आइतबार, जेठ ६, २०८१

प्रचण्ड- नारायणकाजी : ‘दोस्ताना’ को सम्वन्ध

रामकृष्ण अधिकारी २०७८ फागुन २१ गते १०:३५

एकै खाले सोच, दृष्टिकोण र राजनीतिक चिन्तन सहित हुर्के वढेका नेतामा पर्छन् – पुष्पकमल दाहाल (प्रचण्ड) र नारायणकाजी श्रेष्ठ (प्रकाश) । कम्युनिष्ट पार्टीले जनताको मुक्ति गर्ने बुझाइका कारण दुवै नेता कम्युनिष्ट आन्दोलनमा हेलिन पुगेका थिए । देशमा आमुल परिवर्तनका लागि प्रचण्डले २०५१ सालमा दीर्घकालिन जनयुद्ध (शसस्त्र विद्रोह)को बाटो समेत पक्डिए । तर त्यसवेला सँगै रहेका नारायणकाजी श्रेष्ठले भने तत्काल युद्ध भन्दा जनआन्दोलन र शससत्र विद्रोहको फूयजनमा जोड दिए । कार्यनीतिमै अन्तर देखिएपछि प्रचण्ड र नारायणकाजी रुँदै अलग भएका थिए ।

Advertisement

तर कालान्तरमा फेरि १४ वर्षपछि दुई नेता एकै पार्टीमा आए । १४ वर्ष अलग पार्टीमा रहेपनि भूमिगत कालमा यी दुई नेताका बसउठ र सम्वन्ध अहिले पनि दुवै नेताहरु स्मरण गर्न छोड्दैनन । अलग पार्टीमा रहेपनि अलग भएको महसुस नगरी दुवैले एक अर्काको परिपुरकका रुपमा समेत काम गरेका थिए ।

०६५ यता भने प्रचण्ड जाहाँ छन्, श्रेष्ठ पनि त्यही छन् । एकै पार्टीमा रहेर पनि दुई नेताले गुण र दोषका आधारमा एक-अर्काको तिखो आलोचना पनि गर्छन्, अन्तरसंर्घष पनि गरेका छन् । तर सम्वन्धमा व्रेकअप भने भएको छैन ।

तर यो पटक भने सम्वन्ध अघिपछिका भन्दा अलिक खचमचिएको छ । दुवैले दुवैको भूमिका र अभिब्यक्ति प्रति मन दुखाएका छन् । कारण हो – अमेरिकी सहयोग नियोग मिलेनिमय च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई हेर्ने दृष्टिकोण । प्रचण्डले संसदमा ब्याख्यात्मक घोषणा गर्न लगएर एमसीसी अनुमोदनको बाटो लिएका मात्र छैनन, पार्टीलाई नै त्यो वाटोमा मोडे । तर श्रेष्ठलाई प्रचण्डको त्यो बाटो पटक्कै चित्त वुझेको छैन ।

प्रचण्डले संसदमा ब्याख्यात्मक घोषणा सहितको अनुमोदनमा खुसी साटेका छन् । श्रेष्ठले भने सम्झौता अनुमोदनको दिनलाई ‘कालो दिन‘को रुपमा अथ्र्याएका छन् । जसकाकारण दुई नेता वीच अहिले अन्तरसंर्घष चर्किएको छ । त्यही आवेगमा प्रचण्डले श्रेष्ठलाई ‘आफ्नो बाटो लागे हुन्छ’ भनेपछि श्रेष्ठ समुह (पूर्वएकता केन्द्र समूह) ले चित्त दुखाएको छ । र, सँगै आक्रोशित पनि । यसले प्रचण्ड र श्रेष्ठको वीचमा राजनीतिक डिभोर्स नै हुने पो हो कि भन्ने आशंका जन्माएको छ ।

यो आशंका माओवादी केन्द्रभित्रै रहेर स्वस्थ्य अन्तरसंर्घषको विधिवाट टुग्गिन्छ या विभाजनको वाटोमै पुग्छ, त्यो शुक्रवार (२० फागुन) बाट जारी माओवादी केन्द्रको केन्द्रीय समिति वैठकले छिनोफानो लगाउने देखिदैछ ।

केन्द्रीय समिति बैठकमा मन माझने त्यो प्रयास

प्रचण्ड र नारायणकाजीको सम्बन्ध उतारचढावले भरिएको छ । दुई नेताको सम्बन्धमा अनेक शंका, उतारचढाव र उपयोग हावी छ । कहिले दुई नेता निकै नजिक भएका छन्, त कहिले तितो सम्वन्धमा पनि बसेका छन् ।

एमसीसी प्रकरणपछि विकसित घटनाक्रम र एक अर्काको मन पोलेका ‘आवेगात्मक अभिब्यक्ति’ दुवै नेताले शुक्रवारको केन्द्रीय समिति बैठकमा भावुक हुँदै प्रस्तुत गरेका थिए ।

