बिहीबार, वैशाख १३, २०८१

बालक दिलबहादुर र सहिदहरूको सम्मानमा !

मेरोन्यूज २०७८ फागुन २० गते १२:४९

देशका उत्पीडित वर्ग, जाति, समुदाय र राष्ट्रको मुक्तिका लागि सुरु भएको जनयुद्धको थालनीको प्रथम चरणको शहादत दलित बालक दिलबहादुर रम्तेलबाट सुरु भएको हो । न्याय, समानता र स्वतन्त्रताको प्राप्तिका लागि चलाइएको यो मुक्ति युद्धको महाभियानमा बलिदान दिने एक महात्मा हुन्, उनी ।

विद्यालयमा आफूलाई पढाउँदै गरेका आफ्ना गुरुलाई विद्यालयबाट प्रहरीले घिसार्दै लैजान थालेपछि सच्चा न्यायप्रेमी शिष्यहरुले विरोध, अवरोध र प्रतिरोध गर्नु न्यायपूर्ण कदम हो । विद्यालयका बालबालिकाको न्यायपूर्ण रोदन, क्रन्दन र चित्कारलाई नसुनेर उल्टै गोली वर्षाउनु र नाबालक विद्यार्थी रम्तेलको हत्या गर्नुले तत्कालीन संसदीय सत्ताको चरम दमनकारी चरित्र सहजै पुष्टि हुन्छ । यही पुष्टिले नै जनयुद्धको आवश्यकता र औचित्य स्वतः प्रमाणित भयो । र, जनयुद्ध एक न्यायपूर्ण मुक्ति युद्धको रुपमा स्थापित र विकसित हुने आधार तय गर्यो ।

तत्पश्चात् देशमा शोषण–दमन, अन्याय–अत्याचार र उपेक्षा–अपहेलनामा पारिएका शोषित–उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, धर्म, संस्कृतिका जनसमुदायको जनयुद्धप्रति आकर्षण बढ्यो । तीव्र गतिमा सद्भाव, समर्थन, सहयोग र सहभागितामा अत्यधिक वृद्धि हुँदै गयो ।

यसले जनयुद्ध साँच्चिकै जनताको युद्धसिद्ध भयो । यो सबल, सुदृढ र विजयी पनि हुँदै गयो । त्यसैले २०५२ साल फागुन १ मा सुरु भएको जनयुद्ध र यस क्रममा फागुन १४ मा पहिलो सहिद बनेका बालक रम्तेलको शहादतको विशेष अर्थ र महत्व छ ।

तसर्थ, दिलबहादुर धेरै महान् छन् । उनको जाति कर्मठ मात्र नभएर श्रम, सीप, शौर्य र सहादतका लागि समेत सराहनीय छ । त्यसैले उनको सपना स्वीकार्य र साकार्य छ । त्यस निम्ति उनी सदा सर्वस्मरणीय छन् । हार्दिक श्रद्धाञ्जली र सलाम छ, दिलबहादुरलाई ।

०५२ फागुन १४ गतेको दिलबहादुरको शहादत त एउटा सुरुवात मात्र हो । यसपछि अर्को दिन १५ गते नै जाजरकोटका दुई युवालाई गिरफ्तार गरी हत्या गर्ने प्रकृयालाई पनि निरन्तरता दिइयो । जुन क्रम अद्यापि जारी छ । र, हालसम्म दसौँ हजार वीर–वीराङ्गनाको बलिदान भएको छ ।

यसअघि ०२८ सालमा झापाबाट तत्कालीन नेकपा कोअर्डिनेसन केन्द्र (कोके)को नेतृत्वमा कम्युनिस्ट क्रान्तिकारीद्वारा सुरु गरिएको पहिलो सचेत र संगठित रुपमा झापा विद्रोह भएको हो । त्यसैका क्रममा गिरफ्तार परेकालाई जेल सार्ने बहानामा सुखानीको जंगलमा लगेर नेत्र घिमिरे, कृष्ण कुईकेल, रामनाथ दाहाल, वीरेन राजवंशी र नारायण श्रेष्ठलाई निर्ममता र नृशंसतापूर्वक शासकका जल्लादद्वारा सामूहिक हत्या गरिएको थियो ।

