को बन्लान् नेपाल प्रहरीको आइजीपी, कसको सम्भावना कति ?

काठमाडौँ । नेपाल प्रहरीलाई बलियो संगठनका रुपमा मानिन्छ । जहाँ ८० हजारको हाराहारीमा जनशक्ति छन् । अपराध अनुसन्धानदेखि शान्ति सुरक्षामा महत्वपूर्ण निकायका रुपमा मानिने प्रहरी संगठनले देशभित्रको समग्र अपराधको अनुसन्धान र अपराध नियन्त्रणको कार्यमा अहंम भूमिका खेलेको हुन्छ ।
लामो इतिहास बोकेको नेपाल प्रहरीको नेतृत्व कसले गर्ला भन्नेमा सबैको चाँसो हुनु स्वभाविक हो । यही क्रममा नेपाल प्रहरीको २९ औँ आइजीपी को बन्ला ? भन्ने प्रश्नमा सबैको नजर सोझिएको छ ।
महिनापछि अर्थात ०७९ वैशाख १८ गते ३० वर्षे सेवा अवधिका कारण वर्तमान प्रहरी महानिरीक्षक (आइजीपी) शैलेश थापा क्षेत्रीले प्रहरी सेवाबाट अनिवार्य अवकाश पाउँदै छन् । क्षेत्री निवृत्त भएसँगै नेपाल प्रहरीले आउँदो वैशाख १९ गते प्रहरी संगठनको २९ औँ आइजीपी पाउने छ । आइजीपी थापासँगै अतिरिक्त महानिरीक्षक (एआइजीहरू) हरि पाल, प्रधुम्न कार्की र निरज शाही पनि बिदा हुने छन् । आइजीपी थापाको अवकाससँगै नयाँ आइजीपी बन्न नेपाल प्रहरीभित्र चलखेल सुरु भइसकेको छ ।
मन्त्रिपरिषद्को गत बिहीबार (फागुन ५ गते)को बैठकले एआइजीको दरबन्दी थप्ने निर्णय गरेपछि भावी आइजीपीका लागि ४ जना प्रत्यासी देखिने स्थिति बनेको छ । योसँगै नेपाल प्रहरीमा एआइजीको दरबन्दी प्राविधिकबाहेक ८ पुगेको छ । त्यसअघि एआइजीपीद्वय विश्वराज पोखरेल र शहकुल थापा क्षेत्री आइजीपीका दाबेदार थिए । एआइजीपीको दरबन्दी थपिएसँगै आइजीपी बन्ने प्रतिस्पर्धा बढेको छ । दरबन्दी थपिएसँगै आइजीपीका चार जना प्रत्यासी पुगेका हुन् । मंगलबार (चैत १) बसेको मन्त्रिपरिषद्को बैठकमा गृहमन्त्रालयले ३ जना डिआइजीहरुलाई एआइजीपीमा बढुवा गर्नको लागि सिफारिस गरेको छ ।
चुनाव केन्द्रीत रहेर र सरकारले आफू अनुकूल नेतृत्व खोज्नैका लागि दरबन्दी थप गरिएको आंकलन गरिए पनि वरियता मिच्न सरकारलाई गाह्रो छ ।
बढुवा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डीआइजी वसन्तकुमार पन्तलाई पहिलो नम्बरमा बढुवा गर्न सिफारिस गरेको छ । दोश्रो र तेश्रो नम्बरमा क्रमशः केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत धिरजप्रताप सिंह र कार्य निर्देशनालयमा कार्यरत रवीन्द्रबहादुर धानुक सिफारिस भएका छन् । तीन जनाको बढुवाका लागि सिफारिस गरेसँगै आइजीपीको प्रतिस्पर्धामा पोखरेल, थापा क्षेत्री, प्रताप सिंह र धानुक फ्लोरमा छन् । बढुवाका लागि सिफारिस भएका पन्त भने हालका आइजीपी थापा क्षेत्रीकै ब्याजी हुन् उनी वैशाख १९ गते नै अनिवार्य अवकासमा जाँदै छन् ।
चिर्वाचन आयोगले वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन मिति तय गरेको छ । चुनावको मिति तय भएसँगै नयाँ आइजीपीको नेतृत्वको चर्चा सुरु भएको हो । चुनाव केन्द्रीत रहेर र सरकारले आफू अनुकूल नेतृत्व खोज्नैका लागि दरबन्दी थप गरिएको आंकलन गरिए पनि वरियता मिच्न सरकारलाई गाह्रो छ ।
हाल नेपाल प्रहरीमा जनपदतर्फ हरि बहादुर पाल, प्रध्युमन कार्की, निरज शाही, विश्वराज पोखरेल र सहकुल थापा गरी पाँच जना एआइजीपीहरु छन् । पाँच जनामध्ये पाल, कार्की र शाही एआइजी थापासँगै अनिवार्य अवकासमा जाँदै छन् भने पोखरेल र थापा आइजीपीका प्रवल दाबेदार हुन् । तर, सरकारले एआइजीको दरबन्दी थप गरेसँगै आइजीपीको आकांक्षीमा सिंह र धानुक पनि थपिएका छन् ।
कसको सम्भावना कति ?
