युक्रेनको किभमा ३५ घण्टे कर्फ्यु जारी
काठमाडौं । युक्रेनको राजधानी किभमा ३५ घन्टे कर्फ्यु लगाइएको छ । किभका मेयर किटाली क्लित्स्कोले अहिलेको अवस्था कठीन र भयावह भएकाले किभमा ३५ घण्टे कर्फ्यु लगाइएको बताएका हुन् ।
पछिल्लो केहि दिनयता रुसी सेनाले किभमा आक्रमण गरिरहेका छन् । ‘आजको दिन हाम्रा लागि अत्यन्तै कठिन र भयावहपूर्ण छ‚’ मेयर क्लित्स्कोलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

रुसले किभमा रहेको आवासीय भवन र मेट्रो स्टेसनमा हमला गरेपछि युक्रेनले ३५ घण्टासम्मका लागि कर्फ्यु लगाउने निर्णय गरेको हो । युक्रेनको आपत्कालीन सेवाका अनुसार भवनमा गरिएको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।
रुसी फौजले युक्रेनको राजधानी किभलाई नियन्त्रणमा लिन शनिबारदेखि आक्रमण तीव्र पारेको छ ।आक्रमण सुरु गरेको १७औं दिनमा किभको बाहिरी क्षेत्रमा दुई देशका सेनाबीच भीषण लडाइँ भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । बेलायती रक्षा मन्त्रालयले किभको उत्तरी क्षेत्रमा रहेका रुसी फौज तितरबितर भएका दाबी गरेको छ । सहरलाई घेराबन्दीमा पार्ने प्रयासका लागि फौज बाँडिएको हुन सक्ने मन्त्रालयले जनाएको छ । ‘रुसी फौजले युक्रेनी प्रत्याक्रमण छल्न र क्षति कम गर्न पनि त्यसो गरेको हुन सक्छ,’ मन्त्रालयले भनेको छ ।
त्यस्तै, खर्किभ, मरिउपोल, माइकोलेभ र सुमी सहर रुसी फौजको घेराबन्दीमा परेका बीबीसीले जनाएको छ । रुसी आक्रमण जारी रहेका ती सहरहरूको तापक्रम निकै घटेको र कठ्यांग्रिँदो चिसोमा मानिसहरू बिजुली र पानीबिना बस्न बाध्य भएका जनाइएको छ । रुसले आंशिक युद्धविरामको घोषणा गरे पनि युक्रेनका मुख्य सहरहरूमा लगातार आक्रमण गरिरहेको छ ।
प्रतिक्रिया