‘नारायणकाजी र मेरो वेलावेलामा नोकझोक चलेकै हुन्छ । हुने गरेकै हो । त्यस्तो वेलामा अलिकति सम्हाल्ने भूमिका गिरिजी (गिरिराजमणि पोखरेल)ले गर्नुहुन्थ्यो । अहिले त गिरिजी नै ‘हुन्न’ भन्नेमा गईदिएपछि समस्या परयो । कमरेड नारायणकाजीले मैले पत्रकार सम्मेलनमा बोलेको अभिब्यक्तिलाई अलिक गम्भिर रुपले नै लिनुभएको छ । मैले गिरिजीले संसदमा ‘हुन्न’ भनेको र नारायणकाजीजीले अव बस्न सकिन्न, अव प्रचण्ड सँग बस्ने समय सिद्धियो भनेर भन्नुभयो भनेर सुनाए फेरि साथीहरुले । त्यस्तो सुनाएपछि म त फेरि मै हुँ !’ प्रचण्डले पार्टी केन्द्रीय समिति बैठकमा शुक्रवार ब्यक्त गरेको भनाई उदधृत गदै माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले मेरोन्यूजसँग भने, ‘पत्रकार सम्मेलनमा सोधिहाले पत्रकारले के हो नारायणकाजीको भनेर ? त्यसपछि मैले त्यसको रियाक्सन क्या ! गिरिजीले ‘हुन्न’ भनेको कानमा घण्टी बजिरहेको छ, कमरेड (नारायणकाजी)ले पनि फेरि सँगै बस्न सकिन्न भनेको जस्तो भएपछि मैले बोलेको कुराले कमरेडलाई अलिकति पिन्च भएछ । ठिक छ समिक्षा गरौं, छलफल गरौं भनेको छु मैलै ।’

पार्टी बैठकमा प्रचण्डपछि केही लिखित र केही मौखिक सम्वोधन गरेका नारायणकाजी श्रेष्ठले भने प्रचण्डसँगको सम्वन्धबारे निक्कै भावुक प्रस्तुती दिएको माओवादी केन्द्रका ती केन्द्रीय सदस्यले बताए ।

‘म त यही पार्टी (माओवादी केन्द्र)मा छु, पत्रकार सम्मेलनमै अध्यक्षले यस्तो भावमा भनिदिनुभयो की, गए हुन्छ भन्ने भाव आउने गरी भनिदिनु भयो । म त तीन छक्क परेँ, उहाँको र मेरो ०४७ साल देखिको सम्वन्ध, ०५१ सालमा हामी रोएर छुटिटएका हौं, जाने भए त सवैभन्दा पहिले मसँग सकिएन भन्ने लागेको भए तपाईं र म सल्लाह गरौं न भन्नसक्नुहुन्थ्यो, पत्रकार सम्मेलनमा भन्नु नै पदैनथ्यो । हिजो रोएर छुटेका थियौं, आज हाँसी हाँसी छुटिन्थ्यौं । तर कुरा त त्यो होइन नी !’ श्रेष्ठले पार्टी केन्द्रीय समिति बैठकमा भने,–‘एउटा यही पार्टीको आफु पछिको नेतालाई उहाँले पत्रकार सम्मेलनबाटै गए हुन्छ भन्ने भावमा भन्दिएपछि कस्तो कस्तो त लाग्यो ! फेरि फेसवुकमा के आउँछ भने ‘नकचरो’हरु यही वेला गईहाल क्या, किन वसिरहेको भन्ने पनि आउँछ । अव हामी सल्लाह गरेर एकतावद्ध भएर जाने कुरा भएपनि डर आईरहन्छ । वेलावेलामा ती मान्छेहरुले जाओस्, नकचरोहरु किन वसिरहेको छ भनेपछि कति पीडा खप्नु पर्ने होला भन्ने पनि दिमागमा त आईरहन्छ ।’

पहिलो भेट २०४६ पछि मात्रै

२०४६ सालको जनआन्दोलनका बेला प्रचण्ड र नारायणकाजी आ आफ्नो कम्युनिष्ट टुकडीवाट आन्दोलनको मोर्चामा थिए । त्यसपछि नै हो प्रचण्ड र नारायणकाजी श्रेष्ठका वीचमा पनि भेट भएको । त्यसवेला प्रचण्डलाई निर्माण नामले चिनिन्थ्यो । त्यसपछि विश्वास हुँदै पछि मात्र प्रचण्ड नाम रहन गएको हो पुष्पकमल दाहालको । नारायणकाजी श्रेष्ठ पनि शुरुमा भूमिगत हुँदा ‘प्रज्ज्वल’, ‘नरेन्द्रमान’, ‘दिपक’, का नामले चिनिदै पछि अन्तिममा ‘प्रकाश’ नामले चिनिन थालेका हुन् ।

