शुक्रबार, वैशाख ७, २०८१

निर्वाचनबारे पार्टीमा प्रचण्डको बिफ्रिङ

चुनावमा यसरी कांग्रेस पहिलो र माओवादी दोस्रो हुन्छ

एमाले सीपालु छ, कांग्रेसको विचित्र तरिका छ, प्रतिस्पर्धामा माओवादी नयाँ छ, तर लेफ्टको फष्ट माओवादी हुन्छ

- पुष्पकमल दाहाल (प्रचण्ड) २०७८ फागुन २० गते २०:०८

हामी निर्वाचनको सम्मुखमा छौँ । निर्वाचनमा गठबन्धनकै बीचमा तालमेल गरेर जानु पर्छ भन्नेमा हामीले छलफल गरिरहेका छौँ । निर्वाचनसँग सम्बन्धित कुरामा हिजो गठबन्धन दलको उच्च स्तरीय राजनीतिक सन्यत्रमा कुरा हुँदा पनि हामी मिलेर नै चुनावमा जाने भन्ने भएको छ । गठबन्धनसहित नै जाने हो । त्यसको निम्ति आवश्यकताअनुसार विभिन्न कार्यदल बनाएर अझ मुख्यतः माथिबाट दिशा निर्देश गर्ने कुरा छँदै छ । तर, जिल्ला र स्थानीय स्तरमा कहाँ कस्तो स्थिति छ । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका, गाउँपालिकाको स्थिति के छ ? भन्ने कुराको विश्लेषण गर्ने, तथ्यांकहरु विगतलाई हेर्ने र सुझावहरु केन्द्रीत गर्ने भन्ने कुरा भइरहेको छ । त्यसो गरेर हामीले सकेसम्म मिलेर नै जाने भन्ने भएको छ ।

अझ प्रधानमन्त्री शेरबहादुर देउवा जीकै कुरा के छ भने, मूलत: सबै रुपमा र आम रुपमा भन्ने अहिले भएको त छैन, तर जहाँ जसले जितेको छ, त्यहा मूल रुपमा त्यसैलाई दिने र अरुले सहयोग गर्ने, जहाँ जसको दोस्रो नम्बरको छ र उसको उम्मेदवार पनि राम्रो छ भने त्यस्तोलाई पनि प्राथमिकताका साथ छोड्ने र जहाँ हिजो एमालेले जितेको ठाँउहरु छ, त्यहाँको संख्याको स्थिति, जनआधारको स्थिति र अहिलेको उम्मेदवारको स्थितिसमेत हेरेर त्यसलाई अगाडि बढाएर जाने भन्ने गरी छलफल भएको छ । यद्यपि, यसको अन्तिम टुंग्गो लागिसेकको छैन ।

जेहोस्, हिजो बेलुकीसम्मको कुरा हामी गठबन्धन मिलेर नै चुनाव लड्ने भन्ने कुारमा सिद्धान्तत कमिटमेन्ट सबैको देखिन्छ- ५ पार्टीकै । गठबन्धनबाट जनमोर्चा अलग भए पनि सरकारको समर्थन गर्ने कुरामा अलग्गिएको छैन । सरकारलाई समर्थन गरिराख्ने र चुनावी तालमेल गर्नु पर्ने भएमा चुनावी तालमेल गरेर जाने भएकाले तालमेलको हकमा ५ वटै दलको बीचमा तालमेलको सम्भावना कायमै छ । त्यसकारण यसो गरेर जाने र छिट्टै अलिक योजनाबद्ध ढंगले नीतिगत कुरा क्लियर गरेर सुझावहरु संकलन गर्ने, मिलेर चुनाव लड्ने भन्ने भएको छ ।

त्यस कारण म केन्द्रीय समिति सदस्यहरुलाई गठबन्धनको तल स्थिति के छ भन्ने कुराको ठोस र तथ्यपरक यथार्थ रिपोर्ट पनि हामीले कलेक्सन गर्नु पर्ने भयो । र, हामीले अरु तयारी पनि गठबन्धनसँग स्थानीय तहमा पनि अलिक स्थानीय तहमै कुरा गर्नु पर्ने देखिन्छ । केन्द्रले भन्दैमा कतिपयमा स्थानीय तहमा कुरा नमिल्न सक्छ । किनभने हजारौँ उम्मेदवारहरु हुन्छ । प्रतिस्पर्धा पनि आफ्नै पार्टीभित्र पनि हुन्छ । पार्टी-पार्टी वीचमा पनि हुन्छ । त्यसकारण ‘गिभ एण्ड टेक भन्ने कुरा जति स्थानीय तहमा स्थानीय नेतृत्वलाई त्यहाको राम्रोसँग परिस्थिति थाहा हुन्छ, केन्द्रीय नेतृत्वलाई सबै कुरा अपेक्षित थाहा नहुने भएकाले यसमा स्थानीय तहको तालमेलको हकमा स्थानीय तहलाई नै अलिक सक्रिय बनाउने र उहाँहरुलाई नै एक-अर्कामा के-कसरी मिलाउन सकिन्छ भन्ने कुरा उहाँहरुको सुझावलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने छ ।

भोलि संघ र प्रदेशको चुनावमा अलिक बढी केन्द्रले सक्रियता देखाउनु पर्ने हुन्छ, भने स्थानीय निर्वाचनमा स्थानीय तहलाई नै सक्रिय बनाएर सुझाव संकलन गर्नुपर्छ भन्नेसम्मको कुरा भएको छ । त्यसकारण हामी सबैले त्यही रुपमा बुझेर आ-आफ्नो प्रदेश र जिल्लभित्र स्थानीय तहको स्थितिको बारेमा, उम्मेदवारको स्थितिको बारेमा, जनमतको बारेमा, पहिलेको तथ्यांक के थियो, सुझाव परिणाम के थियो र अहिले त्यसमा के परिवर्तन आएको छ भन्ने बारेमा यर्थाथपरक रिपोर्ट तयार पार्ने कुरालाई उच्च प्राथमिकता दिनुपर्ने अवस्था छ ।

साथसाथै हामीले भनेका छौँ, पहिले आफ्नै पार्टीलाई बलियो बनाउने, सुदृढ बनाउने कुरालाई उच्च प्राथमिकतामा राखेर मात्रै गठबन्धनको कुरा टुंग्याउनु पर्छ भन्ने कुरा हामीले महाधिवशेन अगाडि, महाधिवेशनमा र महाधिवेशनपछि पनि र अस्ति कार्यालयको तर्फबाट गरिएको सर्कुलरमा पनि जोड दिइएको छ । हामीले हाम्रो संगठन, जनधारलाई सुदृढ गर्ने कुरामा सबैको ध्यान जाने नै छ ।

अब स्थानीय तहको चुनावको समय दुई महिनामात्रै बाँकी छ । अब यो छोटो अवधिमा हामीले युद्ध स्तरमा काम गर्नु पर्ने छ । ठूलो सक्रियताका साथ अगाडि बढ्नु पर्छ । संसदीय निर्वाचनमा ठूला दल कांग्रेस र एमाले नै हुन् । लेप्टभित्र धेरै कन्फूयजन दिन सक्ने एमाले नै छ । कांग्रेसको भोट बैंक आफ्नै छ । त्यसले लेप्टलाई धेरै फरक पार्दैन । तर, एमालेले जनतालाई भ्रमीत र प्रभावित पार्न सक्ने हुन्छ ।

हामीले पाएको सूचनाअनुसार उनीहरु गाउँ-गाउँ गएर गर्नु पर्ने तयारी सबै गरेर अगाडि बढिसके भन्ने छ । एउटा त त्यतापट्टी हाम्रो तयारीलाई हेरेर पनि होला । हामी गठबन्धन गरेर जान्छौँ भनेर पनि होला । तर, उनीहरु यसमा सिपालु नै छन् । अनुभवी पनि छ । घरमै परिवारका सदस्य को कता छ, कसले भन्दा ठिक हुन्छ ? कसलाई के भन्दा ठिक हुन्छ भन्नेसम्मका रिपोर्टहरु कलेक्सन गर्ने र गतिविधि गरिसके भन्ने छ ।

कांग्रेसको आफ्नो खालको चलिराख्छ । उनीहरुको धेरै असहज पनि हुँदैन । उनीहरुको लेप्ट मुभमेन्टको जस्तो अनुशासित कार्यकर्ता त हुँदैनन् । तर अन्तत फेरि एक ठाउँमा हुन्छन । त्यो विशेषता कांग्रेसको छँदै छ । त्यसकारण कांग्रेसभित्र हामीले सुनेका छौँ, निर्वाचनका सर्न्दभमा सबै नेताहरुको एउटै बोली आउँदैन । निर्वाचनमा गठबन्धन गरेर तालमेल गरेर जाने हो भन्ने र एक्लै लड्ने हो भन्ने पनि छ । कांग्रेसले कुनै निर्णय गरिहालेमा पनि त्यो आम रुपमा पालना पनि हुँदैन, आम रुपमा फेरि मिल्छ । विचित्रको तरिका छ ।

त्यसकारण हामी ’न्यू कमर‘ हौँ । प्रतिस्पर्धामा हामी उनीहरुभन्दा नयाँ छौं । त्यसकारण बढी मेहनत हामीले गर्नु पर्ने छ । हामीले मेहनत बढी गर्यौं भने हामी के देख्छौं भने हिजो नेताहरुका बीचमा थोरै भएको कुराको संकेत मात्र गर्छु, गठबन्धनमा तयारी गरेर गर्यौं भने पहिलो नम्बरमा नेपाली कांग्रेस नै हुन्छ, दोस्रोमा माओवादी केन्द्र हुने पूरै सम्भावना छ भन्ने बारेमा अरु पक्ष पनि सहमत छन् । हामी दोस्रो नम्बरमा हुँदा भोलिको देशको राजनीतिमा कही न कही हाम्रो भूमिका झण्डै-झण्डै निर्णायक भएर आउँछ ।

प्राय: १ नम्बर हुने गरी गर्ने हो । १ नम्बर नै भन्ने अलिक मनोगत नै हुन्छ अहिले । दोस्रो हुने सम्भावना प्रबल छ । दोस्रो हुने भनेको हाम्रो भूमिका चाहिँ पहिलो नै हुने हो फेरि । त्यसकारण हामीले आफ्नो शक्तिलाई ठिक ढंगले सुदृढ गर्ने, पार्टीलाई एकताबद्ध गर्ने र अरु तयारी पनि उम्मेदवार चयनदेखि अन्य भौतिक र प्रचारात्मक तयारी पनि गर्ने हो भने दोस्रो नम्बर हामी हुन्छौँ । त्यो कुरा हाम्रो मात्र होइन, गठबन्धनभित्र पनि सबैको सोचाई त्यही नै देखिन्छ ।

त्यसो भयो भने समग्र देशको राजनीतिको हामी निर्णायक शक्ति हुन सक्ने स्थिति बन्छ नै, त्यसो भयो भने वामपन्थी आन्दोलनको मूलधार फेरि एकचोटी माओवादी केन्द्र हुनसक्ने पनि प्रष्ट भएर आउँछ । अहिलेसम्मको पार्लियामेन्टको बनावट हेर्दा एमाले नै मुख्य शक्तिको रुपमा छ । अहिले पनि उनीहरुको ९७ सिट छ । भोलि हामीले गठबन्धनलाई र हाम्रो शक्तिलाई ठिक ढंगले परिचालन गरियो भने हामी लेप्टको फष्ट चाहिँ हुन्छौँ । त्यो सम्भावना छ ।

(शुक्रबारबाट शुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले निर्वाचनसँग सम्बन्धित रहेर पार्टी नेतालाई गरेको विफ्रिङको सम्पादित अंश)

प्रतिक्रिया