शनिबार, वैशाख १५, २०८१

पल प्रकरण

पूजाहरूको अगाडि योद्धा बन्नु तिमी

जुनु भट्टराई २०७८ फागुन २१ गते ९:५७

काठमाडौँ । एक पीडित नाबालिग गायिकाका बुवाले मेरी १७ वर्षकी छोरीलाई एक नायकले विवाह गर्छु, माया–प्रेम गर्छु, भन्दै फकाएर शाररीक सम्बन्ध राखेको भन्दै तनहुँ जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए । यो घटनासँगै सामाजिक सञ्जाल फेसबुक, टिकटक, युट्युव, ट्विटरमा यो विषय भाइरल भएको छ ।

यो विषयसँग सम्बन्धित अडियो भिडियो र अन्तर्वार्ताहरू सार्वजनिक भइरहेको छ । बालिकाले अन्तिमपटक एक टेलिभिजनमा अन्तर्वार्तासमेत दिन भ्याइन् । एक व्यक्तिको सहयोगमा सांगितिक दुनियाँमा प्रवेश गरेकी नाबालिग गायिकाले धेरै चर्चित गीत गाइसकेकी छन् ।

सानै उमेरमा आफ्नो करिअरको शिखरमा पुगेकी गायिकालाई चर्चित नायक पल शाहले प्रेममा फसाएर विवाह गर्नेसम्मको बचन दिएको सार्वजनिक भएको छ । तर, आफ्नो स्वार्थ पूरा भएपछि पलले मेरो आफ्नै गर्लफ्रेन्ड छ, हामीबीच विवाह हुन सक्दैन भन्नसमेत भ्याए ।

एक रेकर्डमा नायक पलले भनेको स्पष्ट सुनिन्छ कि, ‘गर्लफ्रेण्ड–ब्वाइफ्रेण्डबीच सेक्स त भइहाल्छ नि, यो सामान्य कुरा हो, तिमी प्रेग्नेन्ट भएको भए पो मैले स्वीकार्ने हो त ।’ यो शब्दहरूले स्पष्ट बनाएको छ कि नाबालिकसँग अनैतिक सम्बन्ध भइसकेको छ । तर, उनको फ्यानले एक पक्षीय रुपमा निर्दोश भएको जिकिर गरिरहेका छन् ।

यति ठूलो घटनालाई पलका साथीभाइ र नजिकका मान्छेहरूले पीडितको परिवारसँग बसेर घटना मिलाउन खोजेको देखिन्छ । घटना जे जस्तो भए पीडितले आफ्नो एक मात्र चाहना बाँकी जीवन पलसँग बिताउने बताएकी छन् ।

कानुनमा के छ

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा करणीसम्बन्धी कसुरको दफा २१९ मा १८ वर्षभन्दा कम उमेरको बालिकालाई मञ्जुरी लिएर करणी गरेमा जबरजस्ती करणी भएको मानिन्छ, भनी व्याख्या गरेको छ ।

सोही संहिताको उपदफा ३ को (घ)मा १६ वर्ष वा सोभन्दा माथि १८ वर्षसम्मका महिला भए १० देखि १२ वर्षसम्म कैद हुने छ । सोही संहिताको दफा २२९ को उपदफा २ मा कसुर भएको मितिले एक वर्षभित्र उजुरी गर्ने हद म्याद रहेको छ ।

वयस्कको हकमा उजुर गर्ने हद म्याद ३ महिनाको रहेको छ । घटनाले उग्र रुप लिरहँदा सबैभन्दा चर्चाको विषय विवाह गरेको भए बलत्कार नहुने थियो ? बलात्कार नै भएको भए किन यतिको समय चुप लागिन ? यी यस्ता प्रश्नहरू धेरै आएका छन् ।

कस्तो छ हाम्रो समाज

नायिका पुजा शर्माले दिँदै हिँडेकी अभिव्यक्तिले पनि यो घटनालाई थप सशंकित बनाएको छ । कुनै समय ब्वाइफ्रेण्डले आफ्नो भावनासँग खेलेको भन्दै मिडियामा चित्कार गर्दै हिँडेकी थिइन्, उनी ।