त्यसो त राणा शासनविरुद्ध सचेत र सामूहिक विद्रोहको पहिलो सानो तर महत्वपूर्ण सुरुवात गोरखामा १९३३ मा लखन थापाद्वारा गरिएको थियो । त्यसैले तत्कालीन राणा शासक जंगबहादुर राणाको आदेश र योजनामा त्यसै बर्ष फागुन २ गते उनको हत्या गरिएको थियो । थापा समग्र नेपाली क्रान्ति र मुक्ति आन्दोलनका सबैभन्दा पहिला सहिद बन्न पुगेका थिए ।

तत्पश्चात ६ दशकयता राणा शासनविरुद्ध सचेत र संगठित रुपमा व्यापक, विस्तृत र निर्णायक विद्रोह गर्ने क्रममै १९९७ सालमा गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, दशरथ चन्द र धर्मभक्त माथेमाको उच्च शहादत भएको थियो ।

तत्कालीन नेकपा माओवादीले आफ्नो नेतृत्वमा ०५२ पछि जनयुद्ध गर्दै गर्दा त्यस क्रमका सहिदलाई सम्मान गर्ने सन्दर्भमा ०५८ सालमा माओवादी विद्रोह र झापा विद्रोह दुवै क्रान्तिकारी विद्रोह भएको नाताले दुवै विद्रोहका विचार र भावना तथा तिनका सहिदको स्वच्छ, उच्च र सत्य मूल्यांकन गर्दै फागुन १४–२१ लाई सहिद सप्ताहको रुपमा मनाउने महत्वपूर्ण निर्णय गरी दुवै आन्दोलनलाई संयोजन गरेको थियो ।

स्मरणीय छ– कि राणा शासन विरोधी आन्दोलनमा भएका उपरोक्त चार सहिदलाई मात्र संसदवादी र पञ्चे शासकले मान्यता दिएका थिए । हालसम्म सबै शासकले माघ १०–१६ लाई मात्र सहिद सप्ताहको रुपमा मनाउने औपचारिकता पूरा गर्दै आएका छन् । हालसम्म जोजसले जेजस्तो भने वा गरे पनि अब हामीले इतिहासका सबै आन्दोलन र विद्रोहहरुमा सहादत प्राप्त गरेका सम्पूर्ण सहिदको समग्र र समुचित मूल्यांकन, स्मरण र श्रद्धा गर्दै उनीहरुको बलिदान र योगदानको उच्च सम्मान गर्नु पर्दछ ।

यसका निम्ति प्रारम्भ १९३३ फागुन २ मा भएको लखन थापाको पहिलो सहादत र हालसम्मको उच्च, सशक्त, असंख्य र निर्णायक युद्ध र शहादत भएको हिसाबले दिलबहादुरको सहादत भएको फागुन १४ अनि झापा विद्रोहमा सहादत प्राप्त गरेको ऐतिहासिक दिन फागुन २१ हुनाले यो फागुन महिनालाई सहिद महिना र माघ १०–१६ जहानियाँ हुकुमी शासनविरुद्धको आन्दोलनका सहिद भएको सातालाई सहिद सप्ताह र मदन–आश्रित वा वीरेन्द्र अथवा यस्तै उच्च नेतृत्व बलिदान भएको कुनै एक दिनलाई राष्ट्रिय सहमति गरी सहिद दिवसको रुपमा मनाउनु न्यायपूर्ण हुने देखिन्छ ।

जे होस्, जहानियाँ हुकुमी राणा शासन, निर्दलीय निरंकुश पञ्चे शासन, जन विरोधी र राष्ट्र विरोधी बहुदलीय संसदीय शासनका विरुद्ध संघर्ष, आन्दोलन, विद्रोह र युद्धका क्रममा योजनाबद्ध वा स्वतस्फूर्त रूपमा क्रान्ति र मुक्तिसँग सम्बन्धित नेपाली जन विद्रोहका विविध आयामहरु आए र आजसम्म आउँदा दसौं हजार सर्वोत्तम सन्ततीको गौरवपूर्ण शहादतसमेत हुँदै आएको छ ।

शहादतको यो शृङ्खलासँगै यस प्रकारका विद्रोहरुपी जनयुद्ध र जन आन्दोलनमा बेपत्ता हुने, घाइते–अपांग हुने, जेल–हिरासत पर्ने, भूमिगत जाने, निर्वासित हुने, पेसा–व्यवसायबाट हात धुने र घर परिवारबाट विस्थापित हुनेको संख्या अनगिन्ती रहेको छ । यसरी यी आन्दोलन र विद्रोहमा सचेत, संगठित र स्वस्फूर्त रुपमा सहभागी हुने, सहयोग गर्ने र सद्भाव–समर्थन गर्ने असंख्य छन् । र, तिनको योगदान असीमित नै रहेको छ ।

