काठमाडौंका मेयर र उपमेयर वीच फेरि चर्कियो विवाद
मेयरको निर्देशनमा वसन्तपुरमा बनाइएका संरचना उपमेयरले आफै पुगेर भत्काइन्

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरवीच फेरि नयाँ लफडा देखा परेको छ । महानगरपालिकाको मेयर विधासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीका वीचमा वेला वेला विवाद वल्झिने र केही समय साम्य हुने र फेरि नयाँ शिराबाट विवाद वल्झिने गदै आईरहेको छ ।
अहिले फेरि नौतले दरबारअघि वसन्तपुर डबलीमा बनाइएको संरचनाका विषयमा विवाद वल्झेको छ । हनुमानढोका दरबार क्षेत्र वसन्तपुर डबलीमा बनाएका कंक्रिट संरचना महानगरकी उपमेयर खड्गी नेतृत्वको समूहले मंगलबार भत्काएको छ ।
नेपालको झन्डा राख्न बनाइएको संरचना उपमेयर खड्गीको नेतृत्वमा पुगेको समूहले भत्काइदिएको हो । वसन्तपुर डबलीमा बनाइएको संरचना हटाउन पुरातत्व विभागले पटकपटक पत्राचार गरेको थियो । विभागको पत्राचारको महानगरले बेवास्ता गरेपछि सम्पदा बचाउ अभियानले महानगरकै अनुगमन समितिलाई गुहारेका थिए । त्यसपछि उपमेयर खड्की मंगलबार त्यहाँ पुगेर संरचना भत्काउन निर्देशन दिएकी हुन् ।
मंगलबार बिहानै अनुगमनमा वसन्तपुर डबली पुगेकी खड्गीले तत्काल कंक्रिट संरचना नभत्काए मेयरसँग लफडा हुने चेतावनी दिएकी थिइन् । मेयर शाक्यलाई दुईतीन दिनदेखि सम्पर्क गर्न खोजेको तर मोबाइल अफ भएको खड्कीले बताइन् ।
अहिले साँझ उपमेयर खड्गीको संयोजकत्वमा पुरातत्व विभाग मातहत हनुमानढोका दरबार हेरचाह अड्डाले झन्डा राख्न गाडिने पोलहरु अड्याउन प्रयोग गरिने फलामका नटहरु काटिदिएको छ ।
पुरातत्व विभागको रोक्का पत्रलाई पटक–पटक बेवास्ता गर्दै महानगरले वसन्तपुर डबली भत्काएर नयाँ कंक्रिट संरचना निर्माण गरेको थियो ।
आठवटा ३५ फिट अग्लो झन्डा राख्ने प्रयोजनले महानगरले डबली मासेर रातारात ट्यांकी आकारका ८ वटा संरचना बनाएको थियो ।
उपमेयर खड्गीले विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदामा झन्डा राखिएको नभई कंक्रिट संरचनासँग सरोकार रहेको बताइन् ।
‘‘विश्व सम्पदामा कंक्रिट संरचना बनाउनु राम्रो होइन । यो सरासर गलत हो । मेयरले कंक्रिट संरचना बनाउँदा मलाई थाहा दिनुभएको थिएन । अहिले मैले भत्काउँदा पनि मेयरलाई थाहा दिएको छैन । अब मेयर र उपमेयरबीचको सम्बन्ध परिस्थितिले देखाउँछ,” उनले भनिन् ।
काठमाडौं महानगरपालिकाकी उपमेयर खड्गी नेपाली कांङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन । मेयर विद्यासुन्दर शाक्य नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
‘‘मेरो अधिकार क्षेत्र मेयरको भन्दा कम हुन्छ । मलाई जनताले भोट दिएर उपमेयर बनाएका हुन् । त्यसैले जनविरोधि काममा स्ट्यान्ड लिएकी हुँ । लिँदै आएकी पनि छु,” उपमेयर खड्गीले भनिन् ।
महानगर सहरी पूर्वाधार विकास विभागले ७० लाख रुपैयाँ खर्च गरेर विभिन्न स्थानमा राष्ट्रिय झन्डा राख्ने प्रयोजन अनुरुप वसन्तपुर डबलीमा नयाँ संरचना बनाएको थियो ।
खड्कीले संरचना आफै पुगेर भत्काउन निर्देशन दिएपछि मेयर शाक्यको भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । यधपी, उनले उपमेयरको शैलीको आलोचना गर्ने भएका छन् । यसले दुई जनप्रतिनिधीका वीचमा तितो सम्वनध बनाउने देखिएको छ ।
हुन त यी दुई जनप्रतिनिधीका वीचमा पटक पटक विवाद नभएको होइन ।
यस अगाडी सार्वजनिक शौचालय निर्माण, सञ्चालन र व्यवस्थापनका विषयमा काठमाडौं महानगरपालिकामा मेयर शाक्य र उपमेयर खड्कीका वीचमा विवाद देखिएको थियो । मेयर शाक्यले उपमेयर खड्गी नेतृत्वको कार्यदल भंग गरेपछि विवाद चरम उत्कर्षमा पुगेको थियो ।
२०७५ माघ ६ मा खड्गीको नेतृत्वमा अधिकार सम्पन्न कार्यदल गठन गरिएको थियो । तर, २०७६ वैशाख तेस्रो साता बसेको कार्यपालिका बैठकबाट मेयर शाक्यले कार्यदल भंग गरेका थिए ।
कार्यदलले तीन महिना लगाएर शौचालय निर्माण, सञ्चालन र व्यवस्थापनका विषयमा अध्ययन गरेको थियो । प्रतिवेदन नबुझ्दै मेयर शाक्यले शौचालय निर्माण, सञ्चालन र व्यवस्थापनको नेतृत्व आफैँले गर्ने भन्दै कार्यदल भंग गरेका थिए ।
कार्यदल निर्माण गर्दा सम्भाव्यता अध्ययन गर्ने, कार्यविधि बनाउने र त्यसको कार्यान्वयनसमेत गर्न पाउने गरी अधिकार दिइएको थियो । तर पछि मेयरले कार्यदल नै भंग गरिदिएपछि दुई वीचको झगडा चुलिएको थियो ।
त्यसअगाडी पनि २०७६ वैशाख दोस्रो साता खुलामञ्चमा बनाइएका अवैध सटर भत्काउने विषयमा पनि मेयर शाक्य र उपमेयर खड्गीबीच विवाद भएको थियो ।
मेयर शाक्य र उपमेयर खड्कीको वीचमा वढेको विवादले गत असारमा सम्पन्न नगरसभा बैठक उपमेयर हरिप्रभा खड्गीले बहिष्कार समेत गरेकी थिइन् । मेयर शाक्यले तयार पारेको नीति तथा कार्यक्रमप्रति चित्त नबुझेपछि नगरसभा बहिस्कार गरेको उपमेयर खड्गीले त्यसवेला बताएकी थिइन् ।
शाक्यले पनि खड्कीसँग कुनै सल्लाह नै नगरी महानगरको नीति तथा कार्यक्रम बनाएका थिए ।
रानीपोखरीको पुनर्निर्माणका विषयमा पनि काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरबीचको मतभेद चर्काे रुपमा सतहमै देखिएको थियो । त्यो विवादमा मेयर र उपमेयरसँगै सम्पदा जोगाउने या के गर्ने भन्ने नाममा दुई जनप्रतिनिधीले विवाद गरेका थिए ।
अन्य विषयमा विवाद गरेपनि महानगरपालिकाका मेयर शाक्य र उपमेयर खड्गीले महानगरको पैसा बाँड्ने विषयमा कार्यपालिका र नगरसभामामा भने विवाद नगरी आफु निकटका र आफु निकटका पार्टीका नेताहरुको नाममा खुलेका संघसस्था र प्रतिष्ठानलाई पैसा बाड्ने विषयमा भने मिलेरै भागवन्डा लगाएको महानगरपालिकाकै कर्मचारीहरु बताउँछन् ।
‘मेयर र उपमेयरबीच सधैं टकराव हुन्छ, तर पैसा दिने विषयमा उहाँहरूमा मेलमिलाप छ’, महानगरका एक कर्मचारी भन्छन् ।
प्रतिक्रिया