सोमबार, जेठ ७, २०८१

कविता

“हो म नयाँ थरको खोजिमा छु”

प्रदिप घताल ‘शान्त’ २०७८ चैत ५ गते ७:१२

तिमी विभेद र शोषण जायज हो भन्छौ
म अन्याय र अपराध हो भनिरहेछु ।
तिमी थिचो मिचो गर्ने छिमेकीसँग,
रोटीबेटीको सम्बन्ध छ भन्छौ ।
म यहि सम्बन्ध जोड्न खोजी रहेछु ।
म त तिमिबाटै थिचिएको मान्छे ।
म पनि यहि देशको सपुत हुँ
किन आफ्नै देशभित्र बार लगाउँछौ
म स्वतन्त्र भइ बाच्न चाहन्छु,
तर जातको पिंजडामा थुनिरहन्छौ ।
म त तिमीबाटै बारिएको मान्छे ।
तिमीले पुज्ने भगवान र
मैले पुज्ने भगवानमा के भिन्नता छ ?
तिमीले मान्ने र मैले मान्ने धर्म पनि त उहि हो ।
तर तिम्रै धर्म मान्दिनेहरुसँग पनि
रोटीबेटी चलाउँदिन भन्छौ ।
सिमा मिचियो आउ छिमेकीसँग लडौँ भन्छौ
मलाई नै छेकबार, काँडेतार लगाउँछौ
कसरी देशको सीमा बचाउन जाउँ ?
कसरी देशको भूमी फिर्ता ल्याउन जा उँ ?
म त आफ्नै समाजबाट मिचिएको मान्छे
तिम्रो धड्कन रोकिन खोज्दा
मेरै रगत लेउ भन्छौ
जब तिमी बोल्न सक्ने हुन्छौ,
मैले पकाएको चल्दैन भन्छौ ।
म तिमिबाटै अछुत बनाइएको मान्छे ।
तिम्रा पुर्खाले बनाएको
जातको जाँतोमा पिल्सीएर
थिलथिलो भएको मेरो मन र तनहरुले ।
कसरी लड्न सक्छन् पराइसँग ?
तिम्रो कथित उच्च जातसँग ।
म त जात र छुवाछूतमा पिल्सिएको मान्छे ।
तिम्रो जातले मलाई दुखेको कुरा
तिम्लाई के थाहा ?
तिम्रो जातभित्र अजंगको विष लुकेको कुरा
तिम्लाई के थाहा ?
म त जातको विष पिएर बाचेको मान्छे ।
अझै तिम्रो आँखा र मनले
विभेद नदेखे जस्तो गर्छौ,
वसुदेव कुटुम्बकमको फगत नारा रट्छौ ।
तिम्रो यो ढोङी नारामा पनि
मलाई सन्देह छ ।
किनकी म तिमिबाटै विभेद भोगेको मान्छे ।
सस्कृती र धर्मको आवरणमा
शक्ति र सत्ताको आडमा
नेता र मन्त्रीको संरक्षणमा
तिमीले गरेका अपराधको भाडो
बिस्तारै अब भरिदै छ ।
एकएक लेखाजोखा गरिदै छ ।
किन कि म तिमिबाटै शोसिएको मान्छे ।
छिमेकी देशको हेपाईभन्दा
तिमीले गरेका तुच्छ र नृशंस व्यबहारले
बारम्बारको शोषण र अपमानले,
मलाई दुखेको छ ।
तिम्रा ढुङ्गाका मनप्रति
मेरा आक्रोश बढ्दै गएको छ ।
किन कि म तिमीबाटै हेपिएको मान्छे ।
त्यसैले पर्ख
म पहिला आफ्नो घर बनाउँछु
तिम्रा पुर्खाले बनाएको जातभन्दा
अलग्गै आफ्नै थर बनाउँछु ।
त्यो घरले तिमीले फ्याँकेका अन्याय
र विभेदका विरुद्ध प्रतिरोध गर्नेछ ।
थरले तिम्रो शोषण विरुद्ध बोल्न
आत्मबिस्वाश र हिम्मत भर्नेछ ।
तिम्रो वास्तविक अनुहार विरुद्ध धावा बोल्नेछ ।
मेरो पहिचान फेर्ने छ ।
हो म त्यही घरको खोजीमा छु ।
हो म नयाँ थरको खोजीमा छु।
किन कि म तिमिबटै अछुत बनाइएको मान्छे ।

Advertisement

प्रतिक्रिया