आइतबार, जेठ ६, २०८१

माधव नेपालसँग एमालेका दुई नेताको गोप्य भेटघाट

पानी बाराबारको अवस्थामा रहेका माधव नेपालसँग एमाले नेताहरुको अर्थपूर्ण भेटघाट

मेरोन्यूज २०७८ फागुन ७ गते १४:४१

काठमाडौं । माधव नेपालको पार्टीलाई एमालेले पार्टी नै मानेको छैन । एमालेको भाषामा भन्दा माधव नेपालको पार्टी अवैध पार्टी हो । अनि एमाले निर्माणमा लामो समय योगदान दिएका माधव नेपाल एमाले नेताहरुको नजरमा धोकेवाज हुन् ।

Advertisement

अझ एमाले अध्यक्ष ओलीको शब्दमा भन्दा ‘माधव नेपाल कामरेड होइनन्, एमालेविरोधी, अपराधकर्म गर्ने मान्छे हुन् । प्रतिक्रियावादीको सेवा गर्ने कठपुतलीवाला सरकार बनाउने अगुवा हुन् ।’

माधव नेपालको पार्टी र नेपाल सहभागी हुने कुनै कार्यक्रम र छलफलमै एमाले नबस्ने ओलीले उद्घोष नै गरेका छन् । गत भदौमा नेपालले एमाले छोडेर नयाँ दल नेकपा (एकीकृत समाजवादी) दर्ता गरेयता ओली नेपालप्रति आक्रोशित छन् । एकै कार्यक्रममा सँगै देखिने र बोलिने गरी एमाले नेताहरू त्यसयता खासै सहभागी नै छैनन् (कांग्रेस महाधिवेशन उद्घाटन शत्रबाहेक) ।

तर यति पानी बाराबारको अवस्थामा रहेको माधव नेपालसँग एमालेका प्रभावशाली दुई शीर्ष नेताले भने गोप्य भेटघाट गरेका छन् ।

कुरा दुई दिनअगाडि माघ ५ गते बिहीबारको हो । माधव नेपाल सोही दिन साँझ प्रधानमन्त्रीले एमसीसीबारे सत्ता गठबन्धन दलमा छलफलका लागि आह्वान गरेको बैठक अगाडि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र जनता समाजवादी (जसपा) का नेता तथा संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठसँगको छलफलका लागि सिंहदरबार पुगेका थिए ।

त्यसवेला समय ३ बजेको थियो । झण्डै एक घण्टा उनले प्रचण्ड र श्रेष्ठसँग सिंहदरबारको माओवादी संसदीय दलको कार्यालयमा भलाकुसरी गरे । एमसीसीबारे नेताहरुले धेरै बोलेरै कुरा बिग्रिएको र यसबारे अहिले आफूले टिप्पणी नगर्ने भन्दै सञ्चारकर्मीसँग फुत्किए ।

त्यसपछि उनी सिंहदरबारबाट बाहिरिएर सीधै गेट बाहिर रहेको ११ तले ‘बसेरा बुटिक होटेल’ पुगे । त्यो होटेल उनीसँग पारिवारिक सम्बन्धसमेत रहेका विशाल पण्डितको हो ।

उक्त होटल सञ्चालन गर्दा त्यसले सिंहदरबारभित्र सुरक्षा थ्रेट बढ्ने भन्दै होटल सञ्चालन गर्न नदिने र दिन नहुने धारणा पहिले तय भएको थियो । तर नेपाललगायत तत्कालीन नेकपाका नेताहरुलाई प्रयोग गरेर पण्डितले होटेल सञ्चालन गरे । त्यही होटेलमा नेपालसँग एमालेका दुई शीर्ष नेताले गोप्य भेटघाट गरेको खुलेको छ ।

नेपालसँग यसरी गोप्य भेटघाट गर्ने नेता हुन्, एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे र स्थायी समिति सदस्य घनश्याम भुसाल । दुवै नेता माधव नेपाल पनि एमालेमा रहँदा नेपाल निकटकै थिए । तर नेपालले एमाले पार्टी छोडेर नेकपा (एकीकृत समाजवादी) बनाए । त्यसपछि न भुसाल नेपालसँग गए, न सुरेन्द्र पाण्डे । दुवै नेता ओलीसँग १० बुँदे सहमति गर्दै एमालेमै रहे ।

त्यसयता उनीहरुको खास भेटघाट भएको थिएन । माधव नेपालले पनि आफ्नो पिठुयूमा छुरा धसेर अन्तिम समयमा साथ नदिएको भनी पाण्डे, भुसालसहितका अन्य १० भाइ नेतासँग चित्त दुखाए ।

यस्तो बेला एमालेले अवैध पार्टी घोषणा गरिरहेका नेता नेपालसँग सिंहदरबारको उक्त होटलमा यी दुई नेताले किन भेटे ? अहिले एमालेभित्र यो विषय निक्कै चर्चामा छ । पाण्डेले चितवनका केही कार्यक्रममा कालान्तरमा माधव नेपालसँग पार्टी एकता हुने बताउँदै आएका पनि थिए ।

एकातिर ओलीले नकार्दा नर्कादै पनि माधव नेपालसँग एकता भविष्यमा हुने भन्दै सार्वजनिक भाषणबाजी गर्ने र अर्काेतिर नेपालसँगै गोप्य भेटघाटसमेत गरेर सामिप्यता बढाउन खोजेपछि यो भेटघाट चर्चाको विषय बन्न थालेको हो ।

तर, यसरी भएको भेटका बारेमा न नेपाल केही खुलाउन चाहन्छन, न भुसाल र पाण्डेले नै केही बताउन चाहन्छन् । तर उनीहरुको भेट भएको भेटमा सहभागी नेताका सचिवालयका एक सदस्यले मेरोन्यूजसँग पुष्टि गरे ।

झण्डै ४० मिनेट यी तीन नेताका बीचमा उक्त होटलमा गोप्य भेटघाट भएको पनि ती सचिवालयका सदस्यले बताए । तर कुराकानी के भयो ? भन्ने बारेमा भने आफूलाई केही थाहा हुन नसकेको उनको भनाइ छ ।

त्यो भेटघाट सकेपछि नेता नेपाल प्रधानमन्त्रीले बोलाएको सत्तागठबन्धन दलको बैठकमा सहभागी हुन बालुवाटार पुगेका थिए ।

प्रतिक्रिया