जब प्रचण्ड र नारायणकाजीको ०४६ सालपछि भेट भयो । त्यसपछि छोटो समयमै दुई नेताका वीचमा सामिप्यता बढ्यो । ‘प्रकाशजी र मेरो ०४७-०५० का अवधिमा निकै बाक्लो भेटघाट हुने गर्दथ्यो । त्यतिबेलादेखि नै हामी बीचमा एउटा सहज वातावरण बनिसकेको थियो,‘ नारायणकाजी श्रेष्ठसँगको भेटबारे स्मरण गदैं एक प्रसंगमा माओवादी अध्यक्ष प्रचण्डले भनेका थिए, ‘०४६ सालको जनआन्दोलनपछि पार्टी एकता र धु्ब्रीकरणको प्रक्रिया तीव्र रुपमा चल्यो । त्यो ध्रुवीकरणको बहसमा नै प्रकाशजीसँग मेरो कहिँ न कहिँ वैचारिक सामिप्यता रहेछ भन्ने महशूस भएको थियो ।′

२०४८ सालमा नेकपा एकताकेन्द्र बन्दा प्रचण्ड महामन्त्री र नारायणकाजी पोलिटब्यूरो सदस्य थिए । त्यसपछि त दुई नेताका वीचमा धेरै नै वाक्लो भेटघाट र सम्वन्धहरु स्थापित हुन पुगेका थिए । दुई नेताका वीचमा रामवहादुर थापाको पनि मित्रता गज्जवको थियो । तीन नेता त्यसवीचमा धेरै मिल्ने मध्येमा पर्थे । पछि २०५१ मा पार्टीको कार्यनीतिकमा अन्तरसंर्घष चर्केपछि भने प्रचण्ड र नारायणकाजी दुई तिर भए । त्यसवेला दुवै नेता गह्रौं मन लिएर छुट्टिएका थिए ।

प्रचण्ड -नारायणकाजी : ०५१ मा छुटिँदा रुदै छुट्टिएका थिए

२०५१ सालमा प्रचण्ड, मोहन वैध (किरण), रामवहादुर थापा (बादल), डा बाबुराम भटटराई लगायतका नेताहरुले पार्टीको तत्कालको कार्यनीति जनयुद्धलाई बनाउनु पर्छ भन्ने वहस ल्याए । दीर्घकालिन जनयुद्धको मोडेलमा गाँउवाट शहर घर्ने माओको कार्यनीतिलाई प्रचण्ड किरणहरुले अंगाले । तर निर्मल लामा, नारायणकाजी श्रेष्ठ , अमिक शेरचनहरुले त्यसमा सहमति जनाएनन । अहिले नै जनयुद्धको बाटोमा गईहाल्नु हुदैन भन्ने मत नारायणकाजी श्रेष्ठहरुले राखे ।


त्यसपछि भने प्रचण्ड र नारायणकाजी श्रेष्ठहरुका वीचमा मतभेद चर्कियो । एकै पार्टीमा बस्ने अवस्था रहेन । तत्कालीन मूल राजनीतिक कार्यनीतिमा मतभेद भएपछि प्रचण्ड र नारायणकाजीको बाटो अलग्गियो । तर त्यसरी छुट्टिने वेलामा दुवै नेता रुदै छुट्टिएको सम्झना अहिले पनि दुवै नेतासँग छ ।

′हामी विचारधारात्मक, रणनीतिक र भावनात्मक दृष्टिकोणको कारणले अलग्गिन चाँहदैनथ्यौं । जेजस्ता कारणले हामीहरु अलग्गिनु परेपनि दुई-चार वर्षमा हाम्रा कार्यनीतिहरु परीक्षण हुन्छन्, अन्ततः हामी वर्ग विचार र क्रान्तिप्रतिको निष्ठाको कारणले एकै ठाउँमा आइपुग्नेछौं भन्ने असाध्यै भावुक र तरंगित हुँदै हामी अलग्गिएका थियौं,‘ त्यसवेलाको परिवेश स्मरण गदैं प्रचण्ड भन्छन् ।

उनीहरुको भेटघाटको इतिहास थोरै अवधिको भए पनि प्रचण्ड र श्रेष्ठबीचमा यति घनिष्ट सम्बन्ध बनिसकेको थियो कि दुवै पार्टी फुटाएर अलग हुँदा छुट्ने बेलामा रोएका नै थिए । तयसवेलाको घटना श्रेष्ठले शुक्रवारको केन्द्रीय समिति बैठकमा पनि स्मरण गरे । अर्काे एक प्रसंगमा त्यसवेलाको घटना स्मरण गदैं श्रेष्ठले भनेका थिए, ‘प्रचण्डजी र म मा क्रान्तिकारी स्पिरिटमा समानता हुँदाहुँदै पनि तत्कालीन मूल राजनीतिक कार्यनीतिमा मतभेद भएपछि एउटै पार्टीमा रहन सकेनौं । तर, प्रचण्ड र बादलसँग यति घनिष्ट सम्बन्ध थियो कि त्यसले ठूलो चोट पा¥यो । आ-आफ्नो मोडल टेष्ट गरौं भनेर प्रचण्डहरु जनयुद्घमा जाने निर्णयमा पुग्नुभयो । क्रान्तिकारी रहिरह्यौं भने इतिहासको कुनै कालखण्डमा गएर फेरि भेटौंला भनेर हामीहरु छुटेका थियौं ।’

प्रचण्ड र श्रेष्ठले छुट्टिने बेलामा अर्को एउटा वाचा पनि गरेका थिए । त्यो थियो – आ आफना कार्यनीति लिएर जाने । जसको कार्यनीति सफल हुन्छ, त्यसलाई अर्को पक्षले पछि स्वीकारेर अगाडी वढ्ने । त्यसमा कसैले पनि आपत्ति नमान्ने ।

त्यसपछि पनि हुन थाल्यो गोप्य भेट

०५१ सालमा अलग कार्यनीतिका साथ अलग वाटो लागेपनि दुई नेताका वीचको भेटघाट रोकिएन । भूमिगत रुपमै प्रचण्ड र नारायणकाजीका वीचमा कयौं पटक गोप्य भेटघाट भए । प्रचण्ड भारतमा भूमिगत बस्दा सिलगुढी, गोरखपुर, लखनउ, पञ्जाव हुँदै दिल्लीसम्म दुई नेताका वीचमा थुप्रै पटक भेटवार्ता र बैठकहरु भए ।

देशभित्र पनि लगातार भेटघाट भएको दुवै नेताले वताएका छन् । रोल्पामा मात्रै पनि धेरै पटक प्रचण्ड र नारायणकाजीका वीचमा भेटवार्ता भएका थिए । अलग पार्टी र अलग कार्यनीतिका साथ हिँडेपनि प्रचण्ड र नारायणकाजीले कहिल्यै त्यो जनयुद्ध कालमा पनि अलग पार्टीमा रहेको जस्तो महशूस गरेका थिएनन् ।

कोही कसैले प्रचण्डसँग भेट गर्न चाहे नारायणकाजी त्यसवेला पुलको रुपमा काम गर्थे । युद्दका बेला श्रेष्ठसँग हुने गरेको भेटघाट र श्रेष्ठले खेलेको भूमिकाबारे प्रचण्डले भनेका थिए, -′जनयुद्धमा प्रवेश गरेपछि पनि उहाँ (नारायणकाजी) सँग मलाई कहिल्यै अलग्गिएको महसुस भएन । उहाँले जनयुद्धको रक्षाका लागि आफ्नो ठाउँबाट उल्लेखनीय सहयोग पुर्याउनु भयो । मैले पनि उहाँलाई धेरै मद्दत गरेँ । एउटा कमरेडले गर्ने व्यवहार मेरो तर्फबाट अधिकतम् भयो भन्ने लाग्छ । त्यो विश्वास उहाँ र म दुवैमा छ ।‘

कम्युनिष्ट नेताहरुको भूमिगत शिलगुढी वार्ता

माओवादीले जनयुद्ध शुरु गरेको ६ वर्ष मात्र वितेको थियो । माओवादी आन्दोलन एउटा क्लाइमेक्समा पुग्दै थियो । त्यही वेला प्रचण्ड र नारायणकाजीका वीचमा दिल्लीमै एउटा सल्लाह भयो । त्यो सल्लाह थियो – नेपालका कम्युनिष्ट पार्टीहरुका वीचमा छलफल चलाउने । प्रचण्डले छ वाम पार्टीको वार्ता गर्न नारायणकाजीसँग बैठकको आयोजना गर्न अनुरोध गरे ।

श्रेष्ठलाई पनि लागेको थियो, अव माओवादी आन्दोलनको रक्षा गर्ने, उसको शक्तिसमेतबाट अग्रगामी परिवर्तन गर्ने र तत्काल सशस्त्र संघर्षको निरन्तरताबाट हुने क्षतिलाई रोक्ने । यसको निम्ति एउटै उपाय थियो – सरकार र माओवादीबीचको वार्ता ।

तर के एजेण्डामा कसरी गर्ने ? त्यसका लागि प्रचण्ड र नारायणकाजीका वीचमा छलफलकै आधारमा सिलगुढी वार्ता तय भयो । नारायणकाजीको आयोजनामा बैठक गर्ने र ब्यवस्थापनको सम्पूर्ण चाजोपाँजो माओवादीले मिलाउने । त्यही अनुसार, ०५८ सालको प्रारम्भमा (जुन २००१) मा सिलगुडीमा वामपार्टीहरुको बैठक सम्पन्न भयो । जसमा माओवादीका अध्यक्ष प्रचण्ड, बरिष्ठ नेताहरु मोहन वैध (किरण) र बाबुराम भट्टराई, एकताकेन्द्रका तर्फबाट नारायणकाजी, एमालेबाट तत्कालिन महासचिव माधव नेपाल, ईश्वर पोखरेल, तत्कालीन मालेका महासचिव वामदेव गौतम, नेमकिपाबाट अध्यक्ष नारयणमान विजुक्छे र मशालबाट रामसिंह श्रीस सहभागी भए ।