प्रहरी नियमावली २०७१ को दफा ४० अनुसार ज्येष्ठता, कार्य कुशलता, कार्य क्षमता उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने क्षमताको आधारमा एआइजी र एआइजी नभएको अवस्थामा डिआइजीबाट सरकारले प्रहरी महानिरीक्षकमा बढुवा गर्नसक्ने उल्लेख छ ।
नियमावलीअनुसार ज्येष्ठताका आधारमा वर्तमान आइजीपी क्षेत्रीको अवकाशपछि नयाँ आइजीको बलियो दाबेदार को हुन सक्छ ? यतिबेला यो प्रश्न सरकारले मुल्यांकन गर्दै छ । तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओली रहेको बेलामा बढुवा भएका एआइजी पोखरेल र थापा आइजीपी बन्नका लागि तीव्र लबिङ गरिरहेका छन् ।

सरकारबाट बाहिरि नै लाग्दा ओली नेतृत्वको मन्त्रिपरिषद्ले एआइजीको नयाँ दरबन्दी थप गर्दै थापालाई पनि बढुवा गरेको थियो । यी दुवै जना एआइजीहरु तात्कालिन ओली नेतृत्वको सरकार भएको बेलामा बढुवा भएकाले वर्तमान सरकारलाई असहयोग गर्न सक्छन् भन्दै नयाँ बढुवा भएका एआइजीसमेत लबिङ तीव्र पारेका छन् ।
यस्तोमा सरकारले जसलाई पनि आइजीपी नियुक्त गर्न सक्छ । प्रधानमन्त्रीले रुचाएको व्यक्ति नै प्रहरीमा आइजीपी बन्दै आएका छन् । अहिले प्रधानमन्त्री शेरबहादुर देउवा छन् भने उनकै पार्टीका बालकृष्ण खाँण गृहमन्त्री छन् । यस्तोमा प्रधानमन्त्री र गृहमन्त्रीले रुचाएको व्यक्ति आइजीपी बन्ने सम्भावना रहन्छ । आइजीपी बन्न पोखरेल, थापा, सिंह र धानुकमध्ये एक जना हुने छन् ।
हालका आइजीपी क्षेत्रीको ब्याचसँगै बढुवा भएका पोखरेलले त्यो बेलादेखि नै अघिल्लो ब्याचकालाई पछि पारेका थिए ।
एआइजीपी विश्वराज पोखरेलले २०४९ साल चैत्र २९ देखि प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरीमा प्रवेश गरेका थिए । पोखरेल एसपी बढुवासम्म आफ्नो ब्याचको पाँचौँ स्थानमा थिए । त्यो बेलासम्म प्रदेश–२ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंह ब्याचको १ नम्बरमा थिए । एसएसपी बढुवादेखि भने उनले फड्को मार्न थाले । २९ साउन, २०७४ मा एसएसपीमा बढुवा भएका पोखरेल आफ्नो ब्याचको एक नम्बरमा पुगेका थिए ।
हालका आइजीपी क्षेत्रीको ब्याचसँगै बढुवा भएका पोखरेलले त्यो बेलादेखि नै अघिल्लो ब्याचकालाई पछि पारेका थिए । सडक दुर्घटनामा डीआईजी सुशील भण्डारीको मृत्यु भएसँगै पोखरेल वैशाख २०७६ मा एकल डीआईजीमा बढुवा भएका थिए । उनको निरन्तरको बढुवालाई लिएर प्रहरी संगठन नै आलोचित बन्न पुगेको थियो । साथै प्रहरीको चेन अफ कमाण्डमाथि नै प्रश्न उठेको थियो ।
अस्वभाविक बढुवाको छलाङ हानेका पोखरेल काठमाडौं प्रहरी प्रमुख हुँदा काँडाघारीमा निशान खड्काका अपहरणकारीलाई म्यासेजमार्फत धम्क्याएको भन्दै विवादमा तानिएका थिए । त्यस्तै, सर्वेन्द्र खनाल आइजीपी हुँदा भारतको नयाँ दिल्लीस्थित दूतावासमा सरुवा हुँदा पनि पावरकै भरमा सरुवा गरिएको ठाउँ जान अस्वीकार गरेर लागू औषध नियन्त्रण ब्युरोमा हाजिर भएको आरोप छ ।
साथै, उनी केपी ओलीको सरकारमा बढुवा भएकाले कांग्रेसको प्रधानमन्त्री र गृहमन्त्री नै कांग्रेसको भएका हुँदा उनलाई आइजीपी बनाउन नहुने उनी विरोधीको तर्क छ । तर, पोखरेलको विगतको राजनीतिक पृष्ठभूमि कांग्रेस नै भएको तथा वरियतामा पनि सबैभन्दा अघि रहेकाले यौ दौडमा उनी अगाडि देखिन्छ ।
२०४९ चैत ११ गतेबाट प्रहरी उपरीक्षक (इन्सपेक्टर)बाट प्रहरी सेवामा खटिएका एआइजीपी थापा पनि प्रहरी प्रमुख अर्थात आइजीपीका प्रवल दाबेदार मानिन्छन् । उनी अब्बल प्रहरीका रुपमा समेत परिचित छन् । थापालाई पूर्ववर्ती ओली सरकारले ‘अस्वाभाविक’ रुपमा बढुवा गरेको थिए ।
त्यतिबेला उनी डिआइजी हुँदा तेस्रो वरियतामा थिए । स्थानीय निकायको चुनाव ३० वैशाखमा हुने भएकाले अब हुने आइजीपीको कार्यकाल महत्वपूर्ण हुनेछ ।
एआइजी थापा पनि विभिन्न विवादमा मुछिएका छन् । तात्कालिन ओली सरकारले नियुक्त गरेको हुनाले वर्तमान सरकारले थापालाई कसरी लिन्छ भन्ने प्रश्नको उत्तर अझै गर्वमा नै छ । यद्यपि, थापाले आइजीपी बन्नका लागि लविङ सुरु गरिरहेका छन् ।
सिंहले शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा दरबन्दी बढाएर बढुवाको अवसर पाउन लागेका छन् । यसकारण उनलाई देउवाको साथ रहेको देखिन्छ । सिंह सुदूरपश्चिमका हुन्, देउवाले आफ्नो क्षेत्रकालाई निकै संरक्षण गर्ने शैली देखाउँदै आएका छन् । विगतमा जयबहादुर चन्दलाई आइजीपी बनाउन देउवाले ठूलै संघर्ष गरेका थिए ।
त्यतिबेला उनी डिआइजी हुँदा तेस्रो वरियतामा थिए । स्थानीय निकायको चुनाव ३० वैशाखमा हुने भएकाले अब हुने आइजीपीको कार्यकाल महत्वपूर्ण हुनेछ । अबको आइजीपीको पालामा तीन तहको चुनाव हुँदै छ । यसकारण पनि आइजीपीमा देउवाले आफूले चाहेको एआइजीलाई बढाउन सक्छन् ।
यस्तोमा सिंहले बाजी मार्न सक्ने आंकलनसमेत गरिएको छ । तर, विगतमा चुनावको मुखमा जयबहादुर चन्दलाई वरियता मिचेर आइजीपी बनाउँदा चुनावमै नकारात्मक परिणाम आएको तथा अदालतमा मुद्दा परेको अनुभवका आधारमा यसपटक त्यही बाटो अपनाउन देउवा तत्पर देखिने सम्भावना न्युन रहे पनि त्यसलाई नकार्न सक्ने अवस्था भने छैन । देउवा निकट स्रोत भन्छ, ‘आइजीपीका प्रतिस्पर्धीमध्ये देउवाको रोजाईमा सिंह नै हो, तर सिंह रोज्दा धेरै झमेलामा पर्ने सम्भावना रहेकाले चुनावको मुखमा झमेलामा नपर्न उहाँलाई पार्टीभित्रैबाट दबाब छ ।’
त्यस्तै, एआइजीपीका लागि सिफारिस भएका धानुक सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता एवं अर्थमन्त्री जनार्दन शर्मा निकट अधिकृत हुन् । उनको उर्जामन्त्री पम्फा भुसालसँग पनि निकट सम्बन्ध छ । तर, आइजीपी नै बन्ने गरी दबाब सृजना गर्न उनले सक्ने अवस्था छैन ।

दया दुदराज
मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।
प्रतिक्रिया