सोमबार, वैशाख २४, २०८१

एनआरएनए अध्यक्षमा रविनाले र महासचिवमा बिनयले गराए उम्मेदवारी दर्ता

मेरोन्यूज २०७८ फागुन २५ गते ८:४५

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) १० औ अन्तर्राष्ट्रिय महाधिवेशनका अमेरिका निवासी रविना थापाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी छिन् । उनले नारी दिवसको अवसर पारेर नेपालस्थित एनआरएनएको केन्द्रीय कार्यालयमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

Advertisement

आगामी मार्च २१ र २२ सम्म हुने अन्तर्राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवारी दर्ता मार्च ७देखि ११ मार्चसम्म जारी रहने निर्वाचन समितिले जनाएको छ । रविनाले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको २०२१ -२०२३ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दर्ता गराएकी हुन् । रविना, वर्तमान कार्यसमितिकी उपाध्यक्ष पनि हुन्।
हालसम्म अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दिने घोषणा गरेपनि रविना र बद्री केसीले मात्र उम्मेदवारी दिएका छन् । कुल आर्चायले भने अहिलेसम्म उम्मेदवारी दर्ता गरेका छैनन् ।
हालसम्मको एनआरएनको इतिहास हेर्ने हो भने महिला नेतृत्वमा आउँन सकेको छैन् । एनआरएनको अध्यक्ष पदका लागि उम्मेद्वारी दर्ता गराउने रविना पहिलो महिला हुन्। एनआरएनए परिवर्तनका लागि पनि महिला नेतृत्वको आवश्यकता रहेको रविना बताउँछिन् । उनले महिला नेतृत्वमा आए मात्र भ्रष्टचार कम हुने बताउँछिन् ।
वैदेशिक रोजगारीमा जाने नेपालीलाई बाहिरको कानुन थाहा नहुने भएकाले साना गल्तीले समेत जेलमा बस्नुपरेको अवस्था छ,’ उनले भनिन्, ‘यससम्बन्धी नीतिमा सरकारसँग पहल गर्नेछौं ।’

समृद्धिका लागि सुरक्षित रोजगारीको वातावरण सिर्जना गर्न सघाउने, उद्यमलाई प्राथमिकता दिने र युवाहरुलाई संघमा ल्याउने उनको एजेन्डा छ । विदेशबाट नेपालीले सिकेर आएको सीपलाई यहाँ आएर अन्यलाई तालिम दिई धेरै जनालाई दक्ष बनाउन सकिने रविनाले बताइन् ।

म्याग्दीमा जन्मिएकी रविनाले पहिला जापानमा रहेर सामाजिक अभियन्ताका रूपमा काम गरेकी थिइन् । त्यसपछि उनले अमेरिकामा रहेर गैरआवासीय संघमा आबद्ध भई काम गरिरहेकी छन् । म्याग्दीस्थित मोना हाइड्रोपावरमा उनको पारिवारिक लगानी छ ।
त्यसैगरी, एनआरएनएको अन्तरराष्ट्रिय १० औ महाधिवेशनमा महासचिव पदमा विनय अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् । उनले आफु महासचिवको शसक्त र जित्ने उम्मेदवार भएको पनि बताए ।

वैदेशिक रोजगारीमा जानेका लागि उनीहरूको हित र भूतपूर्व गोर्खा सैनिकको अधिकारमा काम गर्ने उनले बताए । बेलायतमा रहेर विभिन्न पेसा व्यवसायमा संलग्न अधिकारीको नेपालमा शिक्षा, हाइड्रो र स्वास्थ्य क्षेत्रमा लगानी छ । उनी सूचना प्रविधि व्यवसायी हुन् ।

५१ सदस्यीय कार्यसमितिका लागि अहिलेसम्म करिब डेढ दर्जन उम्मेदवारी परिसकेको निर्वाचन समितिको कार्यालयले जनाएको छ।

प्रतिक्रिया