ।

‘महासचिव र प्रकाण्ड कमरेडले हिजो र आज प्रस्तावको विपक्षमा धारणा राखेका केन्द्रीय सदस्यहरुलाई एक्लाएक्लै भेटन् र प्रस्तावको पक्षमा कन्भिन्स गर्ने प्रयास गर्नुभएको छ, भोलि (आइतबार) विहानबाट भने बैठक बस्ने जानकारी दिइएको छ,’ ति नेताले मेरोन्यूजसँग भने ।

आइतबार विहान ७ वजे नास्ता र लगत्तै ८ बजेबाट बैठक बस्ने जानकारी केन्द्रीय सदस्यहरुलाई गराइएको छ । तर दुई दिन यता सचिवालय बैठक समेत नबसेका कारण भोलि पनि बैठक होला /नहोला अन्यौल भने कायमै रहेको ति नेताले बताए ।

विप्लवले आउँदो चुनाव उपयोग गरेर जानुपर्ने प्रस्ताव पार्टी केन्द्रीय समिति बैठकमा राखेका थिए । विप्लवले बैठकमा प्रस्तुत गरेको प्रतिवेदनको ‘एकीकृत जनक्रान्तिका कार्यनीतिहरू र स्थानीय निर्वाचन’ उपशीर्षकमामा चुनाव उपयोग गरेर जानुपर्ने उल्लेख छ । ‘हामीले कार्यनीति ठोस गर्दा जहिले पनि देश, श्रमिक जनता, मित्रशक्ति र पार्टीपङ्क्तिको अवस्थालाई केन्द्र भागमा राखेर गर्नुपर्छ । कस्तो कार्यनीतिले देशको हितमा, नागरिकहरूलाई ध्रुवीकृत गर्न मद्दत गर्छ, जनता र पार्टीको सम्बन्धलाई मजबुत बनाउँछ, जनतालाई एकताबद्ध र सक्रिय बनाउँछ, पार्टी पङ्क्तिलाई जनतामा पुग्न सहज तुल्याउँछ र क्रान्तिलाई अगाडि बढाउन मद्दत गर्छ भन्ने पक्षहरूलाई ध्यान दिएर बनाउनुपर्छ ।’ विप्लवको प्रतिवेदनमा भनिएको छ ।

यी हुन् पक्ष/विपक्षमा उभिएका नेता

६९ सदस्यीय विप्लवको केन्द्रीय समितिमा एक जना नेता भने बैठकमा अनुपस्थित छन् । वाँकी ६८ नेतामध्ये विप्लव सहित २५ जनाले मात्रै पूर्ण बैठकमा चुनाव उपयोगको प्रस्तावमा समर्थन जनाएका थिए । तर ४३ जना नेताले भने विपक्षमा धारणा राखेका थिए ।

चुनाव उपयोगको प्रस्तावमा महासचिव विप्लव, प्रवक्ता खड्कवहादुर विश्वकर्मा, सचिवालय सदस्य सन्तोष वुढामगर, नेताहरु माइला लामा, अनिल शर्मा, उमा भुजेल, भरत वम, ओमप्रकाश पुन, भेषराज वेल्वासे, चेतन विसि, चिरन पुन, सुन्दर वली, विराज, सविता, विवेक कुमाल, वलवान, तिर्थ राई, अग्नि, रामलाल विक, भगत सिंह, नन्दवहादुर वुढा, अमर झाँक्री, अशल क्षेत्री, प्रेम दर्नाल र सुमन सिंह उभिएका छन् ।

तर, अहिलेको अवस्थामा चुनावमा जान नहुने र वहिष्कारकै नीति बनाउनु पर्नेमा सचिवालय सदस्यद्दय हेमन्तप्रकाश वली (सुर्दशन), धर्मेन्द्र बास्तोला, चुडामणि वली (आर्दश), दिपक चलाउने, प्रज्ज्वलन, विजय श्रेष्ठ, मोहलाल चन्द (आधार), वलवहादुर वली (शित्तल), गुणराज लोहनी, धुव्र घिमिरे, सावित्रा दुरा, नविन विक, वन्धु चन्द, निर्मल, थमनसिंह राई, देवनारायण साह, आजाद केसी, खुमा सुवेदी, सुमन लिम्बु, शैलेश, पूर्ण सिंह, रुपेश, विक्रम , जुझारु, सुवास वाठामगर, विश्व, संगम (मुगु), नयन , सरद रसाइली, विशाल चौधरी, लालवहादुर विसि, समर शाही, सविन पोखरेल, शरद वली, संगम (कपिलवस्तु), संगम (जाजरकोट), जोखिम, शषि राई, दिपेश राई, आजाद सेन, धीरेन्द्र उपाध्याय, उभार, बाला थापा (कृर्ति) उभिएका छन् ।

अल्पमत नै भएपनि पेलेरै जाने तयारीमा विप्लव

शुक्रवार र शनिवार दुई दिन विप्लव र प्रकाण्डले चुनाव उपयोग प्रस्तावको विपक्षमा धारणा राखेका नेताहरुसँग भेट गरेका छन् । अल्पमतमै भएपनि चुनाव उपयोग गरेर जाने विप्लव र प्रकाण्डको तयारी छ ।

