मंगलबार, असार ५, २०८१

वृषेश चन्द्रलालले लोसपा छाडे, पुनः दर्ता भएको तमलोपाबाट राजनीति गर्ने

मेरोन्यूज २०७८ माघ २९ गते १२:००

काठमाडौँ । लामो समयदेखि महन्थ ठाकुर नेतृत्वलाई साथ दिँदै आएका प्रभावशाली नेता वृषेशचन्द्र लालले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल)बाट अलग भएका छन् । ठाकुर नेतृत्वको लोसपा नेपाल परित्याग गरेका लालले पुरानो पार्टी तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) पुनः दर्ता गरेर सोही पार्टीमार्फत राजनीतिक गतिविधि गर्ने भएका हुन् ।

Advertisement

‘लोसपा संस्थागत रुपमा चल्न सकेन्, लोसपा मात्रै होइन जसपा पनि संस्थागत रुपमा चल्न सकेको अवस्था छैन, एउटा केपी ओलीको पछाडी लागेको छ भने अर्को पार्टी प्रचण्डजीको पछि लागेको अवस्था छ,’ लालले न्युज कारखानासँग भने, ‘मधेस आन्दोलनको मर्म र भावना विपरित मधेसका नेताहरु सत्ता र कुर्सीका लागि ज्यान फाल्न थाले पछि मधेस आन्दोलनका आन्दोलनकारीहरुको भावनालाई सम्वोधन गर्न लोसपा छाडेको हुँ ।’ उनका अनुसार महन्थ ठाकुर र उपेन्द्र यादवको नेतृत्वको पार्टीले मधेस केन्द्रीत दलको पहिचान गुमाउँदै गएकाले पार्टी छाडन विवश भएको हो ।

‘मधेस आन्दोलनमा सक्रिय साथीहरुको सल्लाह अनुसार तमलोपा निर्वाचन आयोगमा पुनः दर्ता भएको छ, अबको राजनीति म यसैबाट गर्ने निष्कर्षमा पुगेको छु,’ लालले अगाडी भने, ‘स्थानीय तहको निर्वाचनमा उम्मेदवार तमलोपाबाट खडा गर्ने गरी गृहकार्य भइरहेको छ, साथीहरु क्रमशः हामीसँग जोडिँदै जानु भएको छ ।’

उनका अनुसार रघुशंकरलाल कर्णका संयोजकत्वमा निर्वाचन आयोगमा पुनः दर्ता भएको तमलोपमा संविधानसभा सदस्य डा. विजय सिंहलगायतका मधेस आन्दोलनका सारथीहरु रहेका छन, संगठन विस्तारका लागि फागुन पहिलो सातावाट तराई मधेसका सबैजसो जिल्लामा औपचारिक कार्यक्रम गर्ने तयारीसमेत भइरहेको छ ।

लाल तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालकातर्फवाट राष्ट्रियसभा सदस्यसमेत विजयीसमेत भएका थिए ।

प्रतिक्रिया