अहिले नाबालिक गायिकालाई बलात्कार गर्ने नायकको पक्षमा बोल्दै हिँडेकी छन्, पुजा । यसको अर्थ हो, आफूलाई परेको पीडाबाहेक अरूलाई परेका जस्तोसुकै घटना केही होइन । एक सार्वजनिक व्यक्ति, कलाकार र शिक्षित नारी नै यस्तो प्रवृति देखाउछिन् भने अरूको अवस्था कस्तो होला ? उनको सोच्ने स्तरले हाम्रो समाज छर्लङ्ग बनाएको छ ।

पीडितको शरीरमा चोट निलडाम भएन, चोली च्यातिएन भनेर रोइलो गर्नु भनेको पटमुर्खता र कानुनको धज्जी उडाउनु हो । यस्ता संवेदनशील घटनामा कलाकार मात्र होइन सजायका भागिदार सबैले कानुनको पालना गर्नु पर्छ ।

पल मात्रै होइन, उनीसँगै मुगुका एमाले सांसद मोहन बानियाँसमेत बलात्कारको आरोपमा अहिले प्रहरी हिरासतमा छन् । ४० वर्षीया शिक्षिकालाई बलात्कार गरेको अरोपमा पक्राउ परेको बानियाँबारे सामाजिक सञ्जालमा केही सुनिएको छैन । यसअघि एक जना तत्कालीन सभामुखसमेत बलात्कारको आरोपमा पदबाट राजीनामा दिनु परेको थियो ।

तर, पललाई छुटाउन माग गर्दै ह्वाह्वा रुने पुजाहरू, दर्शकहरू तिमीहरू प्रेमिल छौँ । चलचित्रको फ्यान बन । तर, आरोपीको पक्षमा नबोल । पुजा शर्मा जस्तो शिक्षित रुपनी बहिनी जस्तो मानिसहरू त हाम्रो समाजका प्रतिनिधि पात्र हुन् । प्रतिनिधि मानसिकता हुन् ।

के फसाउन नै खाजेको हो ?

बलात्कारका घटना अरुले नदेख्ने गरी एकान्त, गोप्य र अन्धकार स्थानमा हुने हुन् । यस्ता अपराधमा जाहेरी दरखास्त, पीडितको बयान, घटना स्थलको मुचुल्कामा देखिएको मालाकार तथ्य र पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन नै बलिया प्रमाण हुन् ।

यदि, फसाउन खोजेको हो भने पनि ठूलै आँट चाहिन्छ । फेसबुकमा स्टाटस लेख्न, टिकटक बनाउन जति सजिलो कानुनी प्रक्रिया हुँदै होइन, यो । आँट गरेरै फसाउन खोजे पनि कानुनी प्रक्रियामा फोन, म्यासेज वा फेसबुक स्टाटस जस्ता प्रमाणमा देखिएला ।

सम्बन्ध नभएको मान्छेलाई फसाउन धेरै गाह्रो कुरा हो । जुन, कानुनको दुरुपयोग हो । यस सम्बन्धमा लामो समयदेखि सम्बन्धमा रहेर पछिल्लोपटकको सम्बन्धलाई जबरजस्ती करणी मानिदैन भनेर सर्वोच्च अदालतले नजिरका रुपमा स्थापित गरेको छ ।

योद्धा बन्नु पर्छ

पीडित नाबालिग गायिका अब हाम्रा छोरीहरूको आवाज र रोलमोडल बनेर निस्किनु पर्छ । योद्धा बन्नु पर्छ । समाजले दिएको चरित्रलाई कुल्चेर एकपटक ‘फूलको आँखामा फूलै संसार…’ जस्तै बन्नु पर्छ ।

यो समाजमा शरीरसँग इज्जत मानसिकता मात्र छैनन् । दुःखमा साथ दिनेहरू पनि छन् । इज्जत तिम्रो गएको छैन । नाबालिगलाई प्रेमको नाटक गरेर शोषण गर्ने पलहरू जस्ताको गएको हो ।

आफूलाई बलियो बनाएर गीत गाएर हेर । तिम्रो स्वर आज पनि उस्तै छ । यहाँ थाकेको तिम्रो शरीर हो । थाकेको तिम्रो मानसिक हो । अब, तिम्रो बाल मस्तिष्क मिल्ने मिलाउनेतिर लाग्यो भने अबका छोरी पनि तिमी जस्तै हुने छन् । हाम्रो मन चुडिने छ । फेरि, तिमी प्रयोग हुने छौँ । अरूको अगाडि सधै नराम्रो बन्ने छौ । लेखक भट्टराई अधिवक्ता हुन्

प्रतिक्रिया