शुक्रबार, वैशाख ७, २०८१

यसकारण कम्युनिष्ट एकताको कुरा उठाएको हुँ (पूर्णपाठ)

पार्टीभित्र केपी ओलीलाई बुझाउन बाँकी छ, अरु सवैले कम्युनिष्ट गठबन्धन र एकताको कुरा बुझिसकेका छन्

- घनश्याम भुसाल, नेता नेकपा एमाले २०७८ चैत ८ गते १४:४९

कम्युनिष्ट आन्दोलनको एकताको आवश्यकता अहिले फेरि खट्किएको छ । एकताको कुरा गर्दा मेरो चासो हाम्रो मुलुकको राजनीतिमा लोकतान्त्रिक स्थिरतासँग सम्वन्धित छ । जुनकुरा मैले पटक पटक भन्दै आएको छु । किनभने, हाम्रो एउटा समस्या, विरोधाभास के रहेर आएको छ भने कहिले लोकतन्त्र हुने स्थिरता नहुने, कहिले स्थिरताका नाममा निरंकुशता हुने, लोकतन्त्र नहुने यो प्रक्रियावाट गएको ७० वर्ष हाम्रो मुलुक गुज्रिएको छ ।

००७ सालमा हामीले लोकतन्त्र ल्यायौं, त्यसलाई स्थिर बनाउन सकेनौं । ०१७ सालमा तथाकथित स्थिरता आयो, लोकतन्त्र हरायो । ०४७ सालमा फेरि हामीले लोकतन्त्र ल्यायौं, शुरुमा ठिक ठिकै चल्दै थियो, लगत्तै अस्थिरताका शक्तिहरु वलिया हुँदै गयो र हामी फेरि अस्थिर हुन पुग्यौं । अनेक झन्झालवाट एक हिसावले करिव करिव गृहयुद्धको नजिक नजिक पुगेर हामी उम्केर फेरि संविधानसभा हुँदै ०७२ को संविधानसम्म पुग्यौं ।

त्यसले नेपालको राजनीतिमा राजनीतिक र सम्वैधानिक हिसावले भन्ने हो भने जनता र राज्यका वीचको अधिकार र कर्तब्यको बाँडफाँडको कुरा टुंग्याएको थियो । त्यो धेरै महत्वपूर्ण थियो । ७० वर्षको आन्दोलनले टुंग्गाएको मुख्य कुरा के हो भने राज्य र नागरिकका वीचको सम्वन्ध लाई हाम्रो संविधानले आधारभूत रुपले लोकतान्त्रिक हिसावले सस्थागत गरिदियो । त्यो धेरै ठूलो कुरा हो हाम्रो लागि । त्यसले त्यो अस्थिरताबाट जोगाउनका लागि एउटा ठूलो आधार दियो । त्यसलाई बोक्ने एउटा शक्ति चाहिन्थ्यो, त्यो संविधानको लागि राजनीतिक पार्टी चाहिन्थ्यो, ०७४ को निर्वाचनले कम्युनिष्ट पार्टीको पक्षमा एउटा ठूलो जनमत दिएर त्यो संविधानको कार्यान्वयनको राजनीतिक ग्यारेन्टी गरेको थियो ।

तर अहिलेको अवस्था भन्नुहुन्छ भने त्यो ०७२ र ०७४ का उपलब्धीहरुलाई हामीले राम्रोसँग रक्षा गर्न सकेको छैनौं भन्ने देखिन्छ । खासगरी कम्युनिष्ट पार्टीमा आएको विभाजनले कम्युनिष्ट पार्टीले यसको रक्षा गर्न सकेको देखिदैन ।

आज पनि उसको दायित्व हो की, नेपालको कम्युनिष्ट आन्दोलनको यथोचित प्रतिनिधित्व गर्नु, शानदार प्रतिनिधित्व गर्नु, नेकपा एमालेको दायित्व हो भन्ने अर्थमा मेरो पार्टीको इतिहासलाई मैले यसरी वुझेको छु । यसर्थ आज पनि त्यो चुनौति, दायित्व नेकपा एमालेको काँधमा छ । यसले नेतृत्व गर्नुपर्छ भन्ने मलाई लाग्छ । धेरै महत्वपूर्ण कुरा यो हो।

दोस्रो अहिलेको कम्युनिष्ट पार्टीको विभाजनको सैद्धान्तिक र वैचारिक आधार छैन । कम्तीमा तीन वटा पार्टीहरु अरु पनि जुन कम्युनिष्ट पार्टी चुनावमा जान्छु भन्छ, ति कम्युनिष्ट पार्टीका वीचमा अहिले वैचारिक र सैद्दान्तिक रुपमा समस्याहरु छैनन । अथवा विभाजनको औचित्यै छैन । यदि तपाई जानुहुन्छ भने के भनेर जानुहुन्छ ? समाजवाद ल्याउने भनेर जानुहुन्छ । आज समाजवादको उत्पादन सम्वन्ध फेर्न सक्नुहुन्छ ? सक्नुहुन्न । त्यसको तयारी गर्नुपर्छ । त्यसका लागि मुलुकलाई समृद्धि तिर लैजानुपर्छ । यसको लागि राष्टिय पुँजीको प्रर्याप्त विकास गर्नुपर्छ भनेर मैले भन्ने गरेको छु । आजको कार्यक्रम त्यही हो ।

सैद्दान्तिक रुपमा हिड्ने वाटोका रुपमा पनि हामी लोकतान्त्रिक हिसावले जाने हो । यसमा पनि केही फरक छैन । हामीले माक्र्सवाद, लेनिनवाद भनेपनि जाने वाटो , तरिकाको कुरा गरेपनि, संगठनात्मक सिद्धान्तको कुरा गरेपनि एउटै कुरा गछौं, त्यो एमालेले गर्ने पनि त्यही हो । माओवादी केन्द्रले गर्ने पनि त्यही हो र नेकपा एकीकृत समाजवादीले गर्ने पनि त्यही हो । वैचारिक र सैद्दान्तिक रुपमा त्यही कुरा गछौं, तर तीनवटा पार्टी किन जरुरी छ ? यो भन्दा हास्यास्पद र दुखद कुरा के हुन्छ ?

सिद्धान्त र राजनीतिमा यो रामरमिता गर्नुहुदैन हामीले भन्ने मलाई लाग्छ। यो दोस्रो कारण हो।

केही राजनीतिक कारण छन् , त्यो भनेको खासगरी पुस ५ मा गरिएको संसद विघटन । त्यो एउटा राजनीतिक मुद्दा हो, जाहाँ हामी विभाजित छौं । यो कुरा स्वंयवम अदालत, सम्वैधानिक वेन्चले यसलाई निर्णय गरिदिईसकेको छ । अव यो संविधान रहेसम्म संविधान अनुसार संसद विघटन गर्न हुन्थ्यो की हुँदैनथ्यो भन्ने कुरा निश्चित भईसकेको छ । यो संविधान रहेसम्म अव यो उल्टिदैन । कथंम चुनौति के छ भने यदि सर्वोच्च अदालतको त्यो निर्णय गलत छ भनेर हामीले जाने हो भने हेर्नुहोला, यो संविधान भत्किन शुरु गर्छ ।

अव पनि संसदको यस खालका विघटनहरु ठिक छन् भनेर जानुको अर्थ के हुन्छ भने हामी सोझासाधी अस्थिरताको हिडनुहुन्छ । जुन काम नेकपा एमालेको तर्फबाट, यति जिम्मेवार पार्टीको तर्फबाट हामीले गर्नुहुदैन । गदैनौं । दोस्रो कुरा त्यो टुग्गो लागिसकेको छ । त्यो एउटा राजनीतिक मामला थियो, जाहाँबाट विभाजित हामी भयौं, त्यही पुस ५ को घटनाबाट हामी विभाजित भएका थियौं, त्यो अदालतले टुग्गो लगाईसकेको छ । अव यो इतिहासको घटना भईसक्यो । राजनीतिक रुपमा एउटा घटना हो की संसद विघटन ठिक थियो की वेठिक थियो ? राजनीतिक विवाद हो यो । जसको टुग्गो लागिसकेको छ ।

वैचारिक र सैद्धान्तिक रुपमा कुनै भिन्नता छैन भने यिनीहरु अलग अलग पार्टीका रुपमा रहनुको कुनै औचित्य छैन भन्ने मलाई लागेको हो ।

तेस्रो चुनाव अव शुरु भईसक्यो । स्थानीय तहको चुनाव घोषणा भईसकेको छ । यो चुनावको परिणामलाई वामहरुको पक्षमा ल्याउने ग्यारेन्टी गर्नका लागि हामी लाग्नुपर्छ । जित्नका लागि नेकपा एमाले ठूलो पार्र्टी हो , यसले आफनो साइज अनुसार जितिहाल्छ । आफनै साइज अनुसार माओवादी केन्द्र, एकीकृत समाजवादीले पनि जितिहाल्छ । तर समग्रतामा भन्दा वामहरुले एक ठाँउमा उभिदा जित्ने जित धेरै ठुलो हुन्छ । धेरै प्रभावकारी हुन्छ । जुनसुकै गणित ओकलेपनि यही भन्छ होला ।

यो वामहरुको पक्षमा, कम्युनिष्ट आन्दोलनको पक्षमा परिणामलाई सुनिश्चित गर्नका लागि पनि हामीले अहिले एकता गर्नु वाहेक अर्काे उपाय छैन भन्ने मलाई लागेको हो ।

चौथो कुरा, कम्युनिष्ट पार्टीका जो सुकै पनि इमान्दार मान्छेहरु, जसले कम्युनिष्ट पार्टी निर्माणमा भूमिका खेलेका छन्, ति सवै कार्यकर्ता नेता, एकताको पक्षमा छन् । यसको खास अर्थ छ । यसको इतिहास छ, तिनले चुनौति देखेका छन्, तिनले भविश्य पनि देखेका छन् । भविश्य र चुनौतिलाई राम्ररी विश्लेषण गर्ने नेता र कार्यकर्ता, समर्थक, शुभचिन्तकहरु एकताको पक्षमा छन् । यो कुरा पहिले पनि देखिएको छ, पटक पटक यो कुरा देखिएको छ ।

केही मान्छेहरु यसको विरोधमा रहन सक्छन् । किनभने जुन सुकै आन्दोलनमा, हाम्रो जस्तो सामाजिक सस्थामा भएका कारणले आफनो खार्इपाई सुरक्षित राख्ने भनेको कम्युनिष्ट आन्दोलनको विभाजनमा आफनो हैसियत देख्ने केही मान्छेहरु हुन सक्छन् । ती मान्छेहरु यसको विरोध गर्नेछन् । त्यसमा कुनै शंका भएन । अर्को इमान्दार कार्यकर्ताहरु पनि छन् । जसले क्रान्ति, समाजवाद, पार्टी भनेको केवल आफु उभिएको ठाँउ मात्रै देखेका छन् । ती इमान्दार हुन् । उनीहरुलाई शिक्षा दीक्षा , प्रशिक्षणको कमी छ । जसकाकारणले गर्दा क्रान्तिलाई वृहत अर्थमा वुझदैनन । वुझन वाँकी छ । ति कार्यकर्ताहरु पनि होइन, यो चँही अव हिजो फुटिसक्यो, अव फेरी के मिल्ला र ? भन्ने एक खालको केही सानामसिना तर्कहरुका आधारमा उनीहरुले विभाजनको पक्षमा बोलिदिन पनि सक्छन । ति इमान्दार नै हुन् । फेरि तिनिहरुलाई कम्युनिष्ट आन्दोलनप्रति माया नै छ ।

एमालेमा रहेर एमालेको मात्रै श्रीवृद्धिमा कम्युनिष्ट पार्टी वाच्नसक्छ, वा माओवादीमा रहेर माओवादीको श्रीवृद्धिमा मात्र समाजवाद आउन सक्छ भन्ने यी कुराहरु हुन सक्छन् । म यि सवै नेता कार्यकर्ताहरु इमान्दार कार्यकर्ता हुन् भन्ने ठान्दछु ।

अर्को हाम्रो जस्तो भूराजनीतिमा कम्युनिष्ट पार्टीको विरुद्धमा कतिपय गतिविधिहरु हुनु जो सकुै राजनीति शास्त्रीले , जो सुकै समाजशास्त्रीले हाम्रो जस्तो मुलुकको अर्थशास्त्रीले समेत वुझने कुरा हो कि, यसमा भूराजनीतिक दवावहरु छन् । किनकी हिजो पनि दवाव परेर आएको । हाम्रो मुलुकको माइक्रोम्यानेजमेन्ट भन्दै आएका हौं, अरुले त्यस्तो माइक्रोम्यानेजमेन्ट गदै आएका हुन् ।

कम्युनिष्ट पार्टी मात्रै होइन, यहाँ कांग्रेस पार्टी नै पनि स्वाधिनतापूर्वक आफनो मुद्दामा फैसल्ला गर्ने गरी उभिन्छ भन्ने भयो भने त्यसलाई पनि फोडन लाग्छ । ति अस्थिरताका शक्ति हुन् । ती हामीलाई अस्थिरतामा पार्ने शक्ति हुन् । हाम्रो लोकतन्त्र र हाम्रो वामपन्थलाई विभाजित गर्ने शक्तिहरुले यसलाई प्रभावित पार्छ । त्यो अन्तराष्टिय साहित्य हुनसक्छ, अन्तराष्टिय विचारधारा हुनसक्छ । अन्तराष्टिय देखिने सस्था हुन सक्छन्, अन्तराष्टिय नदेखिने सस्था हुन सक्छन् ।

तिनीहरुले पनि हामलिाई विभाजित नै राखिराख्नका लागि भुमिका खेलिरहेका हुनसक्छन् । यी वाहेक अरु आम कार्याकर्ता कम्युनिष्ट भनेर भन्ने त्यो आर्दशले प्रेरित तिम्रो सुख यो संसारको सुख हो, मेरो सुख हो, तिम्रो दुख मेरो दुख हो भनेर कसम खाएर हिडेको यति वुझेको जो सुकै मान्छे आज एकताको पक्षमा छ भन्ने मलाई लाग्छ । त्यस आधारमा मैले यसको औचित्य छ हैं भनेको हुँ ।

अव यतापटटी माधव प्रचण्डको आखाँबाट हेर्दा ओलीजी कम्युनिष्ट आन्दोलनको खतरनाक तत्व हो भन्ने अर्थमा ब्यक्त हुने, ओलीजीले माधव र प्रचण्ड खतरनाक तत्व हुन् भनेर भन्दिने, बाहिर वसेर हेर्दा के देखिने भन्दा यी दुईटै खतरनाक तत्व हुन् । किनभने एकले अर्कोलाई खतरनाक भनेका छन्, अनि कम्युनिष्ट कम्युनिष्ट लड्ने, एउटा कमयुनिष्ट अर्को कम्युनिष्टको विरुद्धमा लडेको छ । एउटा कम्युनिष्ट अर्को कम्युनिष्टलाई खतरनाक देख्छ ।

सैद्धान्तिक रुपमा केही पनि फरक छैन भने बाहिर वाटोमा हिड्ने सामान्य मान्छेले के वुझने भयो, के प्रचार जाने भयो भने जुन मलाई डर लागिरहेको छ की यी दुईटै खतरनाक छन् । सामान्य मान्छेले यसरी वुझने भयो ।

यसले गर्दा हामीले यी सवै कुराबाट माथि उठेर हेर्नुपर्छ । कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध पार्नुपर्छ । नेपालको कमयुनिष्ट आनदोलनलार्इ एकताबद्ध पार्ने भनेको नेपालको लोकतान्त्रिक स्थिरतालाई बलियो बनाउने हो । हाम्रो लोकतन्त्रलाई बलियो बनाउने हो । बामपन्थलाई बलियो बनाउने हो । सपाट कुरा यत्ति नै हो ।

अब अहिले उठेको कुरा चुनाव आईसक्यो, कसरी हुन्छ एकता ? यो नहुने कुरा हो भन्ने छ । पहिले पनि के भएको थियो भने, ०७४ सालमा हामीले जतिखेर गठबन्धन गर्ने घोषणा गरयौं, एक खालले त्यसलाई छापामार शैलीले भन्ने मैले पनि भन्ने गरेको छु । किनभने त्यो भन्दा केही समय अगाडी देखि, डेढ दुई वर्ष अगाडी देखि कमयुनिष्ट आन्दोलनको सिद्धान्तहरु अव एक भईसके, एमाले र माओवादी केन्द्रको सिद्धान्तमा फरक छैन । सैद्धान्तिक रुपले अव यी पार्टीहरु अलग रहन पदैन, एकीकृत हुनुपर्छ भन्ने कुरा हामीले गर्दा मेरै समेत विरोध भएको थियो ।माक्र्सवादको नाममा यसरी पार्टी विरोधी गतिविधि चलाएर हिड्ने भनेर विरोध भएको थियो । त्यो कहिलेसम्म भन्दा ०७४ भदौंसम्म भएको थियो ।

पटक पटक हाम्रो स्थायी समिति बैठकमा पनि यस्ता कुरा उठेको थियो । तर असोजमा अचानक हामीले एकता गरयौं । कसरी भयो, के भयो, त्यता नजाउ, त्यो सवै वाहिर आईसकेको छ । त्यही वीचमा एक खालको नेताहरुको वीचमा भनाभन भईरहेको वेला अचानक त्यो आयो । किनभने अगाडी मंसिरको चुनाव थियो । मंसिरको चुनावका लागि असोजको मध्यमा त्यो गर्न सक्छौं भने अहिले समय छैन भन्ने कुरा वेकारको कुरा हो । समय छ । प्रर्याप्त समय छ । वरु हिजोका अभ्यासहरुले के के गर्दा कमी हुँदा रहेछन्, कसरी एकतालाई झन राम्रो बनाउन सकिन्छ भनेर सिक्नका लागि हामीसँग झन् उदाहरण भईसकेको छ ।

त्यसकारण हामीलाई हिजोभन्दा आज एकता सम्भव छ , एक । द्रोस्रो कुरा ब्यवहारिक कुरा के हुन्छ भन्दा आज तिनवटै कम्युनिष्ट पार्टी एक ठाँउमा उभिइहाल्लान् ? तत्काल आजको एक खालको कृत्रिम रुपले बनाईएको दुरी जुन विभाजन र गालीगलौजले एकैचोटी त्यहाँ जान सकिदैन । तर के भन्न सकिन्छ भने कम्युनिष्ट आन्दोलनमा गएको एक वर्षमा जे समस्याहरु आयो, त्यसले कम्युनिष्ट आन्दोलन विभाजन भएर गएको छ, यो विभाजनमा हामी सवै जिम्मेवार छौं भन्ने मात्रै महसुस भयो भने यसका मुख्य प्लेयरहरु, साहायक हामी पनि हौं, मैले पनि महसुस गर्नुपर्छ । यसमा सवैले महसुस गरे भने यथोचित पद र भूमिका अनुसार यो विभाजनमा योगदान गरेका छन् , पसिना वगाएका छन् भनौं न अझ ।

साना दुखले विभाजन भएको छैन, कम्युनिष्ट आन्दोलन । यसका लागि सवैले महसुस गरयौं भने विभाजनमा हामी सवै जिम्मेवार छौं । कसको कति छ भन्ने पछि विचार गरौंला भन्ने महसुस भयो भने, त्यसमा एउटा मात्र कमिटमेन्ट गरयौं भने यो चुनावमा गठबन्धन सम्भव छ । यतिमात्र भनियो भने एउटा प्रक्रिया शुरु भैहाल्छ । यसले चुनावमा गठबन्धन वन्ने प्रशस्त सम्भावना छ । राजनीतिक रुपमा यति मात्रै भन्दा हुन्छ भन्ने मलाई लाग्छ । त्यसपछिको कुरा हामी पछि नै गरौंला । त्यसपछि पार्टी एकताको कुरा गरौंला, छलफल चलाउन सकिन्छ ।

हाम्रा अनुभवले के वताउँँछ भने नेताहरुको नीजि स्वार्थमा आधारित एकता टिक्दैन भन्ने देखिईसकेको छ । त्यसकारण आगामी एकता, कम्युनिष्ट पार्टीको एकता हुादाखेरी त्यो नेताहरुको नीजि स्वार्थमा टेकेर, त्यसको मात्रै आधारमा हुँदैन । कम्युनिष्ट पार्टी बलियो हुँदा नेताहरुको नीजि स्वार्थ पनि वलियो होला, त्यो स्वभाविक हुन्छ । तर तिनका स्वार्थमा आधारित भएर एकता भयो भने एकताको हालत यस्तो हुन्छ भन्ने हामीले वुझिसकेका छौं ।

त्यो हाम्रो पार्टीभित्र पनि केपी ओलीलाई हामीले वुझाउन केही वाँकी छ, अरु सवैले यो कुरा वुझिसकेका छन् । माओवादीमा पनि त्यही हो, एकीकृत समाजवादीमा पनि त्यही हो । अहिले सामान्यतया गठबन्धन, एकता र मोर्चाका सन्र्दभमा सोचेको यति हो ।

(एमाले नेता घनश्याम भुसालले कम्युनिष्ट एकता आवश्शयकता र औचित्यताका विषयमा सोमबार काठमाडौंमा पत्रकारहरुसँग गरेको कुराकानीका आधारमा सम्पादन गरी तयार पारिएको सामाग्री । सं.)

प्रतिक्रिया