दुई दिन यता बैठक रोकेर विप्लव र प्रकाण्डले गरेको तयारीले केही नेताहरुले आफनो निर्णयमा पूर्नविचार गर्ने सम्भावना वढेको एक केन्द्रीय सदस्यले बताए ।

‘बैठकमा धारणा राख्ने क्रममा महासचिवको प्रस्ताव अल्पमतमा परेको जस्तो देखिएपनि शुक्रवार र शनिवार महासचिव र प्रकाण्ड कमरेडले केन्द्रीय सदस्यहरुसँग अलग अलग छलफल गरेपछि प्रस्तावको पक्षमा अन्तिममा वहुमत जुटने सम्भावना वढेर गएको छ,’ ति नेताले मेरोन्यूजसँग भने, –‘केही गरी प्रस्ताव पारित गर्दा बहुमत नपुगेपनि पेलेरै जाने तयारीमा महासचिव देखिनुभएको छ ।’


पार्टीभित्र चर्काे विवाद र जटिलता देखा परेको संकेत विप्लव निकट नेता अशल क्षेत्रीले सामाजिक सन्जलमार्फत नै गरेका थिए । शुक्रवार साँझ उनले सामाजिक सन्जाल फेसवसुकमा स्टाटस् लेख्दै नेतृत्वलाई विश्वास गर्न आग्रह गरेका थिए । ‘क्रान्तिकारी नेतृत्वको क्षमता र सचेत पहलकदमीले सबै खाले षड्यन्त्रहरु परास्त हुन्छन, क्रान्तिको बिजय हुन्छ ।’ क्षेत्रीले सामाजिक सन्जालमा लेखेका थिए ।

चुनाव उपयोग गरे तालमेल को सँग ?

चुनाव उपयोग गरे तालमेल गर्ने को सँग ? भन्ने वहस पनि विप्लवको पार्टीभित्र चर्किएको छ । चुनाव उपयोगको प्रस्ताव विप्लव र प्रकाण्डले एकमतका साथ ल्याउने निर्णय भित्र एमाले अध्यक्ष ओली नेतृत्वको सरकारसँग गत वर्ष फागुनमा भएको सम्झौतासँग रहेर प्रश्न उठाएका छन् ।

उपयोगको नीति पारित भए एमालेसँग चुनावी गठबन्धन बनाउने गरी विप्लव र प्रकाण्ड जान सक्ने आंकलन विप्लवको पार्टीभित्र उठेको छ । खासगरी चुनाव वहिष्कारको नीति नै लिनुपर्ने भनी धारणा राख्ने नेताहरुले वढी मात्रामा यो आशंका गरिरहेका छन् ।

तर विप्लवले चुनाव उपयोग गर्ने मात्र भनेका छन्, को सँग तालमेल गरेर चुनाव लड्ने भन्ने बारेमा भने केही बोलेका छैनन । तर अधिकाशं नेताहरुले ओलीसँग नै तालमेलमा जाने गरी भित्री बाताबरण मिलाईसकेको र अहिले चुनाव उपयोगको प्रस्ताव ल्याएको आशंका गरेका छन् ।

चुनाव उपयोग नै गर्ने हो भने माओवादी धारका वीचमा तालमेल गरेर जानुपर्ने मत पनि धेरै नेताहरुको छ । तर उनीहरुले नै नेतृत्वसँग आशंका गरेका छन् । माओवादीसँग होइन, एमालेसँग तालेमल गरेर जाने गरी विप्लव- प्रकाण्डले चुनाव उपयोगको नीति अगाडी सारेको नेताहरुको आशंका छ ।

बैठक भोलि सक्ने तयारी
विप्लव र प्रकाण्डले अव बैठक भोलि नै सक्ने तयारी गरेका छन् । विहान ७ वजे नास्ता र त्यसपछि ८ वजेबाट बैठक राखेर बैठक सस्ने तयारीमा विप्लव र प्रकाण्डको छ । सक्दा वहुमतले नै आफ्नो प्रस्ताव पारित गर्ने र नभएपनि अल्पमतमै भएपनि आफनो प्रस्तावकै पक्षमा जाने गरी विप्लव प्रकाण्डले बैठक सक्ने तयारी गरेको देखिन्छ ।

यस्तो हुँदा विप्लवको पार्टी विभाजन हुन सक्छ । विभाजनमा हेमन्त वलीको नेतृत्वमा पार्टी विभाजित हुन सक्ने आशंका पनि विप्लवको पार्टीमा छ । त्यसो हुँदा हेमन्तले आफ्नो नेतृत्वमा पार्टी चलाउने भन्दा मोहन वैध (किरण)सँग एकता गर्ने गरी जानसक्ने अनुमान पनि शिवगढीमा चल्नि थालेको छ ।

रामकृष्ण अधिकारी

अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया