फागु पूर्णिमामा ट्राफिक व्यवस्थापनमा कडाई, ६८ स्थानमा विशेष जाँच

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले फागु पूर्णिमा पर्व (होली)लाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँ उपत्यकाका जिल्लामा एक हजार तीन सयभन्दा बढी ट्राफिक प्रहरी खटाउने भएको छ ।
होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटना रहित होली पर्व बनाउन महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी आफ्नो जनशक्ति परिचालन गर्ने भएको हो ।
होली पर्वलाई सभ्य र सुरक्षित तरिकाले सम्पन्न गराउन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले सबै ट्राफिक इकाई तथा इञ्जार्जलाई ट्राफिक व्यवस्थापन कडा बनाउन निर्देशन दिँदै खटिने प्रहरी कर्मचारीहरूलाई बुधबार ब्रिफिङसमेत गरेका छन् ।
‘फागु पूर्णिमाको अवसरमा हुने सवारी व्यवस्थापनको विभिन्न चुनौती तथा खतरालाई यथार्थपरक विश्लेषण र मूल्यांकन गरेर प्रविधि उपकरणको समुचित उपयोग गर्ने गरी विशिष्टीकृत ट्राफिक प्रहरी परिचालन गर्न लागेका छौँ,’ एसएसपी उमेशराज जोशीले भने, ‘बिहानैदेखि प्रहरी नायव उपरीक्षकको नेतृत्वमा दुईवटा अनुगमन टोली, १४ वटा मोबाइल टोली, सवारी साधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरिने छ ।’
उच्छृङ्खल तथा अवान्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तीव्र गति र जिकज्याक गरी तथा मादक पदार्थ सेवन गरी मोटरसाईकल हुइँक्याउने, मोटरसाइकलमा हेल्मेट नलगाउने, मोटरसाइकलमा तीन जनाभन्दा बढी सवार गरी चलाउने, सवारी साधनको प्रयोग गरी महिलाहरूलाई लक्षित गरी रङ लोला हान्ने र अभद्र व्यवहार गर्ने, ठूलो आवाज निकाल्ने र मोडिफाई गरी सवारी चलाउने, सवारी चालक अनुमति पत्र नभएकाले सवारी साधन चलाउने, ट्राफिक नियमविपरीत सवारी चलाउने माथि विशेष निगरानी गर्ने गरी महाशाखाले सुरक्षा योजना तयार गरेको जनाइएको छ ।
महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ६८ स्थानमा विशेष जाँचको व्यवस्था मिलाएको छ भने बिहानैदेखि मापसे परीक्षण कडाईका साथ शुरु गर्ने भएको छ ।
प्रतिक्रिया