सोमबार, जेठ ७, २०८१

धार्मिक द्वन्द्व निम्त्याउने फिल्म ‘द कश्मीर फाइल्स’ !

दया दुदराज २०७८ चैत ५ गते १८:१८

काठमाडौँ । यतिबेला एउटा बलिउड चलचित्रले भारतको राजनीतिमा तरंग ल्याएको छ। साथै नेपालमा समेत यसका प्रभाव देखिएको छ। त्यो चलचित्र हो ‘द कश्मीर फाइल्स’।

Advertisement

चलचित्रले भारतीय राजनीतिक माहोल परिवर्तन गर्न खोजेको देखिन्छ। यही चलचित्रकै कारण हिन्दु र इस्लाम धर्मबीच सामाजिक सञ्जालमा वाकयुद्ध सुरु भइसकेको छ।

‘द कश्मीर फाइल्स’को पक्ष र विपक्षमा धेरै मतहरू आएका छन्। इस्लाम धर्मलाई गिराउन उक्त चलचित्रको निर्माण गरिएको इस्लामी धर्मालम्बीहरूको आरोप छ भने, हिन्दु धर्महरूले यो चलचित्रले यथार्थलाई चित्रण गरेको प्रतिक्रिया दिएका छन् ।

सर्वसाधरणसँगै बलिउडकर्मी नै यो चलचित्रको आलोचनामा उत्रिएका छन्। कसैले यसको पक्षमा वकालत गरेका छन् त कसैले विपक्षामा। विवेक अग्निहोत्रीको ‘द कश्मीर फाइल्स’ गएको मार्च ११ देखि सिनेमा घरमा रिलिज भएको थियो। कश्मीरी पण्डितहरूको पलायनको कथा देखाइएको चलचित्र सार्वजनिक भएलगत्तै चर्चा र आलोचनामा छ।

चलचित्रमा के छ ?

चौतर्फी चर्चा र आलोचित बनेको चलचित्रमा के छ? जसले बक्स अफिसमा राम्रो कमाईसमेत गरिरहेको छ। यो चलचित्र सत्य घटनामा आधारित छ। जहाँ कश्मीरमा रहेका पण्डितहरू र इस्लामहरूबीचको द्वन्द्वलाई देखाइएको छ।

चलचित्रले कश्मीरी पण्डितहरूको पीडालाई चित्रण गरेको छ। फिल्मलाई प्रधानमन्त्री नरेन्द्र मोदीदेखि कलाकारहरू अक्षय कुमार, कंगना रनौतलगायत धेरै सेलिब्रेटीहरूले तारिफ गरेका छन्। चलचित्र हेरेपछि रोएका दर्शकको भिडियो भाइरल भइरहेको छ।

चलचित्रले सामाजिक सञ्जालमा तारिफ पाइरहेको छ। जसका कारण फिल्मलाई लिएर मानिसमा उत्सुकता बढ्दै गएको छ। त्यस्तै इस्लाम धर्मलम्बीहरूले भने मुसलमानप्रति घृणा पैदा गराएको अभिव्यक्ति दिएका छन्। सामाजिक सञ्जालमा एक प्रकारको वाक युद्ध नै चर्किएको छ।

चलचित्रमा अनुपम खेरसहित मिथुन चक्रवर्ती, दर्शन कुमार, पल्लवी जोशी, पुनीत इस्सर, मृणाल कुलकर्णीलगायत कलाकारको मुख्य भूमिका रहेको छ। ‘द कश्मीर फाइल्स’ले ९० को दशकमा आफ्नै राज्यबाट निकालिएका कश्मीरी पण्डितहरूको कथालाई चित्रण गरेको छ।

सन् १९९० को त्यो भयानक समय अवधि जब कश्मीरी पण्डितहरू आफ्नै घर छाड्न बाध्य हुन्छन्। यो चलचित्रले पण्डितहरूको भाग दौडमात्र नभएर नरसंहार भएको घटनालाई समेत दर्शाएको छ। चलचित्रमा राजनीतिले कश्मीरी पण्डितमाथि गरिएको नरसंहारलाई कसरी वर्षौंसम्म लुकाइराखिएको थियो भन्ने उल्लेख छ। चलचित्रको कथा सन् १९९० को दशकबाट शुरु भएर हालसम्मको अवस्थालाई देखाइएको छ।

दिल्लीमा अध्ययनरत कृष्ण (दर्शनकुमार) आफ्नो हजुरबुवा पुष्करनाथ पण्डित (अनुपम खेर)को अन्तिम इच्छा पूरा गर्न श्रीनगर आउँछन्। कश्मीरको विगतबारे अनभिज्ञ, उनी आफ्नो परिवारसँग भेटघाटका निम्ति आएका हुन्छन्। उनी सत्यको खोजीमा निस्केका हुन्छन्। जहाँ उनले हजुरबुवाका चार साथीलाई भेट्छन्। यही क्रममा कश्मीरी पण्डितको पलायन र नरसंहारको चर्चा उनीहरूबीच सुरु हुन्छ र चलचित्रको कथा सन् १९९० मा पुग्छ।

आतंककारी बन्दुक लिएर कश्मीरका सडकमा कसरी घुम्छन् र पण्डितलाई खोजेर मार्छन्? वृद्ध, महिला, बालबालिकालाई समेत उनीहरूले छाड्दैनन्। यही कुरालाई चलचित्रमा देखाइएको छ। चलचित्रको यी दृश्यले धेरैको मनमा डर उत्पन्न गर्न सक्छ। त्योबेला कस्तो डरको माहोल हुने छ भन्ने हामी कल्पना पनि गर्न सक्दैनौँ।

कश्मीरी पण्डितमाथि हुने सबै हिंसा आफू सामुन्ने भएका देख्दादेख्दै पनि राज्यको प्रशासन कसरी लाचार भएर बस्छ भन्ने कुरालाई चलचित्रमा देखाउन खोजिएको छ। चलचित्रमा अनुपम खेरले गरेको अभिनयको जति तारिफ गरे पनि कम हुन्छ। उनको भूमिकाले धेरैको मन छुन्छ।

यस्तै, अर्का कलाकार मिथुन चक्रवर्तीले पनि उत्कृष्ट अभिनय गरेका छन्। यससँगै चलचित्रमा दर्शनकुमार, पल्लवी जोशी, प्रकाश बेलावादी, पुनित इस्सर, अतुल श्रीवास्तव, चिन्मय मण्डलेकर, भाषा सुम्बली पनि उत्तिकै महत्वपूर्ण भूमिकामा देखिएका छन्। विवेक अग्निहोत्रीको वर्षौंदेखि अनुसन्धानको मिहिनेत यस चलचित्रमा झल्किन्छ।

कश्मीरी पण्डितको विस्थापन र नरसंहारको कथामा निर्देशकले धेरै मुद्दालाई छोएका छन्। निर्देशकले कश्मीरी पण्डितको पीडालाई तीनवटा पात्रमार्फत देखाउने प्रयास गरेका छन्। यद्यपि, चलचित्रमा धेर कुरा दोहोरिएका छन्। जसले दर्शकलाई चलचित्र कैयौँपटक सम्झिन बाध्य बनाउँछ।

भाजपाको प्रचार एजेण्डा हैन?

चलचित्रलाई लिएर भारतमा यतिबेला राजनीति गरेको भन्दै विवादसमेत उत्तिकै थपिँदै गएको छ। भारतका युपीसहित भाजपाको सरकार भएका अधिकांश राज्यमा यसलाई करमुक्त गरिएको छ।

धेरै ठाउँमा, भाजपा समर्थकले यसलाई सित्तैमा हेर्न पाएका छन्। तर, भाजपाले यो फिल्मलाई पार्टीको एजेण्डाको रूपमा प्रचार गरिरहेको विपक्षीले आरोप लगाएका छन्।

कांग्रेसले ट्विट गर्दै फिल्मको आलोचना गरेको छ। केरला कांग्रेसले आफ्नो ट्विटर ह्याण्डलमा फिल्मले तथ्यलाई तोडमोड गरेको आरोप लगाएको छ। यससँगै आसमका सांसद बद्रुदिन अजमलले पनि फिल्म कश्मीर फाइल्सको विरोध गर्दै प्रतिबन्ध लगाउन माग गरेका छन्।

सामाजिक सञ्जालमा केही व्यक्तिहरूले फिल्मलाई प्रतिबन्धको मुद्दा लगाउन माग गरेका छन्। यो फिल्मलाई प्रचारका रुपमा प्रयोग गरिएको उनीहरूको भनाई छ।

चलचित्रबारे भारतीय प्रधानमन्त्री मोदीले समेत प्रतिक्रिया दिएका थिए। त्यसकारण यो चलचित्रले भारतीय राजनीतिमा हलचल मच्चाएको हो। भाजपाका अधिकांश नेताले चलचित्रलाई शानदार भनेका छन्। र, उनीहरूले जनतालाई फिल्म हेर्न अपिलसमेत गरेका छन्।
दिल्ली दंगाको समयमा उग्र भाषणका कारण चर्चामा आएका कपिल मिश्राले फिल्मको विषयमा ट्विट गरेका छन्। महिला एवं बाल विकास मन्त्री स्मृति इरानीले ट्विटमार्फत ‘खुनले लेखिएको यो इतिहासलाई पुनः दोहोर्याउन नहुने’ उल्लेख गरेकी छन्। मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंहले फिल्मलाई धेरै दर्शकले हेर्नु पर्ने भएकाले यसलाई ट्याक्स फ्री गरिएको जनाएका छन्।

नेपालमा प्रदर्शन हुने
यो फिल्म मार्च ११ मा रिलिज हुने भएको भएता पनि नेपालमा सार्वजनिक भएको छैन। चलचित्र उठान गरेको विषयवस्तु नभई नेपाली बजारमा स्टारडम देखिने अनुहारको मात्र फिल्म रिलिज गरिने भएकाले यसको प्रदर्शनमा ढिलाइ भएको हो।
यद्यपि, भारतमा यसले पाएको समीक्षा र बक्स अफिसमा गरेको व्यापार देखेपछि नेपाली वितरकले रिलिज गर्ने भएका छन्। फिल्म एक सातापछि आगामी शुक्रबारबाट नेपालमा रिलिज हुने भएको छ।

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया