सोमबार, असोज १५, २०८०

तौल हाम्रै बढी छ, चुनावमा अरु सबै मिले पनि कर्‍याककुरुक बनाउँछौँ : ओली

एमालेलाई धारे हात लगाएर भ्रम फिँजाउन खोज्दैमा चुनाव जित्दैनन, जनताले वुझिसकेका छन्

मेरोन्यूज २०७८ चैत १ गते १४:५४

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउने चुनाव एमाले एक्लैले सवै दल मिलेर आएपनि जितेर देखाईदिने बताएका छन् । पार्टीको भगिनी संगठन अखिल नेपाल महिला संघको केन्द्रीय समितिको पूर्ण बैठकलाई काठमाडौंमा सम्वोधन गदै अध्यक्ष ओलीले अन्य सवै दलको तौल भन्दा एमालेको तौल बढी नै रहेकोले चुनाव एमालेले जित्ने दावी गरेका हुन् ।

′एक्ला एक्लै आए भने त कर्‍याक कुरुक हुन्छन्। सबै पाँचै दल मिलेर आए पनि हामी कर्‍याककुरुक बनाउँछौँ अहिले हाम्रो धान पाकेको बेला छ, हामीलाई मंसिर लागेको छ। धान काट्ने, बिटा लगाउने, कुन्यु थुपार्ने बेला छ।′ ओलीले भने ।

तत्कालिन नेकपा विभाजन भएको र एमालेमा पनि माधव नेपाल लगायतका नेताले पार्टी छोडेर अर्काे पार्टी बनाएपनि एमलेलाई त्यो विभाजनले कुनै असर नगरेको ओलीको भनाई छ ।

कतिपय नेताहरुले अन्य सत्तागठबन्धन दलहरु मिलेर आए एमालेलाई अप्ठ्यारो पर्न सक्ने भनी गरिरहेको टिप्पणीमा पनि ओलीले सहमति जनाएनन । उनले भने, ‘मैले यो हौसिएर बोलिरहेको छैन। केहीले हौसिएर जितिन्छ भनेर हुँदैन भनिरहेका छन्। अफ्ठ्यारो छ गाह्रो छ भनिरहेका छन् । हामीलाई गाह्रो केही पनि छैन। हामी लड्न सक्छौँ। उनीहरु स- साना समूह हुन्, गठबन्धन सबै एकातिर र हामी एकातिर छौँ हुँदा पनि हाम्रो तौल बढी हुन्छ।′

तत्कालिन समयमा आफु प्रधानमन्त्री बन्दा देशको समृद्धि र विकासका लागि धेरै नै काम गरेको पनि ओलीको भनाई थियो । सरकारमा रहेर गरेका कामले नै जनताका वीचमा एमाले लोकप्रिय रहेको र त्यसैले आउने चुनावमा एमालेले एक्लै सवैदललाई जितेर देखाईदिने बताएका हुन् ।

‘कांग्रेसले के लिएर जान्छ रे ! जनतामा एमालेको अघिल्लो सरकारको भण्डाफोर गर्ने रे ! कांग्रेसको के भण्डाफोर गर्नु उनीहरुले टन्न खाएका छन्′, ओलीले भने, ‘हामीले विगतमा पर्याप्त विकासका काम गरेका छौँ। हामीसँग अनगिन्ती योजना छन्। उनीहरु एमालेलाई धारे हात लगाएर भ्रम फिँजाउने काम गर्ने रहेछन्।′

ओलीले पार्टीको स्थानीयत तहमा अहिले उपप्रमुख रहेकालाई प्रमुखमा उम्मेदवार बनाउन सकिनेमा आफु सकारात्मक रहेपनि धेरै लविङ्ग गनृे र उचालिने काम नगर्न पार्टीका महिला नेतृहरुलाई आग्रह समेत गरे ।

प्रतिक्रिया