विडम्बना देश र जनताको मुक्ति र प्रगतिका लागि विगत डेढ सय वर्ष लामो समयदेखि अनगिन्ती जनसमुदायद्वारा हुँदै आएको संघर्ष, त्याग, तपस्या र बलिदानको योगफल स्वरुप प्राप्त लोकतान्त्रिक गणतन्त्रमा न देश र जनताका राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित न्यूनतम आधारभूत हक, अधिकारका प्रश्नहरु हल भएका छन् । न, सहिद, बेपत्ता, घाइते, अपांग, जेलबन्दी, भूमिगत, निर्वासित, यातना पीडित आदि नेता, कार्यकर्ता र जनताका सपना साकार भएका छन् ।

यतिमात्र होइन, युद्ध र आन्दोलनमा पीडित यो देश र यहाँ दिन प्रतिदिन दुःखी बन्दै–बनाइँदै गरिएका जनतालाई एकथरि दरिद्र दमनकारीले दया र दानका पात्रको रुपमा देखाएर मागी खाने भाँडो बनाएको अवस्था छ । अर्कोथरी दमनकारी दानवले तिनै दुखीलाई देखेर द्रवित भई दान दिई दानी र ज्ञानी बन्ने–बनाउने प्रपञ्च गरिरहेको दुःखद अवस्था छ । यसरी आज एकातिर जनताको दैनिकी कष्टकर बन्दै गएको छ । उता राष्ट्रिय स्वाधीनता, स्वाभिमान, अखण्डता र अस्मिता धरापमा पर्दै गएको छ ।

हुँदाहुँदा त आजको यो बहुदलीय लोकतान्त्रिक गणतन्त्र भनिएको व्यवस्था र अवस्थामा पनि अभिव्यक्तिको स्वतन्त्रता, संगठन गर्ने र विरोध गर्नेजस्ता मौलिक अधिकारमाथि समेत नियन्त्रण र निषेध (प्रतिबन्ध) नै गरिएको छ । यहाँसम्म कि देस र जनताको पक्षमा क्रान्ति र मुक्तिको लागि लाग्ने र लड्ने गरेका र गरिरहेका संघ–संगठन र शक्ति–व्यक्तिलाई दमन, धरपकड र हत्या–आतंक मच्चाउने समेत गरिएको दुःखद अवस्था छ ।

यसै दुःखद विडम्बनापूर्ण स्थिति र अवस्थामा सत्ताधारी पार्टी नेकपाभित्र र पेरिफेरीका शक्ति र व्यक्तिका बिचमा पद, प्रतिष्ठा, पावर र पैसाका लागि लुछाचुँडी र मरिहत्ते नै गर्ने चासो, चिन्तन र चरित्र हावी भएको छ । यसले गर्दा एकातिर देश अराजकता, अन्यौलता, अस्थिरता, असमञ्जस र अस्त व्यस्तताको अत्यन्त संकटपूर्ण स्थितिबाट गुज्रिरहेको छ ।

देश अहिले एकातिर एउटा भीषण र भयावह चक्रव्यूहमा पसेर त्यसबाट निस्कन नसक्ने गरी फस्दै छ । अर्कातिर सत्ताधारी कम्युनिस्ट नामको ठूलो पार्टी र त्यसका मुख्य नेताहरू नै वैदेशिक शक्ति केन्द्रको उक्साहटमा परेर फुट र लुटको जालझेल र चलखेलमा व्यस्त छन् ।

यसरी सच्चा इमान्दार क्रान्तिकारी जनसमुदायका लागि देश, देशका राजनीतिक पार्टी र सत्ताको वर्तमान अवस्था र व्यवस्था चोक्टा खान जाँदा झोलमा डुबेर मरेको भने जस्तो परम पीडादायी परिस्थिति बन्न पुगेको छ । यसै, जटिल, गम्भीर र पीडादायी परिस्थितिबाट देश, जनता र क्रान्तिलाई सही मति र गति दिन भनी केही महिना अघिमात्र मार्क्सवादी एकता अभियान गठन भएको छ ।

यसले सबै नेपाली जनविद्रोह, जनआन्दोलन र जनयुद्धका समग्र विचार र भावनाको तथा त्यस क्रमका सम्पूर्ण सहिद, बेपत्ता, घाइते, बन्दीलगायतका आम जनता, योद्धा, कार्यकर्ता र नेताको सम्झना र श्रद्धा स्वरुप अन्तक्रिया कार्यक्रम गरेको छ । आशा छ यसले आन्दोलनको औचित्य र आवश्यकता तथा मर्म र महत्वबोध गर्ने–गराउने छ । र, सम्बन्धित सबै रुपान्तरण गराउनु पर्ने सन्देश दिने छ ।

यसका अतिरिक्त केही वामपन्थी संघसंस्था र संगठनले गत वर्षदेखि कार्यगत एकताको रुपमा एउटा बृहत् अस्थायी मोर्चा बनाएर राष्ट्रियता, जनतन्त्र र जनजीविकाका ज्वलन्त सवाललाई लिएर संघर्ष गर्दै आएका छन् । यसैगरी चार कम्युनिस्ट क्रान्तिकारी शक्तिले हालै एक रणनीतिक संयुक्त मोर्चा निर्माण गरी देशलाई वर्तमान संकटबाट निकास दिन आफ्ना कार्यक्रममार्फत एकैसाथ कार्यनीतिक नाराको रुपमा अन्तरिम समीक्षा सभा र अन्तरिम सरकार तथा रणनीतिक नारा वा लक्षका रुपमा जन गणतन्त्रलाई अघि सारेको छ । हाल जन गणतन्त्र सम्भव नहुने स्थितिमा त्योभन्दा मुनीको अस्थायी व्यवस्थाको नारा नदिँदा संघर्ष निर्णायक हुने देखिन्न ।

उता वामपन्थीको कार्यगत एकता सुसुप्त छ । करिब यो विघटनको संघारमा छ । विभाजितलाई एकताबद्ध गराउने ठूलो लक्ष्य लिएको एकता अभियानले आफ्नै एकता सुदृढ गर्न सकेको छैन । बरु, अभियन्ताको आपसी चिन्तन र कार्य शैलीमा देखिएका आग्रह र पूर्वाग्रह, अंह र जिद्दीजस्ता कमी कमजोरीका कारण मनोमालिन्य, कुण्ठा, कचिङ्गल र प्रतिशोध रुपी रोगले छोएको दुःखद अवस्था आएको छ ।

यसैगरी, कान्छो तर सशक्त र दीर्घजीवी ठानिएको रणनीतिक मोर्चा पनि यसको मूल नेतृत्व पंक्तिमा रहेको संकीर्ण र यान्तृक अनि स्वच्छ, ठूलो र पुरानो भएकोमा गरिने गर्व र गौरवको अतिशयोक्ती गर्ने चिन्तन र चरित्रले गठनको पूर्वसन्ध्यामा उछिनापाछिन, आग्रह–दुराग्रह र नियन्त्रण–निषेधको मनसायबाट मुक्त हुन नसक्दा हालसम्म न यसको विस्तारका लागि कुनै प्रयास भएको छ । न त यसले कार्यक्रमको निरन्तरता र वृद्धिलाई ध्यान दिएको छ ।

यसरी यो शक्तिशाली र प्रभावकारी बन्न सकेको छैन । तथापि, आशा गरौँ विभिन्न कमी–कमजोरीका बावजुद यी मोर्चा र अभियानले ढिलो चाँडो केही न केही सकारात्मक र क्रान्तिकारी सन्देश पक्कै दिन सक्ने छन् । यही सन्देशलाई अवलम्बन, संरक्षण, सम्बर्द्धन र कार्यान्वयन गर्न सकेमा जनयुद्ध, जनआन्दोलन, जनविद्रोह र जनक्रान्तिका सम्पूर्ण सहिद, बेपत्ता, घाइते–अपांग, बन्दी, मुद्दा पीडित, योग्य–अयोग्य बनाइएका योद्धा, उपेक्षित–अपहेलित इमान्दार नेता, कार्यकर्ता र शोषित–पीडित जनता र राष्ट्र आदि सबैको उचित स्मरण, श्रद्धा र सम्मान हुने छ ।

प्रतिक्रिया