उक्त बैठकमा सरकार र माओवादीबीचमा वार्ता हुनुपर्छ, त्यसलाई जनताको पक्षमा प्रयोग गर्नुपर्दछ भन्नेमा सहमति भएको थियो । त्यो बैठकमा गणतन्त्र र संविधानसभालाई एजेण्डा बनाएर छलफल गरिएको समरण गर्छन्, नारायणकाजी श्रेष्ठ ।

‘शिलगुढी बैठक दरवार हत्याकाण्डलगत्तै भएकाले माओवादीले गणतन्त्रको संस्थागत विकासमा जोड दिएको थियो । त्यसबेला नेकपा (एकताकेन्द्र) को तर्फबाट प्रकाशले गणतन्त्रको नारालाई सशक्त रुपमा उठाऔं, तर तात्कालीक निकास भने संविधानसभा नै हुन सक्दछ र यसैलाई मूल कार्यनीतिक नारा बनाउनु पर्दछ भनेका थिए, ′ छलफलमा भएका विषयवारे शान्ति प्रक्रियापछि विभिन्न सञ्चारमाध्यममा बैठकमा सहभागी नेतालाई उदधृत गदै आएका समाचारमा जनाइए अनुसार, ′तत्कालिन एमाले महासचिव माधव नेपालले व्यक्तिगत रुपमा संविधानसभाको नारामा सहमत छु, तर पार्टीमा गएर कुरा राख्छु भन्ने धारणा राखेका थिए । मसाल सहमत भएको थिएन । अरु वामहरु भने सहमतिमा आएका थिए । काठमाडौं फर्केपछि एमालेले सो बैठकको सहमतिलाई तोडेर गएको थियो ।‘

शिलगुढी वार्ताका बारे एक अन्र्तवार्तामा प्रचण्डले भनेका थिए,-‘सिलगुढीमा छ वाम पार्टीको वार्ता गर्न उहाँ (नारायणकाजी)लाई मैले बैठकको आयोजना गर्न अनुरोध गरेको थिएँ । हामीहरु पनि त्यहीँ भएकोले बैठकको वातावरण हामीले पनि मिलायौं । सो बैठकदेखि यहाँसम्म उहाँले इमान्दारिताका साथ निकै सक्रिय ढंगले शान्ति प्रक्रियालाई अगाडि बढाउन भूमिका खेल्नुभयो ।′

१२ बुँदे समझमदारीमा संयोजनकारी भूमिका

शिलगुढी वार्ताको समझदारीमा एमाले नअडिएपनि जव राजाले आफनो हातमा प्रत्यक्ष शासन लिए, त्यसपछि राजनीतिक दलहरुमाथीको धरपकड र दमन वढ्यो । संसदवादी राजनीतिक दललाई पनि र माओवादीलाई पनि कँही न कँही एक आपसमा मिलेर लडनुपर्छ भन्ने वोध भयो । त्यसपछिको अनेक प्रयासमा दिल्लीमा १२ वुँदे सहमति भएको हो ।

त्यसका लागि पनि नारायणकाजी श्रेष्ठले संयोजनकारी भूमिका खेलेका थिए । ′१२ बुँदे समझमदारी बनाउन उहाँको तर्फबाट पूरै मेहनत भएको मैले मूल्यांकन गरेको छु । यसको अर्थ यो होइन कि उहाँले मात्र वा मैले मात्र भूमिका खेलेका थियौं । उहाँ र मजस्ता समान विचार भएका मान्छेहरुले एक ढंगले मेहनत गर्यौं । गिरिजाबाबु र माधव नेपाल जस्ताहरुलाई त एउटा बाध्यता मात्र थियो । हाम्रो तर्फबाट भने एउटा विचारप्रतिको प्रतिबद्धताका हिसाबले त्यो मेहनत भएको थियो । सबै एउटै र बराबरी हो भन्ने होइन,’ पचण्डले पछि भनेका थिए, -′ उहाँ (नारायणकाजी) नभएको भए शान्ति प्रक्रिया यसरी बढ्थ्यो कि बढ्दैनथ्यो ? भन्ने प्रश्न अलि हाइफोथेटिकल हुन्छ । त्यसैले अनुमानका आधारमा भन्न अलि गाह्रो हुन्छ । तर, उहाँको महत्वपूर्ण भूमिका रहेको भन्ने कुरामा दुई मत हुनसक्दैन ।‘

त्यसपछि नै हो जनआन्दोलन- २ सफल भएको । ०६२/०६३ को जनआन्दोलन सफल भएपछि माओवादी शान्ति प्रक्रियामा आयो । माओवादी अध्यक्ष प्रचण्ड भूमिगत जीवन त्यागेर शान्ति प्रक्रियामा आए । मुलुक वृहत शान्ति सम्झौता हुँदै संविधानसभामा गयो ।

संविधानसभाको पहिलो बैठकले राजतन्त्रलाई सदाको लागि अन्त्य गरी गणतन्त्र घोषणा गरयो । २०६५ जेठ १५ गते एक कार्यक्रमबाट अर्धभूमिगत बसिरहेका नारायणकाजी श्रेष्ठ पनि सार्वजनिक भए । २०६५ मा नेकपा माओवादी र नेकपा एकताकेन्द्र-मसाल मिलेर एकीकृत नेकपा माओवादी बन्यो । त्यसपछि भने प्रचण्ड र नारायणकाजी फेरि सँगै एउटै पार्टीमा छन् ।

१३ वर्ष यता जुध्दै मिल्दै


०६५ मा पार्टी एकता भएपछि भने प्रचण्ड र श्रेष्ठका वीचमा कहिले सम्वन्ध असाध्यै सौहाद्र्रपूर्ण भएको छ । कहिले अन्तरसंर्घष चर्किएको पनि छ । श्रेष्ठ सँगको पार्टी एकताकै बेला मात्रिका यादवले असहमति जनाउँदै माओवादी छोडे (तर अहिले फेरि एकै पार्टीमा छन्) । प्रचण्डका विरुद्ध धोविघाट गठबन्धन निर्माण भयो । त्यसवेला नारायणकाजी श्रेष्ठ पनि मोहन वैध, बाबुराम भटटराई, नेत्रविक्रम चन्द, रामवहादुर थापा तिरै लागे । प्रचण्डलाइ श्रेष्ठले साथ दिन्छन् भन्ने आश लागेको थियो । तर त्यसो भएन, यसवाट भने प्रचण्डले उनीसँग अलिक चित्त दुखाएका थिए । पछि प्रचण्डसँग मोहन वैध किरण, नेत्रविक्रम चन्द विप्लवहरुको वैचारिक मतभेद चुलियो । पार्टी विभाजित भयो । तर प्रचण्ड र श्रेष्ठ सँगसँगै रहे ।

अर्का नेता डा बाबुराम भट्टराईले पनि संविधान निर्माणपछि २०७२ असोजमा प्रचण्डको साथ छोडे । श्रेष्ठले प्रचण्डलाई छोडेका छैनन् । बेला वेला प्रचण्डकाले श्रेष्ठ समुहलाई युद्धका बेला धोका दिएको भन्दै आरोपित गर्ने गर्छ । भाग मात्र खोज्ने र वार्गेनिङ्गमात्र गर्ने गरेको आरोप पनि प्रचण्ड निकट नेताहरुले श्रेष्ठमाथी लगाउने गर्छन ।

श्रेष्ठ पनि वेलावेला सरकारमा आफै जान उच्चालिन्छन् । कहिले आफनो भागवाट मन्त्री बनाउन भन्दै प्रचण्डमाथी प्रेसर पनि ढाल्छन् । पार्टी एकता भएको १३ वर्ष सम्म पनि उनले पार्टीभित्र पूर्व समुह अझै ब्यूताएरै राखेका छन् । त्यो आरोपवाट श्रेष्ठ पनि मुक्त छैनन । अहिले अमेरिकासँगको सम्झौता अनुमोदनको विषयले १३ वर्षका वीचमा सवैभन्दा पेचिलो अन्तरसंर्घष प्रचण्ड र नारायणकाजीका वीचमा परेको छ ।

प्रचण्डले मन नभए अलग भए हुन्छ भन्ने गरी सार्वजनिक अभिब्यक्ति दिएपछि श्रेष्ठको मन पोलेको छ । प्रचण्डलाई पनि पार्टीमा असहमति राखेपनि सार्वजनिक रुपमा नजाने सहमति विपरित सम्झौता अनुमोदनको दिनलाई कालो दिनको रुपमा ब्याख्या गदै श्रेष्ठले सामाजिक सन्जालमा लेखेको फिटिक्कै चित्त वुझेको छैन ।

दुवै नेताको यही चित्त दुखाईका वीचमा दुई दिन मन माझामाझ गर्ने र फेरि मिल्ने सूत्रको खोजी नभएका होइनन् । तर सूत्र फेला दुवैले पारि सकेका छैनन । जारी केन्द्रीय समिति बैठकमा श्रेष्ठले एमसीसीमा प्रचण्डले लिएको निर्णयमा असहमति सहित मौखिक फरक मत राखेका छन् । यसको ब्यवस्थापनमा शनिवार दिनभर पनि मनमाझामाझ गर्ने र आइतबारबाट बस्ने बैठकबाट उपायको खोजी गर्ने नेताहरुले बताएका छन् । तर त्यो कुन विधिबाट टुग्गो लाग्छ ? त्यसको खोजी जारी नै छ ।

प्रचण्ड नारायणकाजी भन्दा ६ वर्ष जेठा

प्रचण्ड राजनीतिक रुपमै शुरु देखि नै कम्युनिष्ट स्कुलिङ्गबाट हुर्केका हुन् । जव उनले राजनीति वुझन थाले, त्यसवेला देखि नै कम्युनिष्ट बने । २०२८ सालमा अमिक शेरचनबाट प्रचण्डले पार्टी सदस्यता लिएका थिए । त्यसवेला नेकपाको पुष्पलाल समूहबाट उनले पार्टीको सदस्यता लिएका थिए । पारम्भिक राजनीतिक जीवन यसरी शुरु गरेका प्रचण्डले अहिले एमाले पुगेका बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलससँग मिलेर २०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन नै गरेर काम गरेका थिए ।

तर नारायणकाजी श्रेष्ठ भने शुरुमा कांग्रेस हुँदै कम्युनिष्ट बनेका हुन् । प्रारम्भिक कालमा श्रेष्ठ नेपाली काँग्रेसका सक्रिय कार्यकर्ता थिए । बीपी कोइरालाका अपीलहरुबाट उनी प्रभावित भएका थिए । त्यही क्रममा उनी दुईपटक जेलसम्म परे । पछाडि नेपाली काँग्रेसको सामन्तवादसँगको सम्झौतापरस्त नीतिका कारणले गर्दा श्रेष्ठले सोचे -‘यो कुन विचारमा चलेको पार्टी हो ?’

त्यसपछि भने श्रेष्ठ कम्युनिष्ट पार्टीले मात्रै जनताको मुक्ति गर्ने बुझाइका साथ कम्युनिष्ट बने । उनलाई ०३८ सालमा गोर्खाका श्रीनाथ अधिकारीले पार्टी सदस्यता दिएका थिए ।

प्रचण्डको जन्म वि सं २०११ मंसिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी गाविस वडा नं २ लेवाडेमा भएको हो । उनी परिवारका जेठा छोरा हुन् । श्रेष्ठ भने प्रचण्ड भन्दा ६ वर्ष पछि अर्थात २०१७ सालमा गोरखाको जौबारीमा जन्मिएका हुन् । उनीभन्दा अगाडी नै उनको परिवारमा अन्य चार दाजुहरुको जन्म भईसकेको थियो । उनी पछि पनि अर्का भाई जन्मिएको थियो ।

शुरुमा प्रचण्डको नाम छविलाल दाहाल थियो । प्रचण्डले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुर पोखरीमा शुरु गरेका थिए । ०२६ मा चितवनको नारायणी विद्या मन्दिर मावि शिवनगरबाट उनले एसएलसी उत्तीर्ण गरेर २०२७-२०२९ पाटन बहुमुखी क्याम्पसबाट आईएससी पूरागरी २०३१-२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बिएस्सी गरेका थिए । त्यस्तै उनले एमपीए सम्मको अध्ययन गरेका छन् । १० कक्षामा अध्ययन गर्दा उनले नाम फेरेर छबिलालवाट पुष्पकमल दाहाल राखेका हुन् ।

श्रेष्ठको परिवार भने शुरुमा उपत्यकाको पाटनमै थियो । उनी भन्दा चार पुस्ता अगाडी उनको परिवार गोरखाको जौबारीमा पुगेको थियो ।

उनले एसएलसीको परीक्षा दिने बेलामा उमेर नपुगेकाले प्रमाणपत्रमा जन्म २०१६ साल बनाएका छन् । श्रेष्ठले माध्यामिक शिक्षा गाँउकै परोपकार आर्दश मावि मा पढेका थिए । उनी पढ्नमा अत्यन्तै तेज विद्यार्थी थिए । सधैं कक्षाका प्रथम हुन्थे । ०३२ सालमा एसएलसी गर्दा गणित विषयमा १०० मा सय नै नम्बर ल्याएर स्कुलको रेकर्ड श्रेष्ठले तोडेका थिए । त्यसपछि काठमाडौं पढ्न आएका श्रेष्ठले शुरुमा मेडिकल कलेजमा अध्ययन गरेका थिए । ०४० सालमा जनप्रशासन क्याम्पसबाट जनप्रशासन विषयमा स्नातकोत्तरसम्मको उनले औपचारिक अध्ययन गरेका छन् । थप अर्थशास्त्रमा पनि श्रेष्ठले स्नातक गरेका छन् ।

प्रचण्डले २०२६ साल बैशाखमा सीता पौडेलस सँग विवाह गरे । त्यसपछि उनका तीन छोरी र एक छोरा भए । जसमध्ये जेठी छोरी ज्ञानु र छोरा प्रकाशको निधन भईसकेको छ । तर नारायणकाजी श्रेष्ठले भने विवाह गरेनन् । उनी अहिलेसम्म पनि अविवाहित नै छन् ।


प्रचण्डले नारायणी विद्या मन्दिर मावि शिवनगर, डण्डा मावि नवलपरासी र भीमोदय मावि आरुघाटमा पढाउने काम गरे । त्यस्तै केही समय युएसएड मा पनि जागिरे भएर काम गरे ।

श्रेष्ठले पनि ०३७, ०३८ सालतिर जागिर खाए । मेडिकल साइन्स पढेकाले हेल्थपोष्टमा डेढवर्ष उनले काम गरे पछि फेरि केही वर्ष शिक्षकको जागिर पनि खाएका थिए ।

एकै उमेर समुहमा पार्टी हाक्ने वागडोर


प्रचण्ड कम्युनिष्ट पार्टीको सदस्यता लिएपछि २०३४ सालमा नेकपा चौथो महाधिवेशनतिर लागे । त्यसपछि उनी ०३५ सालमा पूर्णकालिन कार्यकर्ता भए । २०३६ सालमा प्रचण्ड पार्टीको चितवन जिल्ला समिति सदस्यमा निर्वाचित भए । २०३८ मा क्षेत्रिय व्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महासचिव भई २०४० मा संघको केन्द्रीय अध्यक्षमा पनि भए ।

२०४१ मा प्रचण्ड नेकपा (मशाल)को पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए । त्यसपछि उनले पार्टीमा पछि फर्किनु परेको छैन । २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा ३५ वर्षकै उमेरमा पार्टीको सर्वोच्च पद महामन्त्री भए । मोहन वैद्य ९किरण०ले सेक्टर कान्डपछि महामन्त्रीबाट राजीनामा दिएर प्रचण्डलाई पार्टी नेतृत्वको जिम्मेवारी सुम्पिए ।

त्यसपछि २०४८ सालमा विभिन्न् कम्युनिष्ट घटकको एकतापछि बनेको नेकपा (एकताकेन्द्र)को महामन्त्री बने । २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन पछिको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि उनी नै महामन्त्री बने र जनयुद्धको बाटो लागे ।

त्यसयता उनी माओवादी को निरन्तर पार्टी नेतृत्वमा छन् । उनी अहिले नेकपा (माओवादी केन्द्र) को अध्यक्ष छन् ।

नरायणकाजी श्रेष्ठपनि कांग्रेस छोडेर कम्युनिष्ट भएसँगै निर्मल लामा समूहबाट उनी काठमाडौं जिल्ला समितिको सदस्य हुँदै ०४२–४३ सालतिर केन्द्रीय सदस्य भए । २०४७ सालमा मोटो मशाल, चौम र सर्वहारावादी श्रमिक संगठनका बीचमा एकता गर्ने क्रममा उनी पार्टी एकता संयोजन समितिको सदस्य रहे । त्यसवेला प्रचण्ड उक्त पार्टिको महामन्त्री थिए । एकता भएपछि ०४८ सालमा एकता महाधिबेशनबाट नारायणकाजी नेकपा (एकताकेन्द्र)को पोलिटब्युरो सदस्य हुनपुगे । २६ वर्षको उमेरमै केन्द्रीय समितिको सदस्य हुने अवसर पाएका श्रेष्ठले ३१ वर्षमै एकताकेन्द्रको पोलिटब्युरो सदस्य भएका थिए । ०५१ सालमा जनयुद्दको वाटो अंगकार गर्ने नगर्नेमा प्रचण्ड र निर्मल लामाका बीचमा फुट हुँदा लामा समूह वा एकताकेन्द्रको महासचिबको जिम्मेवारी श्रेष्ठले पाएका थिए ।

त्यतिबेला उनी ३४ वर्षका मात्रै थिए । मोहन वैधले प्रचण्डलाई पार्टी नेतृत्व सुम्पिदा विश्वास गरे जस्तै निर्मल लामाले पनि नारायणकाजीलाई कम्युनिष्ट आन्दोलनमा आफूपछिको नेतृत्वको रुपमा भरोसा गरेर पार्टी नेतृत्व सुम्पेका थिए । त्यसपछि टुक्रिएर दुईटा बनेको पार्टी मध्ये नेकपा ९माओवादी० को महामन्त्री प्रचण्ड र नेकपा (एकताकेन्द्र)को महामन्त्री नारायणकाजी श्रेष्ठ बन्न पुगेका थिए ।

प्रचण्डका नेतृत्वको नेकपा (माओवादी)ले त्यसपछि ०६२/०६३ साल सम्म शसस्त्र जनयुद्धको नेतृत्व गरे । नारायणकाजी श्रेष्ठ पनि भुमिगत नै बसेर पार्टि भूमिगत र संसदीय मोर्चाका रुपमा संयुक्त जनमोर्चा बनाएर निर्वाचनमा जाने र संसदको भण्डाफोरको नीति अख्तियार गर्ने गरी कार्यनीतिमा रहे ।

माओवादी शान्ति प्रक्रियामा आएपछि फेरि २०६५ सालमा १४ वर्ष अघि टुक्रिएको माओवादी र नेकपा एकताकेन्द्रवीच एकता भयो । पार्टी नाम एकीकृत नेकपा माओवादी रहन गयो । प्रचण्ड पार्टी अध्यक्ष र श्रेष्ठ पार्टी उपाध्यक्षका रुपमा रहे । त्यसयता प्रचण्डका पूरक सहयोगीका रुपमा दुवै नेता सँगसँगै छन् ।

यो वीचमा माओवादी पार्टीले विभिन्न टुटफुट र एकताको श्रृंखला ब्यहोरयो । नेकपा एमालेसँग पनि एकता र विभाजनको अनुभव संगाल्यो । त्यसमा पनि प्रचण्ड सँगसँगै श्रेष्ठ छन् ।

रामकृष्ण अधिकारी

अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया